मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिए २२ दल

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय गठबन्धन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका छन् ।

सरकारले एमसीसी जसरी पनि संसद्‌बाट अनुमोदन गराउने तयारी थालेपछि २२ दलीय संगठन विरोधमा उत्रिएका हुन् ।

२२ दलीय संगठनले २३ गते बुधबार मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजीको आन्दोलनको ब्यानरमा संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

एमसीसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसीसी उपाध्यक्ष फतिमा सुमार मंगलबार काठमाडौँ आउँदैछिन् । त्यसको भोलिपल्ट २२ दलीय संगठनले विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले व्यापक जनसहभागितामा एमसीसी खारेजीको निम्ति कार्यक्रम गरिने निर्णय समेत गरेका छन् ।

सरकारले एमसीसी जसरी पनि संसद्‌बाट पारित गराउने तयारी थालेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । संसद्‌मा एमसीसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएको हो ।

उच्च स्रोतकाअनुसार एमसीसीविरुद्ध आन्दोलन भइरहेको भन्दै मन्त्रालयले यो महिनाभरि नै हाइ अलर्टमा रहन निर्देशन दिएको छ । सरकारले सुरक्षा निकायलाई हाइ अलर्टमा मात्रै राखेको छैन, विज्ञप्ति जारी गरेर एमसीसी र भारतको विरोध नगर्न चेतावनी समेत दिएको छ ।

यी हुन् एमसीसीको विरोधमा उत्रिएका दलहरू

नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी, नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी रहेका छन् ।

यस्तै, नेकपा (संयुक्त) राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च नेपाल रहेका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..