नेपाल भ्रमण वर्ष २०२० मस्कट : यतीको अस्वाभाविक आकृतिले ल्याएको विवाद

नेपाल भ्रमण वर्ष २०२० को ‘मस्कट’का रूपमा बनाइएको यतीको आकृति विवादास्पद बने पनि यसको आकार तथा स्वरूपलाई सच्च्याउन सम्भव नभएको अधिकारीहरूले बताएका छन्।

yetiairlinesयतीको ‘मस्कट’को आकार तथा स्वरूप नेपाली मौलिकता र मिथक कथामा आधारित नभएको भन्दै यतीसम्बन्धी अनुसन्धानकर्ता तथा सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका हुन्।

तर भ्रमण वर्ष २०२० सचिवालयका उपसचिव राजन पौडेल भने नागरिकस्तरबाट यस्तो आलोचना हुने अनुमान नगरेको तर अब यतीका आकृतिहरू परिमार्जन गर्न वा हटाउन नसकिने बताउँछन्।

पौडेल भन्छन्, ”ठूलो रकम खर्चेर विभिन्न स्थानमा राखिसकेको यतीका मस्कटको स्वरूप सच्याउन अहिले असम्भव नै छ।”

यती कसरी छानियो ?
भ्रमण वर्ष २०२० को सचिवालयले प्रचारप्रसारका लागि मस्कट बनाउनका लागि धेरै विकल्पहरू मध्येबाट यती छनोट गरेको हो।

उपसचिव पौडेल भन्छन्, ”नेपाल विश्वभर हिमालको देश भनेर चिनिने हुनाले उच्च हिमाली भेगमा पाइने ठानिएको काल्पनिक पात्र यतीलाई नै चयन गर्ने निर्णय भएको हो।”

यतीलाई डरलाग्दो जीवको रूपमा प्रस्तुत गर्नुभन्दा पनि यतीको घर नेपालका हिमाल हुन् भनेर संसारभरि चिनाउने उद्देश्यले छनोट भएको थियो।

किंवदन्तीमा आधारित हिममानव अर्थात् यतीसम्बन्धी लोककथाहरू नेपाललगायत दक्षिण एशियाली मुलुकमा प्रचलित भए पनि यतीको अस्तित्वको बारेमा हालसम्म प्रमाण भेटिएको छैन।

‘शालीन यती’
यतीको मस्कट बनाउने जिम्मा लिएको सचिवालयको यती आर्ट कमिटीका संयोजक प्रेमप्रभात गुरूङका भनाइमा यती एउटा रहस्यमयी पात्र भएकोले किंवदन्तीमा आधारित आकृती बनाउन आवश्यक छैन।

उनी भन्छन्, ”यतीलाई डरलाग्दो जनावरका रूपमा चित्रित गर्नुभन्दा पनि शान्ति, मेलमिलाप र सद्भावको प्रतीकका रूपमा अगाडी सार्न खोजेका हौँ।”

साथै नेपाल सगरमाथा, गौतम बुद्ध र गोर्खालीका नामले मात्रै चिनिनु नपर्ने भन्दै यती नेपालको हो भनेर चिनाउन पनि कलाकारहरूले नै यती छनौटका लागि सुझाव दिएको उनले बताए।

सचिवालयले यती छनोट गरेपछि कलाकार आङ छिरिङ शेर्पाले यतीको स्केच डिजाइन गरे भने अर्का कलाकार विजय महर्जनले मूर्तिको रूप दिएका हुन्।

‘यती कि कुस्ती खेलाडी ?’
तर यतीको नयाँ स्वरूप नेपाली मौलिकता र मिथक कथामा आधारित नभएको भन्दै नेपाली अनुसन्धानकर्ता तथा सर्वसाधारणले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

भूगोलविद् तथा यतीसम्बन्धी पुस्तकका लेखक रामकुमार पाँडेले यतीको आकृती कुनै हिसाबले पनि उपयुक्त नभएको बताउँछन्।

पाँडे भन्छन्, ”ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यतीलाई सुमो (जापानमा प्रचलित कुस्ती) खेलाडीजस्तो बनाइएको छ।”

“जुन आम नेपालीले परिकल्पना गर्दै आएको यतीसँग कुनै हिसाबले पनि मेल खाँदैन।”

कम्तीमा पनि यतीको उचाइ, मुखाकृति र रौँसहितको शरीर मिथक कथामा व्याख्या भए अनुसार मिल्दोजुल्दो हुनुपर्ने पाँडेको तर्क छ।

यतीको मस्कट चिल्लो हुनुका कारणबारेमा कलाकार महर्जन भन्छन्, ”काममा सहजताका लागि अर्थात् रङ पोत्न सजिलो हुने भएकोले यतीको मस्कटमा रौँ नबनाइएको हो।”

भुल या योजनावद्ध ?
यतीका बारेमा अनुसन्धानकर्ताहरूसँग कुनै छलफल वा परामर्श नगर्नु भ्रमण वर्ष २०२० को सचिवालयको ठूलो भुल भएको पाँडे बताउँछन्।

देशविदेशका कतिपय लेखक तथा अनुसन्धानकर्ताले समेत यतीलाई हिममानवका रूपमा व्याख्या गरेका छन्।

नेपाल वायुसेवा निगमको कार्यालय परिसरमा राखिएको यतीको मूर्ति किंवदन्तीमा व्याख्या गरिए बमोजिम मिल्दोजुल्दो रहेको जानकारहरूको भनाइ छ।

भ्रमण वर्षको मस्कटका रूमा राखिएका यतीका मूर्ति केही धार्मिक तथा पर्यटकीय स्थलबाट भने सँस्कृतिविद् तथा स्थानीय बासिन्दाको असन्तुष्टिका कारण हटाइएको सचिवालयले जनाएको छ।

‘अशोभनीय चित्र’
काठमाण्डूको वसन्तपुरमा राखिएको यतीको मस्कटको पछाडि ‘जीवित देवी’ कुमारीको मुखाकृति धार्मिक आस्था विपरित प्रस्तुत गरिएको भन्दै स्थानीय तथा सँस्कृतिविद्ले अवरोध गरेपछि हटाइएको छ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले भनछन्, ”भ्रमण वर्षको प्रचारप्रसारमा हामी पनि हातेमालो गर्न चाहन्छौँ तर कलाका नाममा अशोभनीय चित्र मान्य नभएकोले विरोध गरेका हौँ।”

हालसम्म २४ भन्दा बढी मूर्ति बनाइएको छ भने जम्मा १०८ वटा मूर्ति बनाउने सचिवालयको लक्ष्य छ।

कति महँगो ?
दर्जनौँ कलाकारहरूले बनाएका ती मस्कटलाई देश-विदेशका विभिन्न पर्यटकीय स्थल, व्यापारिक केन्द्र, होटेल तथा विमानस्थल तथा नेपालका केही हिमालका आधारशिविरमा समेत राखिने बताइएको छ।

कलाकारको पारिश्रमिक, कच्चापदार्थ तथा ढुवानी खर्च समेत गरेर प्रत्येक मस्कटलाई झन्डै पाँचलाख रुपैयाँ पर्ने बताइएको छ।

तर कतिपय स्थानमा ढुवानीका कारण अझ महँगो पर्न सक्ने बताइएको छ।

नेपाली कलाकारले निर्माण गरेका यी मूर्ति तथा मस्कटलाई नेपालको मौलिक पहिचानका रूपमा विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गरिने समेत बताइएको छ। BBC

Kantipath Media

यो छुट्टाउनु भो कि..