annapurna add

नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (विवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो ।

nepal armyरक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको छ । नियमावलीमा अधिकृतभन्दा तल्लो तहका लागि दर्जागत आधारमा स्वेच्छिक अवकासमा जान सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । विसं २०६० वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

पिउठ, अमलदार र हुद्दा १७, जमदार १८ तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वेच्छिक अवकासमा जान सक्ने नियमावलीले व्यवस्था गरेको छ । सहायक सेनानी तहभन्दा माथिको तहको हकमा भने पेन्सन पाक्ने अवधि २० वर्ष नै कायम हुनेछ ।

बीस वर्ष सेवा नपुग्दै स्वेच्छिक अवकास लिने त्यस्ता सैनिकले निवृत्तिभरणको रकम भने सेवा प्रवेश अर्थात भर्ना भएको मितिले २० वर्ष अवधि पूरा भएको मितिबाट मात्रै पाउने छन् । सेवाअवधि भने दर्जाअनुरुप अवकास लिएको वर्षकै नै गणना हुनेछ । नियमावली संशोधन भई कार्यान्वयनमा आएपछि अधिकृतभन्दा तल्लो तहमा जागिरमा रहनेले केही हदसम्म राहत महसुस गर्ने छन् ।

समान पदका सैनिकको निवृत्तिभरण(पेन्सन) सम्बन्धी रही आएको दुई थरी व्यवस्था हटाई उत्प्रेरणा गर्न तथा सैनिक सेवाको कार्य प्रकृति र विशिष्ट विशेषतालाई सम्बोधन होस् भन्ने हेतुले उक्त नियमावली अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

विसं २०६० वैशाख २७ गतेसम्म सिपाहीदेखि हवल्दारसम्म १६ वर्षे सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो । लामो समयसम्म पेन्सनसम्बन्धी मुद्दा सम्बोधन नभएपछि अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ सैनिकले बीचमै सेवा छाडेका थिए । माग सम्बोधन नहुँदा अवकासपछि जीवन धान्न र परिवार पाल्न कठिन हुने जनाउँदै ती सैनिकले वैदेशिक रोजगारीमा जाने सिलसिलाम बीचमै जागिर छाडेका हुन् ।

सेवा परित्याग गरी वैदेशिक रोजगारीमा जाने तल्लो तह सिपाहीदेखि हवल्दारसम्मको सङ्ख्या अधिक छ । सोह्र वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई जागिर छाडेको आँकडाले देखाएको छ । पेन्सनको अवधि २० वर्ष पुर्याएपछि उपदानमा जाने र भगौडाको सङ्ख्या उल्लेखनीय रूपमा बढेपछि सकल दर्जालाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न जङ्गी अड्डालाई मुस्किल परेको थियो । प्रस्तावित नियमावलीमा एकै पटक ठूलो सङ्ख्यामा सेवाबाट बाहिर जान नदिनका लागि विभागीय प्रमुखको स्वीकृतिमा मात्रै स्वेच्छिक अवकास लिन सक्ने व्यवस्था गरिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले राज्यले प्रदान गरेको सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःखकष्ट र आम्दानीलाई तुलना गरेर मात्र उपदान र राजीनामासम्बन्धी निर्णय नगर्न सुझाव दिँदै आउनुभएको छ । विदेशी कम्पनीले ३५ वर्ष उमेर पार नगरेका भूपू सैनिकलाई प्राथमिकता दिने भएकाले त्यस्ता कम्पनीले उपलब्ध गराउने आकर्षक सुविधाले पनि सैनिकको मन लोभ्याएको हो । वर्तमान प्रधानसेनापतिले शुरु गर्नुभएको नेतृत्व सवांद कार्यक्रममा खासगरी जवान तहबाट बलिदानीका आधारमा तलब कम भएको गुनासो नै बढी आउने गरेको छ ।

उमेरभित्रै दोस्रो वृत्ति विकास शुरु गर्न सहज हुने भएकाले सङ्गठनले प्राथमिकताका साथ अघि सारेको पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने पूर्वउपरथी होम लावतीको सुझाव छ । निकै शारीरिक परिश्रम गर्नु पर्ने तल्लो दर्जाका सैनिक परिवारलाई स्वास्थ्य, शिक्षा, तालिम, आवास, बीमा र रोजगारका क्षेत्रमा सरकारले थप प्रोत्साहनका सेवा सुविधा उपलब्ध गराउन आवश्यक छ ।

पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्नुहुन्छ, “तालिम प्राप्त, अनुभवी, क्षमतावाहन र अनुशासित जनशक्ति बाहिर जाँदा विप्रेषणको माध्यमबाट मुलुकलाई समेत ठूलो योगदान पुग्ने हुँदा उठिरहेको पेन्सनको कुरा राज्यले सुनिदिँदा राम्रो सन्देश प्रवाह हुन्छ ।”

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सङ्गठनभित्र प्राथमिकताका साथ निरन्तर उठ्दै आएको आवाजलाई सम्बोधन भई हौसल्ला मिलोस् भन्नका लागि र सरकारलाई पनि एकै पटक ठूलो आर्थिकभार नपरोस् भन्ने हेतुले पेन्सनसम्बन्धी नियमावली पुनरावलोकनका लागि मन्त्रालय समक्ष अनुरोध गरेको बताउनुभयो ।

बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना बढे

हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन् । सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको छ । सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन् ।

बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ । यस्तै होटल विजयबाट सोमबार बिहान जुम्ला जिल्ला घर भएका राष्ट्रिय समाचार समिति सिञ्जाका संवाददाता उपेन्द्र न्यौपानको रु ४१ हजार मूल्य बरारबको मोबाइल फोन चोरी भएको छ । होटलमा चार्जमा राखेको समयमा आफ्नो मोबाइल चोरी भएको उहाँले बताउनुभयो । उहाँको बिहान चार्जमा राखिएको समयमा रेडमी टेन प्रो मोबाइल चोरी भएको हो ।

आफू प्रेस सङ्गठनको बैठकमा जानका लागि सिमकोट आएको र उक्त होटलमा चार्जमा राखेको समयमा चोरी भएको उहाँले बताउनुभयो ।

यस्तै सिमकोट माथिल्लो बजारमा रहेको बैंक नजिकको एक घरबाट रु १८ हजार नगद चोरी भएको स्थानीयवासी कालीबहादुर बोहराले बताउनुभयो । घरमा कोही नभएको मौका छोपेर रातिको समयमा चोरले घरको तालासमेत फोडेर रु १८ हजार नगदसहित अन्य सामान चोरी गरेको बोहराले बताउनुभयो ।

यस क्षेत्रमा दैनिक लत्ताकपडा, जुत्तालगायतका सामग्री चोरी हुने गरेको स्थानीयवासी देउमा भण्डारीले बताउनुभयो । सुरक्षा गस्तीले रातिको समयमा बजार गस्ती गरेको भने पनि दिउँसोको समयमा अत्यधिक चोरी हुने गरेको छ ।

महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने
राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ । पहिलोपटक बृहत्रूपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । उद्घाटनपछिका खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् । एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडीसमेत राख्न पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

चालु आवमा ६९ पूर्वाधार सम्पन्न
काडमाडौँ महानगरपालिकाले आर्थिक वर्षको पहिलो छ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ । यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ ।

त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ । नौ सय ७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

दुई सय एक चालु अवस्थामा र १६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ मध्ये २२५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ रु एक अर्ब ६२ करोडको योजना छन् । सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी १०९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।

त्यसैगरी आयतर्फ अहिलेसम्म रु तीन अर्ब १० करोड राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा रु चार अर्ब २२ करोड सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो छ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ । सङ्कलित रकममध्ये रु एक अर्ब ७५ करोड अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् ।

कामपाले चालु आवमा रु १४ अर्ब २६ करोड ६५ लाख बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालु आवको विनियोजित बजेट रु तीन अर्ब एक करोड ६१ लाख छ हजार छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...