एआइजी हरि पाल : ब्याचमेट आईजीपीलाई सफल पार्न दिनरात फिल्डमा

एआइजी बढुवा समितिले २०७६ फागुन १५ गते बिहीबार नेपाल प्रहरीमा रिक्त एआइजी पदका लागि तीन डिआइजीको नाम सिफारिस गर्यो। गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरि पालको नाम सिफारिस गरेको थियो।

बढुवा सिफारिस भएका मध्ये लम्साल २०७७ असार २४ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएकाले बाँकी रहेका दुई एआइजी क्षत्री र पालबीच भावी आइजीपीका लागि प्रतिष्पर्धीको रुपमा हेरिएको थियो ।

तर आईजीपी बढुवाको समयमा शैलेश थापा क्षत्री र हरि पालको बीचमा कुनै छुद्र प्रतिष्पर्धा भएन, जो आईजी भए पनि मिलेर काम गर्न उनीहरुले भद्र सहमति नै गरे । आफु दुई बीच कुनै द्वेष छैन भन्ने देखाउन र प्रहरी संगठनको मनोबल उकास्न उनीहरु एकै गाडीमा समेत हिडे ।

२०७७ असार २३ गते शैलेश थापा क्षत्री नेपाल प्रहरीको आईजीपी बढुवा भए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बने। थापासँगै अर्का एआईजी हरि पाल पनि प्रतिस्पर्धामा थिए। आईजीमा थापा नियुक्त भएपछि पालले उनलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन्। ‘सरकारको निर्णयमा मेरो कुनै कमेन्ट छैन। यो उहाँहरुको अधिकारको कुरा हो। जे सोचेर निर्णय गर्नु भएको छ, त्यसमा मेरो स्वागत छ,’ थापाको नियुक्ती भएलगत्तै एआईजी पालले भनेका थिए।

उनै थापाको कार्यकाल सफल बनाउन जोडतोडले लागिरहेछन उनका साबिक प्रतिस्पर्धी अर्थात् एआईजी हरि बहादुर पाल । दार्चुलाको मालिकार्जुन गाँउपालिकामा जन्मिएर हाल कन्चनपुरको भिमदत्त नगरपालिकामा बस्ने हरि पाल बि.सं. २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् । डीआईजी हुँदा पालले २ नम्बर प्रदेशको कमाण्डर सम्हाले । २ नम्बर प्रदेशको जिम्मेवारी कुशलतापूर्वक निभाएपछि पाललाई विशेष ब्यूरोको जिम्मेवारी दिइयो । ब्यूरोको प्रमुख रहँदा पालले तत्कालिन प्रतिबन्धित विप्लव समूहका नेकपाका हजारौं नेता÷कार्यकर्तालाई पक्राउ गरे ।

जागिरे जीवनको अधिकांश समय फिल्डमा खटिएका पालले इन्स्पेक्टर हुँदा वडा प्रहरी कार्यालय, धनगढी र बौद्धको नेतृत्व सम्हालेका छन् । त्यस्तै माओवादी जनयुद्धकालमा विशेष अपरेशनका लागि रोल्पामा समेत खटिएका थिए पाल ।

डीएसपी भएपछि डडेल्धुरा, काठमाडौँ प्रहरीको मुद्दा शाखा र जिल्ला प्रहरी कार्यालय, नुवाकोटलगायतमा उनले काम गरेका छन् । एसपी भएपछि जिल्ला प्रहरी कार्यालय कास्की, धनुषा र रुपन्देहीको नेतृत्व सम्हालेका छन् । पाल अपराध महाशाखा र प्रहरी महानिरीक्षकको सचिवालयमा पनि बसेर काम गरेका छन् । एसएसपीमा पाल संघीय प्रहरी इकाइ कोसीमा पनि रहे । अधिकांश समय फिल्डमा खटिएका पाल अपरेसन र कमाण्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिन्छन् । पालले कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व पनि सम्हालेका छन् ।

प्रहरी संगठन ‘एक्सन ओरियन्टेड इन्ष्टिच्यूसन’ भएकाले ‘क्वीक डिसिजन’ दिनसक्ने नेतृत्व वर्तमान संकटकालीन अवस्थाको आवश्यकता हो भन्ने प्रहरी संगठनका सदस्यहरु बताउँछन्, यी सबै गुणले निपुण पाल आईजीपी थापाको कार्यकालमा ‘ज्याक्पट’ नै बनेका छन् । थापा योजना बनाउन सिपालु मानिन्छन् भने पाल ‘एक्सन’मा दरिला छन् । यी दुवैको केमेस्ट्री नै प्रहरी संगठनको जग भएको पुर्व प्रहरीहरु बताउदै आएका छन् ।

एआईजी पाल अहिले महानगरीय प्रहरी कार्यालयको कमाण्ड सम्हाली रहेका छन्। एक्सन ओरियन्टेड भनेर चिनिएका पाल आएपछि महानगरीय प्रहरी कार्यालयले अपराध अनुसन्धानमा तिब्रता दिएको छ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने, जुवातास खेलिरहेको अवस्थामा भीभीआइपीदेखि थुपै व्यक्तिको पक्राउ, अक्सिमिटरको कालोबजारी गर्ने, लुटपाट गर्ने, लागूऔषध, सुन तस्करी गर्ने थुप्रै व्यक्ति पालको फन्दामा परेका छन् ।

नेपाल मै पहिलो पटक अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जनालाई महानगरीय प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएका थिए । सयौंको मात्रामा भन्सार छल्ने, दुर्लभ बन्यजन्तुको चोरी सिकारी गर्ने, कालोबजारी गर्ने, हत्या-हिँसा-बलात्कार गर्नेहरु पालको फन्दामा परेका छन् ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि पनि पालले उल्लेखनिय भूमिका खेलेका छन् । मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिंदै सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण कार्यन्वयनमा एआईजी पाल आफै फिल्डमा खटिने गरेका छन् । यसबीचमा पाल आफै कोरोना संक्रमणको चपेटामा परे। कोरोनाले शरीर गालेतापनि उहाँको सक्रियतामा भने कुनै कमि आएन ।

पालका लागि अहिलेको मुख्य चुनौती कोभिड–१९ को संकट व्यवस्थापन नै हो । कारोना भाइरस संक्रमणको महामारी फैलिरहेको अहिलेको अवस्थामा प्रहरी संगठनका लागि सबैभन्दा ठूलो चुनौती आफ्ना संगठनका सदस्यहरूलाई महामारी प्रकोपबाट जोगाउँदै परिचालन गर्नु नै हो । राज्यले कोभिड–१९ को नियन्त्रण गर्न बनाएका नीतिनियम तथा मापदण्ड प्रभावकारी ढंगले कार्यान्वयन गर्नु अर्को चुनौती हो ।

कोभिड–१९ ले व्यापार व्यवसाय, रोजगारीलगायत आर्थिक गतिविधि कमजोर भएका समयमा आर्थिक अपराधका घटना बढ्न सक्छन् । यस्ता घटना नियन्त्रणको पाटो अर्को चुनौती हो । त्यसैगरी कोरोना संकट, निशेधाज्ञा लगायतका कारणले नागरिकहरूमा बढेको निराशा सडकमा पोखिन सक्छ । यस्तो अवस्थामा समानुपातिक बल प्रयोगको सिद्धान्तलाई लिएर दुवैतर्फ क्षति नहुने गरी व्यवस्थापन गर्न सक्नुपर्छ । ‘कोभिड–१९ बाहेक प्रहरी संगठनको आन्तरिक अनुशासन, चेन अफ कमाण्ड, निराशा लगायतलाई व्यवस्थापन गर्दै प्रहरी परिचालन गर्नु अर्को चुनौती हो । संगठनभित्र यस्ता कयौं कोशेढुंगा पार गरेर आएका एआईजी पालले यी परिभाषित नयाँ भूमिका सहजै पार लगाउने आम नागरिकको अपेक्षा छ ।

रानीपोखरी आएदेखि उनले गरेका नीतिगत सुधार र जनसम्बन्ध विस्तारका घटनाले आम नागरिकमा प्रहरी माथिको विश्वासलाई झनै बढाएको छ । कोरोना महाब्याधीमा उनले सचेतता पुर्वक लिएको पहलकदमीलाई अहिले पनि प्रहरी प्रधान कार्यालयले उच्च मुल्यांकन गरिरहेको छ । साँचो अर्थमा भन्दा राजधानीबासीले धेरै पछि गर्व गर्न लायक ‘वन्स इन अ थाउजण्ड’ अफिसर पाएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..