कर्णाली प्रदेशका मन्त्री थापा विरुद्धको मुद्दामा मिसिल झिकाउन आदेश

कर्णाली प्रदेशका सांसद अमरबहादुर थापा विरुद्ध दायर नैतिक पतन विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।सांसद थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन् ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । सूर्यमणी गौतम रिट निवेदक रहेको उक्त मुद्दामा दैलेख जिल्ला अदालतबाट २०४७ असार १४ गते र २०५० पुस ६ गते भएको कीर्ते जालसाजी मुद्दाको सक्कल मिसिल झिकाउन इजलासले आदेश दिएको छ ।

ती मिसिललाई सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदन अवलोकनार्थ राखी पूर्व आदेशअनुसार अन्तरिम आदेश छलफलका लागि नियमअनुसार पेस गर्नु भन्ने आदेश इजलासले दिएको छ । सर्वोच्चमा दायर रिटअनुसार थापालाई किर्ते जालसाजी मुद्दामा २०४७ असार १४ गते दैलेख जिल्ला अदालतबाट ८ हजार ५ सय रुपैयाँ जरिवाना भएको थियो । थापा त्यसविरुद्ध पुनरावेदन अदालत सुर्खेतमा गए । पुनरावेदन अदालतले २०५० पुस ६ गते दुई जनालाई दामासाहीले ४२ हजार ५ सय रुपैयाँ जरिवाना तोक्यो ।

थापा फैसलामा चित्त नबुझाई २०५१ जेठ २ गते सर्वाेच्च अदालत पुगे । सर्वोच्चले २०५७ असोज २ गते थापालाई ६ महिना कैद र २ हजार ५ सय रुपैयाँको अन्तिम फैसला गरेको छ ।

तर थापाले जेलमा बसेर कैद भुक्तान गरेनन् । अनुसन्धानको क्रममा थुनामा बसेको १९ दिनलाई कटाएर बाँकी अवधिको तत्कालीन मुलुकी ऐन, दण्ड सजायको महल ११ (क) बमोजिम प्रतिदिन ७ रुपैयाँको दरले १ हजार १ सय २७ रुपैयाँ बुझाएर उन्मुक्ति पाए ।

‘निजलाई सफाइ दिएको होइन, थुनामा बसेको १९ दिनलाई कटाई बाँकी अवधिको कैदलाई रुपैयाँमा परिवर्तन गर्न सुविधा दिइएको हो,’ निवेदनकले रिटमा भनेका छन्, ‘त्यसैले नैतिक पतन हुने फौजदारी अपराध गर्ने अपराधीले कुनै पनि सार्वजनिक पद ग्रहण गर्न मिल्दैन ।’

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले निवेदकले उठाएको विषयबस्तुको प्रकृति र गंभीरता हेरि दुबै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने उल्लेख छ । दुबै पक्षबीच छलफलको लागि जेठ ३० गतेको पेशी तोकिएको छ ।

नेकपा एमालेको तर्फबाट दैलेख १ (ख) बाट कर्णाली प्रदेशसभा सदस्य रहेका थापाले वैशाख ३ गते पार्टी निर्देशनविपरीत ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘फ्लोर क्रस’ गर्ने उनीसहित ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । थापा दैलेखबाट संविधानसभा सदस्यसमेत रहेका थिए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..