माधव नेपालले आफ्नै निवासमा बैठक राखेर ओलीलाई दिएको सन्देश

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विपक्षी गठबन्धनको राजनीतिक एजेण्डामा साथ नछोड्न आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले असार २ गते नेपाल समूहको समेत सहभागितामा स्थायी कमिटी बैठक राख्ने तयारी गरेका छन् । पार्टी एक राख्ने प्रयत्नसहित २ जेठ २०७५ अघिको अवस्थाको स्थायी कमिटी बैठक राख्ने तयारी गरेका बखत उनीहरूले विपक्षी गठबन्धन नछोड्न नेता नेपाललाई आग्रह गरेका हुन् । नेता नेपाललाई भेट्न कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका थिए । नेता नेपालले देउबा र प्रचण्डलाई आफै कोटेश्वर बोलाएर बैठक राखेका थिए ।

प्रचण्डले विपक्षी गठबन्धनका राजनीति एजेण्डाका जित हुँदै गएको बताएका थिए । नेता नेपालकै सहयोगका कारण प्रदेशदेखि केन्द्रमा ओलीलाई कमजोर बनाइएको भन्दै उनले पनि राजनीतिक सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । मुलुकको राजनीतिमा विकसित पछिल्लो घटनाक्रममा आफूहरुले राष्ट्रियता,लोकतन्त्र,जनजीविका र जनचासोका विषयलाई केन्द्रविन्दूमा राखेर अघि बढेकाले अन्तिम समयसम्म त्यसैलाई बोक्ने सहमति दोहोर्याइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनताको समस्या र पीरमर्कालाई सम्बोधन नगरेकाले त्यसमा सरकार पूर्ण असफल भएको तीन जना नेताको भेटघाटले ठहर गरेको छ ।

हाल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित बनाउन सरकारको तर्फबाट आउनसक्ने दबाब र धम्कीलाई भेटघाटले त्यस्तो प्रयास गलत हुने ठहर गरेको छ । देउवा र प्रचण्डको आग्रहमा नेता नेपालले आफू सधैँ गलत कदमको विपक्षमा उभिने बताएका थिए । नेपाल समूहकै विद्रोहका कारण विपक्षी गठबन्धनको मनोबल बढेको थियो । कर्णाली प्रदेशमा ३ वैशाखमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई पार्टीको निर्णय विपरीत नेपाल समूहका सांसदले विश्वासको मत दिँदा शाही नेतृत्वको सरकार जोगिएको थियो ।

सोमबारको बैठकमा नेताहरुले एकआपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएका पनि एमाले वरिष्ठ नेता नेपालको सचिवालयले जानकारी दिएको छ। सोमबारको बैठकमा कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गर्ने निष्कर्ष निकालिएको पनि नेता नेपालको सचिवालयले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशमा पनि नेपाल समूहका सांसदको सहयोगमा एमाले नेतृत्वको सरकार बनाउने अध्यक्ष ओलीको प्रयासमा धक्का पुगेको थियो भने बागमती र लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा भएको मतदानमा पनि नेपाल समूहले एमालेको आधिकारी उम्मेदवारलाई असहयोग गर्दा विपक्षी गठबन्धनको उम्मेदवार विजयी भएका थिए । केन्द्रमा पनि २७ वैशाखमा विश्वासको मत लिने प्रक्रियामा नेपाल समूहका सांसद अनुपस्थित भएका थिए । बागमती र लुम्बिनीको राष्ट्रियसभा निर्वाचनमा पनि यी दलले सहकार्य गरेका थिए ।

संविधानको धारा ७६ ५ (२) अनुसार सरकार गठनको प्रक्रियामा नेपाल समूहले प्रधानमन्त्रीमा देउवालाई समर्थन जनाएका थिए । यो विषय अदालतमा पुग्दा उनीहरूले सर्वोच्चमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेको रिटमा पनि नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका थिए ।

नेपाल ओलीसँग सहमति गरेर सर्वोच्च अदालतमा दायर रिटबाट पछि हट्ने आशंकाहरु पनि गरिएको छ । नेपाल खेमाका २३ जना सांसदले रिट दर्ता फिर्ता गरे १४६ बाट १२३ मा झर्छ । जसका कारण मुद्दा नै कमजोर भई देउवालाई प्रधानमन्त्री बनाउने आदेशको दिन भन्दै दायर गरिएको रिटको पक्षमा फैसला नआउने अवस्था बन्न सक्छ ।

नेपाल खेमाका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहमति बनाउन सक्रिय छन् । बामदेव गौतमका अलावा सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत नेताहरु पनि एकता बचाउन लागिपरेका छन् । उनीहरु सहमतिको सूत्र बनाउन सक्रिय हुँदा काँग्रेसभित्र आशंकाहरु बढिरहेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..