कांग्रेस, कुलमान र ओलीको मुद्धा प्रधानन्यायाधिशले हेर्दै

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा हुने भएको छ। यसअघि भदौ ८ गते प्रधानन्यायाधीशकै इजलासमा भएको सुनुवाइमा कुलमानलाई नियुक्ति गर्दाको मिसिल झिकाउने आदेश गरेको थियो। त्यस्तै शाक्यलाई विद्युत् विकास निगममा लैजान गरिएको निर्णयको प्रति पनि झिकाउने आदेश गरेको थियो। शाक्य आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै अदालत पुगेका हुन्।

शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्त गर्नु गैरकानुनी भएको उनको जिकिर छ। शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन्। साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदवहाली गरेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ आज हुँदै छ। अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको हो।

गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफैंले गर्ने भएका छन्। उक्त रिटको पेसी आज सुनुवाइका लागि प्रधानन्यायाधीश राणाको इजलासमा तोकिएको छ। नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले सर्वोच्चमा रिट दायर गरेका हुन्।

वैद्यले दायर गरेको रिटमाथि सुनुवाइका लागि आज लागि प्रधानन्यायाधीश राणाको इजलासमा पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। जसअन्तर्गत शुक्रबार (भदौ १८गते) देखि वडा तहको अधिवेशन सुरु हुँदै छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..