एकै घरका ४ जनालाई सरकारी नियुक्ति : दोलखा एमालेका इमान्दार नेताहरु ‘सिमान्तकृत’ बन्दै !

प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वाद पाएपछि दोलखाका शिवाकोटी परिवारको दुवै हात जगन्नाथ भएको छ । ओलीलाई मामाको साइनो लगाउने दोलखाका एमाले नेता तथा व्यवसायी बालकृष्ण शिवाकोटीको परिवारका ४ सदस्यले राज्यका विभिन्न निकायमा नियुक्तिको अवसर पाएका छन् ।

शिवाकोटी, उनका भाइ रमेश शिवाकोटी, बहिनी कमला शिवाकोटी र पछिल्लो पटक श्रीमती दिपा दाहालले नियुक्ति पाएका छन् । बालकृष्ण शिवाकोटी स्वयं लगानी बोर्डका सदस्य छन् । एक कार्यकाल सकिएपछि उनी फेरि नियुक्त भएका हुन् । उनले गौशालामा पशुपति भिजन, दोलखामा केवलकार संचालन गरेका छन् । शिवाकोटीले पशुपति भिजनमा मदन भण्डारी प्रतिष्ठानको कार्यालय राख्न दिएर पार्टीलाई गुण तिरीरहेका छन् ।

बालकृष्णले भाइ रमेश शिवाकोटीलाई २०७८ बैशाखमा पशुपति विकास कोष संचालक परिषदको सदस्यमा नियुक्ति गराएका थिए । शिवाकोटी यसअघि पनि कोषकै सदस्य थिए । बालकृष्ण शिवाकोटीको श्रीमती दीपा दाहाललाई २०७८ जेठमा वन पैदावर विकास समितिको निर्देशकमा नियुक्ति गरिएको छ ।

बालकृष्णकी भान्जी नाता पर्ने कमला ओलीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको संचालकमा नियुक्ति दिएका छन् । केपी ओलीको परिवार दोलखाबाट तेह्रथुम हुँदै झापा बसाई सरेको बताईन्छ । त्यसैको फाईदा उठाउदै शिवाकोटीले ओलीलाई मामा भन्दै आएका छन् ।

जीवन नै कम्युनिष्ट राजनीतिमा समर्पित गरेका र लाभ नलिएका दोलखाका पुराना एमाले नेताहरु शिव भण्डारी, गोपाल न्यौपाने, केशव चौलागाईं, भिम दाहाल, कृष्ण न्यौपाने, बाबुकाजी कार्की, घनश्याम रिजालहरु कहिल्यै सत्ताको प्यारा हुन सकेनन । बालकृष्ण यसअघि प्रदेश सभा निर्वाचनमा दोलखा–२ बाट उम्मेदवार बन्ने दौडमा थिए ।

इश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालालाई सात पटक नियुक्ति गरेजस्तै प्रधानमन्त्री ओलीले शिवाकोटीका परिवारलाई पटक पटक नियुक्ति गरी एमालेमा त्यसका लागि अरु कोही नै नभए जस्तो गर्दै आएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..