के पूर्वमन्त्री र आईजीपीको हातमा हत्कडी लाग्दैछ ?

000 hatkadi sansad

समाजवादी नेपालका नेताहरूले आफ्ना सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिने भएका छन्।

समाजवादी पार्टीका एक नेताअनुसार यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन लागिएको हो। जाहेरी दिन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव टेकु जान लागेको स्रोतले बताएको छ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए। पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन्।

समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए। 

मुलुकी अपराध संहिताले कस्तोलाई अपहरण भन्ने परिभाषित गर्छ। संहितामा ‘कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा’ अपरहण गरेको मानिने उल्लेख छ। संहितामै अपहरणमा संलग्नलाई सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

फौजदारी अपराध सम्बन्धमा प्रहरीले संचार माध्यम बाट जानकारी पाएको कुराको सत्य तथ्य छानविन गरी पिडितले उजुरी नदिए पनि प्रहरी प्रतिबेदनको आधारमा मुद्दा चलाउन सक्छ। यो घटनामा संलग्न भएका भनिएका अपहरणकारी शक्तिशाली व्यक्ति भएको कारण डर,त्रासको कारण पिडितले उजुरी नदिने अवस्था आएको पनि हुन सक्छ। यस्तो अवस्थामा प्रहरीले प्रमाणको ‘भेरिफिकेसन’ गर्नु पर्ने हुन्छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..