म केपी ओलीले भन्दैमा आफ्नो निष्ठा त्याग्ने मानिस होइन: निवर्तमान मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको सही अर्थ जनता सामु प्रस्तुत गर्नका लागि स्थिर सरकारको खाँचो रहेको र त्यसका लागि सबै राजनीतिक दल तथा नेताहरुले आफ्ना प्रवृत्ति सुधार गर्नु पर्ने बताएका छन्। आइतबार सरकारी निवास छोड्नु अघि गरेको पत्रकार सम्मेलनमा गुरुङले नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई प्रतिपक्षी दलको नेताका रुपमा सकारात्मक कामका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए।

तर जसरी गठबन्धन बनेको छ त्यो हेर्दा हालको सरकारको भविष्य पनि स्थिर नदेखिएको उनले बताए। उनले भने, ‘यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस्। तर गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएका छन्। अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ। केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ। त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’

आफूले प्रदेशसभा विघटनको कुरा नगरेको दाबी गर्दै गुरुङले राजनीतिक स्थिरताका लागि सबै पक्षमा सुधारको खाँचो रहेको बताए। उनले कसैले भनेर आफ्नो निष्ठामा सम्झौता नगर्ने पनि बताए। पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस होइन म। तर अहिलेको अवस्थाका लागि उहाँ एक्लैलाई मात्र दोषी देखाउनु पनि उपयुक्त होइन। प्रधानमन्त्री तथा ठूलो दलको नेताको नाताले एउटा पात्र उहाँ पनि हुनुहुन्छ। तर अरु नेता, प्रमुख प्रतिपक्षी दलको भूमिका पनि त छ। विभाजनको रोग सबै दलमा देखिएको छ र यसले स्थिर राजनीतिलाई चुनौति दिएको छ।’

आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको गुरुङले बताएका छन् । गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको दिएको बताएका हुन् । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उनले भने, ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’

गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री पनि बनाएका थिए । तर पछिल्लो पटक उनले कित्ता फेरेर विपक्षी तिर लागेपछि वैकल्पिक सरकार बनेको छ । निवर्तमान मुख्यमन्त्री गुरुङले आफूलाई यो भन्दा ठूलो धोका अरु नहुने बताए । रुपान्तरण हुने अवसर हो भन्ने ग्रहण नगरेकाहरुले यसरी धोका दिने भन्दै उनले भने, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’

आफूले चाहेको भए मनाङेको सांसद पद जाने भएपनि त्यसो नगरेको समेत उनले बताए । एउटा स्वतन्त्र सांसद कुनै अर्को संसदीय दलमा प्रवेश गरेर फेरि स्वतन्त्र हुन नपाइने भन्दै उनले भने, ‘यति सुविधा दिउँ न भनेर दिएको मात्र हो ।’ बिहीबार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै पनि सदस्यलाई बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्दै मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकी थिइन्।

आह्वान भएको केही घण्टा पनि बित्न नपाउँदै पोखरेलले प्रदेशसभाका ६० मध्ये ३१ सांसदलाई सशरीर उपस्थित गराएर शुक्रबार नै दाबी प्रस्तुत गरेका थिए। कांग्रेसका १५, माओवादीका ११, जसपाका २, जनमोर्चाका २ र स्वतन्त्र सांसद दीपक मनाङ्गेले उनलाई समर्थन गरेका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..