काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।

मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने ललितपुर सीडीओ निरौलाले बताए ।

एकसाताको परिस्थिती हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर भने ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् ।
यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ ।

हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..