निषेधाज्ञाको खाका तयार हुँदै : सरकारी कार्यालय हप्तामा दुई दिन बिदा

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा हप्ताका दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सोमबार बसेको सीसीएमसी बैठकले संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको हो ।

उक्त प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ । प्रस्तावमा संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्नेसमेत उल्लेख छ ।

नीजि क्षेत्रको व्यापार तथा व्यावसायलाई बन्द गर्ने निर्णय गर्ने अधिकार भने जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । निषेधाज्ञाको निर्णय संघीय सरकारले नभएर जिल्ला प्रशासनले गर्ने अधिकार दिनसमेत सीसीएमसीले सिफारिस गरेको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु हुने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने सहमति गरेको हो।

निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। ‘निषेधाज्ञा जारी गर्ने भन्ने भयो, अब के के खोल्न दिने के के नदिने र कसरी व्यवस्थापन गर्ने भन्ने खाका तयार हुँदैछ, त्यसपछि फेरि बैठक बसेर निर्णय सार्वजनिक गर्छौं’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी सीडीओहरुको छ। संक्रमण फैलिन नदिन थप निर्णय गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुले सरकारलाई समेत सिफारिस गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषद्बाट गर्नुपर्ने निर्णय के के हुनेछन् भनेर त्यो पनि खाका तयार भइरहेको उनले बताए।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..