Hidden
सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न सर्वोच्चकाे आदेश
सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा तथ्य र प्रमाणका आधारमा निर्दोष नदेखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात भएको भनिएको समय, त्यसको अघिपछि पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोबाइलको मेसेजबाट देखिएको सामिप्यता, अडियो मेसेजको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायत तत्काल प्राप्त प्रमाणको आधारमा निज अहिले नै निर्दोष रहेछन् भन्न सकिएन ।”
आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरको आदेश बेरीतको भएको उल्लेख गर्दै सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।
सोही निवेदनमाथि सुनुवाई गर्दा निर्दोष नदेखिएपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश अदातले दिएको हो ।
को हुन् सिद्धबाबा ?
आफूले आफैंलाई सिद्धबाबा स्वघोषित गर्ने श्री १००८ श्री डा. बैष्णव कृष्णदासजी महाराजको वास्तविक नाम कृष्णबहादुर गिरी हो । सोलुको जुबुमा जन्मिएका कृष्णबहादुर गिरी उर्फ कृष्णदास जी महाराजका मातापिता, दुई भाई र दुई बहिनी छन् । उनका दुई आमा छन् । उनी कान्छीतिरका जेठा छोरा हुन् । नाम परिवर्तन गर्नमा खप्पीस यी बाबा पोखरा पुगेर सिद्धबाबाको नामले चर्चा बटुलेका व्यक्ति हुन् । उनले यसअघि पनि सुनसरी जिल्लाको चतरामा ९ दिने कथित समाधि बसेर भक्तहरूलाई आकर्षित गरेका थिए ।
कृष्णदास सिद्ध पुरुष हुन् त ?
नौ दिन अर्थात २ सय १६ घण्टा बिनाअक्सिजन बाँचेका भनिएका सिद्धबाबाको यो चमत्कारिक कुरा सुन्दा उनको बारेमा बुझ्न मन लाग्यो । एउटा मान्छे कतिबेला सिद्धपुरुष कहलिन्छ ? सिद्ध हुनुको अर्थ के हो ? सिद्धताको विशेषता के हो ? यो प्रश्नले मेरो मन मस्तिष्कमा खुल्दुली पैदा ग¥यो । यही खुल्दुलीलाई साम्य पार्नका लागि मैले पल्टाउन पुगे धार्मिक ग्रन्थको पवित्र पुस्तक ‘गीता’ ।
भागवत गीताको अध्याय २ को ५६ श्लोकअनुसार “जुन मान्छेका लागि सुख र दुःख समान अवस्था हो, सुख प्राप्तिको जसको स्पर्श हटिसकेको छ, जुन भय र क्रोधबाट मुक्त हुन्छ र जो स्थिर बुद्धीवाला हो ऊ नै सिद्ध पुरुष हो ।”
भागवत गीताले भनेजस्तै के ती व्यक्तिसँग सिद्धपुरुषको गुण छ त ? सुविधाजनक गाडी चढ्ने, नाम र दामका लागि भ्रमित कपटपूर्ण कथित चमत्कारको नौटङ्की रच्ने यी बाबा कसरी सिद्धपुरुष भए ? आफंैले आफंैलाई स्वघोषित सिद्ध प्रमाणित गर्दैमा कोही सिद्ध कहलिन्छ भने सिद्ध हुनकै लागि काम, क्रोध, लोभ, माया, मोह सबै कुरा त्याग्नेहरूप्रति कत्तिको न्याय होला ? अनि आफ्ना गैरकानुनी जञ्जालबाट मुक्त हुनका लागि रचिएको यो नौटङ्कीपनले के उनलाई सिद्धपुरुष साबित गर्न मद्धत पुग्छ ?
काण्डै काण्डमा सिद्धबाबा
सिद्धबाबाको नामले यतिबेला हाइ हाइ कमाइरहेका कृष्णबहादुर गिरी उर्फ कृष्णदास महाराज दोहोरो नागरिकताको काण्डमा संगीन आरोप खेपिरहेका छन् । उनले सोलुखुम्बुबाट कृष्णबहादुर गिरीको नामबाट नागरिकता लिएका छन् भने सुनसरीबाट वैष्णव कृष्णदासको नामबाट नागरिकता लिएका छन् ।
सोलुखुम्बुबाट ठेगाना जुबुु १ सोलु र जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको २२२७।५९५ नम्बरको नागरिकता लिएका छन् भने २०६५ साल पुस १७ गते सनुसरीबाट श्री बैश्णव कृष्णदासका नाममा जन्म ठेगाना जुबु सोलु, स्थायी बसोबास बराह क्षेत्र–१ सुनसरी, जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको ०६९००४।१३२८०८ नम्बरको नागरिकता लिएका छन् । दुबै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुबाको नाम भने छबिलाल गिरी नै लेखिएको छ । नाम र जन्म मिति भने फरक–फरक छ ।
नागरिकता त एउटा विषय मात्रै हो, जसमा नेपाल सरकारले कदम चालेको क्षणभरमै कृष्णदासलाई कानुनको कठघरामा उभ्याउन सक्छ । योसँगै उनले नेपाल–भारतमा जडिबुटीको अबैध कारोबार गरेर गैरकानूनी कार्यमा संलग्न रहेको पोल समेत खुल्न थालेको छ ।
भाईमारा सिद्धबाबा
सबैभन्दा नजिक मानिने आफ्नै भाईलाई आर्थिक रुपमा नोक्सान गर्ने स्वघोषित सिद्धबाबाको यो कदम पनि कम्ती लाजमर्दो छैन । कृष्णदासले सगोलमा सुनसरीमा रहँदाको जमिन आफूले मासेपछि भाइलाई सो बापत पैसा दिन्छु भनी २०७१ पुस ११ गते पाउने गरी मेघा बैंकको पाँच लाखको चेक काटेका थिए । मेघा बैंकको खाता नम्बर ००१००५०२०९०१४ र चेक नम्बर २०४३७७७५ चेक भाईलाई थमाइदिएका थिए । तर चेक लिएर जाँदा सो चेकको खातामा पैसा नभएको र दिइएको चेकको ठेली नै हराएको भनी खातावालाले चेक रद्ध गर्नु भनी बैंकमा निवेदन दिएपछि भाइले आफू आफ्नै दाईबाट ठगिएको पत्तो पाए ।
पटक–पटक आर्थिक रुपमा आफ्नै दाइबाट ठगिएपछि भाइले काठमाण्डौ जिल्ला अदालतमा ‘चेक अनादर मुद्धा’ हाले जुन मुद्धा यतिबेला पनि विचाराधीन अवस्थामा छ । यो मुद्धा फौजदारी मुद्धा हो । यसको अर्थ लुटपाट, कुटपिट गरेजस्तै अपराधसम्बन्धी मुद्धा हो यो ।
नेपालको कानूनमा फौजदारी मुद्धा लागेको व्यक्तिलाई सार्वजनिक पदमा रहन पाउने अधिकार छैन । तर हिन्दू धर्मको महाराज, सिद्ध बाबा वा यस्तै–यस्तै पगरी गुथेर कृष्णदासले राज्यकै आँखामा छारो हाली एक प्रहरी हवल्दारबाट सुरक्षा समेत पाइरहेका छन् । जुन कानुनी राज्यमा विश्वास गर्नेहरूका लागि सबैभन्दा लज्जास्पद विषय हो । बलात्कार, ५ लाख ठगि, दोहोरो नागरिकता, असुली जस्ता जघन्य र संगीन आरोप लाग्दा पनि नेपाल प्रहरीका दशै इन्द्रिय किन एकैपल्ट निदाउछन् ?? कि स्वयं बाबा उठेर चम्मरले हान्नुपर्ने हो ?
थप समाचार
अदालतमा याैनदासी कृष्ण : बाहिर श्रीरामकाे नारा !
कविता : बाबा आश्रम हाे कि बेश्यालय, कस्ताे खालकाे कार्य ?
भीआईपी यौनकाण्ड सिद्धबाबालाई ७ दिन हिरासतमा राख्न अदालतकाे आदेश
भीआईपी यौनकाण्ड : एक कृष्ण जेल जाँदा अर्का कृष्ण बलात्कारको आरोपमा आजै पक्राउ
भीआईपी यौनकाण्ड : एक कृष्ण जेल जाँदा अर्का कृष्णविरुद्ध बलात्कारको आरोप
सिद्धबाबामाथि आरोप : बलात्कार, ५ लाख ठगि, दोहोरो नागरिकता ; प्रहरी मौन !
सिद्धबाबामाथि बलात्कारको आरोप : प्रहरीले जाहेरी लिन अस्वीकार
प्रकासित मिति