काठमाडौं उपत्यकामा छिर्नेलाई अनिवार्य क्वारेन्टाइन

काठमाडौं उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन र आइसोलेशनमा बस्नुपर्ने भएको छ ।

तीन जिल्ला उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा पर्ने हुन्छ ।

उपत्यका प्रवेश गर्नेहरुका लागि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गर्ने छ । र सो क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ ।

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीब्र रुपमा बढीरहेको हुँदा सो संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बैशाख १६ गतेदेखि विहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

यस्तै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि वैशाख २२ गते अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएका हुन् ।


बन्द गरिएका सेवामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल लगायत रहेका छन् । त्यस्तै सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकलको पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न आग्रह गरिएको छ ।

त्यस्तै अत्यावश्यक सामाग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा( बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं उपत्यकाभित्र प्रवेश रोक लगाउने निर्णय समेत भएको छ ।

त्यस्तै अत्यवश्यक सेवामा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसञ्चार, इन्टरनेट लगायत सेवा सञ्चालन हुने जनाइएको छ । विश्वभर फैलिंदै गएको नयाँ भेरियन्टको कोभिड १९ को महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संक्रमण तिव्र रुपमा बढिरहेकाले उक्त संक्रमण रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राती १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायातका बन्द गरिएको जनाइएको छ । विज्ञप्तिमा सबैलाई यो आदेशको पालना गर्न आग्रह गरिएको छ । आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारवाही हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..