जसपाका २ मन्त्रीको राजिनामा : माओवादी प्रदेश सरकारमा जाँदै

प्रदेश २ सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनीहरु दुबै जनाले मुख्यमन्त्री राउतलाई राजीनामा बुझाईसकेका छन् ।

यसैबीच मुख्यमन्त्री राउतले आज शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । पहिलेदेखि दुईवटा मन्त्रालय मात्र लिएर प्रदेश सरकारमा सहभागी हुने अडानमा रहेको माओवादी केन्द्र एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।

प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्रीको रुपमा प्रदेश सरकारमा सहभागी हुने भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले साहलाई मन्त्री र कर्ण राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । साह र कर्णलाई सरकारमा पठाउने निर्णय भएपनि उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निश्चित भैसकेको छैन । शनिबार ३ बजे सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

स्रोतका अनुसार माओवादीलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..