annapurna add

nekapa airways

ओली–प्रचण्डको शुक्रबारको संवादपछि नेकपाको शक्तिसंघर्ष थप जटिल बनेको छ । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागे पार्टी विभाजन हुने चेतावनी दिएका छन् । पार्टीको विभाजन अब औपचारिकता मात्र रहेको भन्दै ओलीले यसको जिम्मेवार नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल रहेको ठहर पनि सुनाएका छन् ।

विभाजन रोक्न भन्दै स्थगित भएको नेकपा स्थायी कमिटीको जारी बैठक शनिबार बस्ने तयारी छ । बैठकअघि दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भेट भएको थियो । भेटको विषयवस्तुबारे प्रचण्डले शुक्रबार साँझ नै सचिवालयका सदस्यहरू वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई ब्रिफिङ गरेका छन् । ‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको निष्कर्ष सुनाउनुभयो र यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल जिम्मेवार रहेको आरोप पनि लगाउनुभयो,’ प्रचण्डले सचिवालयका नेताहरूलाई सुनाए ।

शुक्रबारको भेटमा प्रचण्डको भनाइ थियो, ‘तपाईंले पार्टी निर्णय मान्दिनँ भन्नुभयो । अनायास संसद् अधिवेशन अन्त्य गर्नुभयो, यहीवेला अध्यादेश ल्याउने कोसिस हुँदै छ । पुरानो पार्टी ब्युँताउन नयाँ दल पनि दर्ता गराइसक्नुभयो । यस अर्थमा तपाईंले पार्टी फुटाइसक्नुभएको छ । तैपनि एकता बचाउन वार्ता गर्न आएको छु ।’

ओलीको जवाफ थियो, ‘तपाईंले पार्टी विभाजन भयो भन्दै हिँड्नुभएको छ, त्यो कुरा सही हो, पार्टी विभाजन त भइसक्यो नि ! भिन्दै बैठक गर्नुहुन्छ, गुटका निर्णयलाई पार्टीको निर्णय भन्नुहुन्छ । अब तपाईंहरू बैठक बस्नुस्, मलाई निकाल्ने हो कि के गर्ने हो त्यो पनि गर्नुस् । त्यसपछि आ–आफ्नो बाटो लागौँला ।’ ओलीले भनेका थिए, ‘पार्टी एकता बचाउने अब एउटा मात्र उपाय छ । तपाईंले माधव नेपाललाई छाडेर आउनुस् । त्यसपछि एकता बच्छ, नत्र सम्भव छैन ।’ ‘म प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्दिनँ, अरू केही प्रस्ताव छन् भने छलफल गरौँ, त्यसका लागि तयार नै छु ।’ त्यसपछि छलफल कुनै ठोेस सहमतिविना टुंगिएको थियो । तर, शनिबार फेरि बसौँला भन्दै नेताहरू उठेका थिए ।

शनिबार बस्ने स्थायी कमिटीको बैठकभन्दा एक घन्टाअगाडि बालुवाटार आएर छलफल गर्ने भन्दै प्रचण्ड हिँडेका थिए । प्रचण्डले ‘पार्टी निर्णय स्वीकार गर्नुस्, छलफल पनि गर्दै जाऊँ’ भनेका थिए । ओलीको जवाफ थियो, ‘ठिकै छ बसौँला । ठन्डा दिमागले सोचेर आउनुहोला, छलफल गरौँला ।’ शनिबार ११ बजे नेकपाको स्थायी कमिटी बैठक छ । त्यसअगाडिको वार्तामा ठोस सहमति नभए बहुमतका आधारमा निर्णय गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

Ne ka pa 11

छलफलमा प्रचण्डले एक व्यक्ति : एक जिम्मेवारीको नीति कार्यान्वयन गर्दै पार्टी एकता सुदृढ गर्नका लागि प्रधानमन्त्रीले त्याग गर्नुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री यो विषयमा प्रवेश नै गर्न मानेका थिएनन् । छलफल सकारात्मक नभएपछि प्रचण्डले बालुवाटारबाट फर्किएलगत्तै खुमलटारस्थित निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित सचिवालयका नेताहरूलाई बोलाएर ‘ब्रिफिङ’ सुनाउँदै सुझाब लिएका थिए ।

‘म प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्ने पक्षमा छैन, यदि पार्टी एकता कायम गर्ने हो भने तपाईंले माधव नेपाल र ममध्ये एउटा विकल्प छान्नुस्,’ खुमलटारमा नेताहरूलाई प्रचण्डले गरेको ब्रिफिङ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘तपाईंले एकताका लागि एउटा टिम रोज्नुस्, अध्यक्ष र प्रधानमन्त्री छाड्ने कुरै नगर्नुस्, बाँकी अरू विषयमा छलफल गरेर सहमति गर्न सकिन्छ भनेपछि छलफल सकारात्मक नभएको जानकारी गराउनुभयो ।’

सत्ता र शक्तिसंघर्षले पार्टी विभाजनसम्मको खतरा उत्पन्न भएपछि नेकपाका दोस्रो पुस्ताका नेताहरुले सक्रियता बढाएका छन् । शनिबारसम्म स्थायी कमिटी बैठक स्थगित भएकै बेला दोस्रो पुस्ताका नेताहरु शुक्रबार सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

यसका लागि मन्त्री क्वाटरमा भेलादेखि पार्टी मुख्यालयमा धर्नासम्मका गतिविधि भए । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद फराकिलो हुँदै गएपछि दोस्रो पुस्ताका नेताले ‘हस्तक्षेप’ को नीति लिएका हुन् ।

शुक्रबार बिहानै कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको निवासमा भेला भएका नेताहरुले पार्टी एकता जोगाउन ‘युद्धविराम’का लागि आग्रह गरका थिए । मन्त्री घनश्याम भुसालको निवासमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, टोपबहादर रायमाझी, मणि थापालगायतका नेताहरु भेला भएर नेतृत्वमाथि दबाब बनाउने योजना बनाएका हुन् ।

बैठकमा सहभागी नेताहरुले ‘पुरानो सहमति कार्यान्वयन वा नयाँ सहमति गरेर भए पनि पार्टी एकता जोगाउनुपर्छ’ भन्ने निष्कर्ष निकालेका छन् । यसका लागि संवाद बढाउन उनीहरुले शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । दोस्रो पुस्ताका नेताहरुले छिटो अधिवेशन गरेर पार्टीभित्रको समस्या समाधान गर्न पनि सुझाएका छन् ।

उनीहरुको दाबी छ, ‘पार्टी गम्भीर सङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास थालिएको हो ।’ पार्टी एकता हुँदा जे सहमति भएको थियो त्यसमै टेकेर छलफल सुरु गर्नुपर्छ र त्योभन्दा दायाँ बायाँ गएर पार्टी एकताबद्ध हुन सक्दैन भन्ने उनीहरुको निष्कर्ष छ ।

‘पार्टी एकतालाई बचाउनुपर्छ । स्थिति भड्काउने काम गर्नु हुँदैन । पार्टी एकता हुँदा जे सहमति भएको थियो त्यसमै टेकेर छलफल सुरु गर्नुपर्छ । त्योभन्दा दायाँ बायाँ गएर पार्टी एकताबद्ध हुन सक्दैन । दुई अध्यक्षलाई भेटेर हाम्रोतर्फबाट घनश्याम भुसालजीले यही सुझाव दिनुहुन्छ । आवश्यक परे हामी सबैजना शीर्ष नेताहरुलाई भेटेर सुझाव दिन्छौं,’ छलफल सहभागी स्थायी कमिटी सदस्य मणि थापाले भने ।

nekapa ma

उता केन्द्रीय कमिटीका नेताहरूले पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जम्मा भएर विवाद तत्काल अन्त्यका लागि शीर्ष नेतालाई दबाब दिएका छन् । शुक्रवार अपराह्न १ बजेदेखि ४ बजेसम्म ५० जना भन्दा बढी केन्द्रीय कमिटी सदस्य र अन्य कार्यकर्ताहरू धर्नामा बसेका थिए ।

‘पार्टी एकता कायम हुनुपर्छ । पार्टी विभाजन हुनु हुँदैन । विधि पद्धतिबमोजिम पार्टी चल्नु पर्‍यो, नेताहरु त्यसबमोजिम अगाडि बढ्नु पर्छ । त्यही दबाब दिन यहाँ भेला भएका हौं,’ नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले भने । गैरेका अनुसार भेलामा स्वेच्छाले केन्द्रीय सदस्यहरु पुगेका छन् ।

पार्टी स्थायी कमिटी बैठक चलिरहेको बेला मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा विवाद थप जटिल मोडमा पुगेको थियो । बिहीबार साँझ नै अधिवेशन अन्त्य भएको छ । अधिवेशन अन्तय गरेर प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको दाहाल–नेपाल समूहको आंशका छ ।

दाहाल–नेपाल समूह ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । तर, ओली दुवै पद नछाडने अडानमा छन् । यही टकरावले नेकपा विभाजनको तहमा पुग्न लागेको आंशका पैदा भएको छ । र, यही आंशकाकाबीच एकता जोगाउन दोस्रो पुस्ताको नेताहरुले शीर्ष नेतृत्वमाथि हस्तक्षेप र दबाबको रणनीति लिएका छन् ।

यद्यपि शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागि थिए ।

नेता शर्माका अनुसार आजको छलफलमा ठोस सहमति नभएको हुँदा शनिबार बैठक बस्नु अघि फेरी दुई अध्यक्षबीच छलफल गर्ने सहमति भएको छ । नेकपा बैठक शनिबारसम्मका लागि स्थगित छ । यहि बीचमा दोस्रो पुस्ताका नेताहरुको हस्तक्षेप र दबाब कति प्रभावकारी हुन्छ? चासोपूर्वक हेरिएको छ ।

बालुवाटार छलफलमा ओली सकारात्मक नबनेपछि खुमलटारको छलफलले सचिवालयका बहुमत नेताहरूले शनिबार बिहान पनि एक व्यक्ति : एक जिम्मेवारीको नीति माथिदेखि तलैसम्म कार्यान्वयनका लागि सहमति नभए ११ बजे डाकिएको बैठक अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...