नयाँ सरकार गठनको तयारी तिब्र : यी हुन् सम्भावित ३ विकल्प

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन् ।

यसअघि सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको थियो । यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए । लगत्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

सरकार बनाउन बहुमत पुग्ने उनीहरुको दाबी छ । नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपिलसमेत गरेका छन् । संविधानको धारा ७६ मा ‘दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने’ सरकार गरी सरकार गठनका लागि तीन विकल्पको परिकल्पना छ ।

तर, अहिले संसद्मा कुनै पनि एक दलको बहुमत पुग्ने अवस्था भने छैन । धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बन्ने सम्भावना समाप्त भएपछि यो अवस्थामा दुई वा दुईभन्दा बढी दलको विकल्पमा सरकार गठन गर्न दलहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन् । धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्य बहुमतको सरकारको प्रधानमन्त्री बन्न सक्ने छन् ।

सरकार गठनका सम्भावित ३ विकल्प यी हुन सक्छन :

१. कांग्रेस, माओवादी र जसपा गठबन्धन
संसद्मा कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १४१ सांसदसहित बहुमतको सरकार गठनका लागि दाबी गर्न सक्छन् । यो सम्भावना धेरै कम छ ।

२. कांग्रेस, माओवादी र जसपाको यादव समूह
कांग्रेसका ६१, माओवादीका ४८, जसपाको भट्टराई–यादव समूहका १६ तथा जनमोर्चा र स्वतन्त्रका एक÷एक सांसद मिलेर दाबी गर्न सक्छन्, तर यसका लागि पहिला एमालेको नेपाल समूहबाट कम्तीमा १८ सांसदको राजीनामा चाहिन्छ

३. एमाले र जसपाको ठाकुर–महतो समूह
एमालेको १२१ सांसद र जसपाको ठाकुर–महतो समूहका १६ सांसद मिलेर बहुमतको अंक पु¥याउन सक्छन्, तर यसका लागि एमालेको खनाल–नेपाल समूह तयार हुनुपर्छ

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..