annapurna add

sachiwala koteshwor peris wwJwUeigGd

आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन हुने एजेण्डाले प्रवेश पाएसँगै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु हेरफेर हुने प्रक्रिया ठोस रुपमा अघि बढेको छ।

स्थायी समितिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावलाई कार्यान्वयनमा लैजानेबारे निर्णय गर्न आइतबारदेखि सुरु भएको सचिवालय बैठकमा एजेण्डा पेश भइ गम्भीर रुपमा छलफल भएको छ।

पेश भएका चारवटा एजेण्डामध्ये आइतबार मन्त्रिपरिषद् पुनर्गठनबारे मात्र छलफल केन्द्रित रहेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए। मन्त्रिमण्डल १२ औँ पटक हेरफेर हुन लागेको हो।

अर्का एक सचिवालय सदस्यका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका तीनवटा मोडेलमा छलफल भएको छ। पहिलो सुरुमा मन्त्री भएका सबैलाई बिदाइ गर्ने, दोस्रो दुई वर्ष पूरा गरेकालाई बिदाइ गर्ने र तेस्रो विकल्पका रुपमा कार्य सम्पादनको मूल्याकनका आधारमा हेरफेर गर्ने।

नौ सदस्यीय सचिवालयमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठले कार्यसम्पादनका आधारमा मन्त्रीहरु फेरफेर गर्नुपर्ने सुझाव दिएका छन्। नेकपामा पटक–पटक सांसद भएर पनि मन्त्री बन्न नसकेकालाई अवसर दिनुपर्ने आवाज शसक्त रुपमा उठिरहेको छ।

स्थायी समितिले १५ दिनभित्र मन्त्रिपरिषद् हेरफेर गर्न सुझाव दिएको थियो। पार्टीमा बढी नेताहरुलाई अवसर दिन प्रधानमन्त्री केपी शर्मा ओलीले हाल भएका २२ वटा मन्त्रालयमध्ये दुईवटालाई विभाजन गरेर २४ वटा पुर्‍याउने तयारी पनि भित्रभित्रै अघि बढाइरहेका छन्।

अहिले तीनवटा मन्त्रालय खाली रहेको र दुईवटा थपेर पाँचवटा खाली बनाउने तथा केही मन्त्रीलाई बिदाइ गरेर नयाँलाई अवसर दिने तयारी प्रधानमन्त्री ओली रहेको बालुवाटार स्रोतको दाबी छ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद्‍‌को पुनर्गठनसँगै संवैधानिक निकाय तथा राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम पूरा गर्ने र विविध एजेण्डा पेश भएका छन्। बैठकमा पार्टीका पूर्णकालीन केन्द्रीय सदस्यलाई जीविको पार्जनका लागि नियमति रकम उपलब्ध गराउने प्रस्ताव पनि पेश भएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री युवराज खतिवडा र खाने पानी बिना मगर ओली नेतृत्वको क्याबिनेटमा सुरु देखि नै छन्।

बाहिरिनेमा पुरानालाई प्राथामिकता दिने बताइए पनि नेकपाभित्रको शक्ति संघर्षमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्यहरु पोखरेल र थापालाई प्रधानमन्त्रीले निरन्तरता दिने पक्का छ। तीबाहेक पनि ज्ञवाली, पुन र बस्नेत नफेरिने निश्चित जस्तै रहेको स्रोत बताउँछ। पछि नियुक्त भए पनि कमजोर पर्फमेन्स भएका र पार्टीभित्रको शक्ति संघर्षमा भूमिका खेल्न नसक्नेहरु मन्त्रीबाट बाहिरिने छन्।

यसअघि गत मंसिर ७ गते एकैपटक ६ जना मन्त्री र तीन जना राज्यमन्त्री ओलीले हेरफेर गरेका थिए। त्यसअघि गत वर्ष साउन १५ गते रवीन्द्र अधिकारीको निधनका कारण रिक्त रहेको संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको थियो।

तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले विवाददास्पद अभिव्यक्ति दिएपछि उनको ठाउँमा भानुभक्त ढकाललाई ओलीले नियुक्त गरेका थिए। त्यस्तै गत फागुन ५ गते शिवमाया तुम्बाहाम्फे मन्त्री नियुक्त भएकी थिइन्।बाहिरने मन्त्रीको नाम लगभग निश्चित भए जस्तै नयाँ बन्ने मन्त्रीको पनि करिव टुंगो लागिसकेको छ। स्रोतका अनुसार विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेताहरु मध्येबाटै नयाँ मन्त्री छानिने संभावना अधिक छ।

कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन्। शंखर पोखरेल ५ नम्बर प्रदेशका मुख्यमन्त्री हुन् बाँकी पाँचै जना सांसद छन्। महासचिव पौडेलले अर्थ मन्त्रालयमा आँखा लगाएका छन् भने प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री भट्टराईलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा पुगेका स्रोत बताउँछ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार