सत्ता जोगाउन ओलीले दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरे : माधव नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई कमजोरीका रुपमा लिएको आरोप लगाएका छन् । नेता नेपालले अध्यक्ष ओली नै पार्टी एकता भंग गर्ने दिशामा लागेको उल्लेख गर्दै कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकामा असन्तुष्टि जनाएका हुन् ।

अध्यक्ष ओलीको पछिल्लो कदमलाई लिएर असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कदमको विरोध गरेका हुन् । उनले भनेका छन्, ‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।’

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

उनले लेखेका छन्, ‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..