ओलीले बोलाए बादलसहितको स्थायी समिति बैठक : एमाले एकता टरेको आंकलन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन्। आइतबार अपराह्न ४ बजे बस्ने गरी अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

कार्यदलस्तरमा जारी पार्टी एकताको प्रयास सफल नहुँदै ओलीले आइतबार अपराह्न स्थायी कमिटी बैठक डाकेका हुन्। आइतबारको बैठकमा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरु पनि सहभागी हुने जनाइएको छ।

एमाले एकता कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ। कार्यदलले आज बिहानै सहमतिको सन्देश दिने बताए पनि अहिलेसम्म कार्यदल सहमतिमा पुग्न सकेको छैन। कार्यदलका सदस्यहरुले आजै नेपालपक्षसहितको स्थायी कमिटी बैठक बस्ने जानकारी गराएका थिए। तर, ओलीले पूर्वमाओवादीका नेताहरुसहितको बैठक बोलाएपछि सहमतिको सम्भावना तत्काललाई टरेको आकलन गरिएको छ।

बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । ‘हिजो नै कार्यदलमा सहमति बनेको कुरा आएको थियो । रातभरीमा के भएर रोकिएको हो थाहा भएन । महासचिवले अध्यक्षसँगको परामर्शमा स्थायी कमिटी बोलाउनुभएको हो’, तामाङले भने ।

एकताका लागि गठन गरिएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आज बिहान ८ बजेसम्म ‘सुखद खबर’ आउने जानकारी पत्रकारलाई दिएका थिए । यद्यपि अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..