annapurna add

Nepal Communist party Central Committee meeting 3

प्रचण्ड–नेपाल समूहले २८ कात्तिकमा प्रचण्डको राजनीतिक प्रस्ताव, बैठक माग गरिएको पत्र र ओलीको जवाफ समेटिएको पत्रसहित दस्ताबेज प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले एक कदम पछि हटेर व्यक्तिगत लाञ्छनाविहीन राजनीतिक प्रस्ताव ल्याउने गृहकार्य अगाडि बढाएका छन् । दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने गरी केन्द्रीय सचिवालय बैठक १३ मंसिरमा बालुवाटारमा बोलाइएको छ ।

प्रचण्ड–नेपाल एकै ठाउँमा उभिँदा पार्टीका सबै तहका कमिटीदेखि संसदीय दलसम्म बहुमत निश्चित देखिने दाबीसहित यसपटक प्रक्रियामै अघि बढेर ओलीलाई कम्तीमा एक पद छोडाउने उनीहरूको रणनीति छ । प्रचण्डले राजनीतिक प्रस्तावको निष्कर्षमा पनि यसपटक त्याग गर्ने पालो ओलीको भएको भन्दै देश र जनताको हितका लागि त्याग गर्न दबाब दिएका छन् । प्रचण्ड र नेपालसहित पाँचै नेता पनि ओलीलाई एक पद छोडाउनेमा मतैक्य देखिएका छैनन् ।

प्रचण्ड, नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, वर्षमान पुन, जनार्दन शर्मा, रघुजी पन्तलगायतसँग पनि छलफल गर्दै आएका छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारीविहीन बनाउने प्रयास गरेर सहमति र पार्टी निर्णय कार्यान्वयनमा इमानदार नदेखिएको भन्दै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा जोडबल गरेका छन् । तर, वरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री वा अध्यक्षमध्ये जुनसुकै पदबाट हट्ने भए पनि पहिलो रोजाइ ओलीलाई नै दिँदा उपयुक्त हुने धारणा राख्दै आएका छन् ।

यही बैठकलाई केन्द्रमा राखेर पार्टीभित्रका दुवै समूह सघन आन्तरिक तयारीमा जुटेका छन्। ओलीलाई दाहालको प्रस्तावको जवाफमा अर्को प्रस्ताव लेख्न १० दिनको समय दिएको ३ मंसीरको सचिवालय बैठकले १३ मंसीरमा सचिवालयको अर्को बैठक तोक्दै १८ मंसीरमा स्थायी कमिटी र २५ मंसीरमा केन्द्रीय कमिटीको बैठकको मितिसमेत तय गरेको थियो। त्यसयता बुधबार (१० मंसीर) सम्म नेकपाभित्र के के भए ? अनि दुवै पक्ष के कस्ता तयारी गरिरहेका छन् ? १३ मंसीरको बैठकका लागि कस्तो तयारी हुँदैछ ? नेकपाभित्र केही निकै रोचक घटनाक्रम विकास भइरहेको देखिन्छ। 

प्रस्ताव नं १ – माधव अध्यक्ष, शंकर महासचिव
नेकपाभित्र जबजब संकट आउँछ, प्रधानमन्त्री ओलीले पूर्वएमाले पंक्ति एक ठाउँ उभिनुपर्ने प्रस्ताव अगाडि सारिहाल्छन्। यसपटक आफू साँच्चिकै अप्ठेरोमा परेपछि ओलीले फेरि त्यस्तै प्रस्ताव अघि सारेका छन्। तर, यसपालिको प्रस्ताव धेरै हिसाबले फरक छ। त्यो के भने यसपालि कार्यकारी अध्यक्ष दाहालसँग गठबन्धन गरेर आफूविरुद्धको मोर्चामा सशक्त भूमिका वहन गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बन्न ओलीले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल अध्यक्ष बन्ने भए आफू अध्यक्ष छोड्न तयार रहेको सन्देशसहित आफूनिकट नेताहरुलाई कोटेश्वर पठाएका छन्। पूर्वएमालेहरु एक ठाउँ उभिनुपर्ने र त्यसो हुँदा जनताको बहुदलीय जनवादको रक्षा हुने भन्दै नेपाललाई नेकपाको प्रथम अध्यक्ष बन्न ओलीले पठाएको प्रस्ताव लिएर केही दिन पहिले कोटेश्वर पुगेका नेताहरूले नेपाललाई प्रथम अध्यक्ष बन्न आग्रह मात्र गरेनन्, स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी महासचिव बनाएर जाने योजना पनि सुनाएका थिए।

प्रस्ताव नं २ – माधव नेकपाका संयोजक 
प्रथम अध्यक्ष बन्न गरेको प्रस्ताव स्वीकार नगरेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई नेकपाको संयोजक बन्न अर्को प्रस्ताव गरेका छन्। बालुवाटारको सन्देश लिएर कोटेश्वर पुगेका ओलीनिकट नेताहरूले नेकपाको केन्द्रीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाउने, अध्यक्षद्वय ओली र दाहाल सदस्य बन्ने तथा नेपाल त्यसको संयोजक बन्ने प्रस्ताव राखेका थिए। 

प्रस्ताव नं ३ - प्रचण्डलाई एकल अध्यक्षको प्रस्ताव
गएको २८ कात्तिकको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई आरोपित गर्दै एकल प्रस्ताव पेश गरेका नेकपाका कार्यकारी अध्यक्ष दाहाललाई अब पार्टीको एकल अध्यक्ष बन्न अर्को प्रस्ताव गरिएको छ। यो प्रस्ताव प्रधानमन्त्री ओलीले सीधै गरेका भने होइनन्। राष्ट्रपति विद्यादेवी भण्डारीनिकट नेकपाका नेताहरूले दाहालसमक्ष यो प्रस्ताव गरेको नेकपाको उच्च स्रोत बताउँछ। “विगतमा जे जस्तो भए पनि अब तपाईं एकल अध्यक्षका रूपमा काम गर्नुस्, ओली अध्यक्ष त कायम हुनुहुन्छ तर, तपाईंको कुनै निर्णयमा हस्तक्षेप गर्नुहुन्न। उहाँले प्रधानमन्त्रीको जिम्मेवारी मात्र वहन गर्नुहुन्छ। अब यसरी अगाडि बढौं”, दाहालसमक्ष गरिएको प्रस्तावबारे स्रोतले भन्यो।

प्रस्ताव नं ४ : वामदेव चुनावी सरकारको प्रधानमन्त्री
नेकपामा देखापरेको संघर्ष आफूमाथि संकट बनेर आएपछि प्रधानमन्त्री ओली १३ मंसीरको बैठकअघि एउटा वा दुइटा होइन, थुप्रै विकल्प प्रयोग गर्न तम्सिएका छन्। त्यसमध्येकै हो, उपाध्यक्ष वामदेव गौतमलाई चुनावी सरकारको प्रधानमन्त्री बन्न गरिएको प्रस्ताव। नेकपाको उच्च स्रोतले प्रधानमन्त्री ओलीले गौतमलाई अर्को वर्ष चुनावी सरकारको प्रधानमन्त्री बन्न र अहिले आफूलाई साथ दिन आग्रह गरेको बतायो। नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरूमार्फत ओलीले गौतमलाई यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ। 

दाहाल–नेपाल समूह यसबीचमा प्रधानमन्त्री ओलीले जतिसुकै चलखेल गरे पनि त्यसले काम नगर्ने दाबी गर्छ। ओलीले विभिन्न समयमा विभिन्न प्रस्ताव गरेको, तर त्यसलाई पूरा नगरेको, बरु निर्णय भएका विषयमा पनि काम गर्न नदिने व्यवहार देखाएकाले यसपटक कुनै प्रस्तावले काम नगर्ने यो समूहको दाबी छ। पार्टीका कमिटी भन्दा संसदीय दलमा राम्रो अवस्थामा रहेका ओली केही मिहिनेत गरे त्यहाँ आफ्नो बहुमत सिद्ध गर्न सकिने बुझाइमा छन्। त्यही कारण आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउन खोजिए संसदीय दलमा जाने र दलमा जाँदा आफ्नो पक्षमा बहुमत पुर्याउन सकिने ओलीको आकलन छ। संसदीय दलमा जाँदा पूर्वमाओवादी तर्फका केही सांसदले समेत साथ दिने ओलीको विश्वास रहेको बताइन्छ। तर, दाहालनिकट एक स्थायी कमिटी सदस्य भने यसमा पनि उनी सफल नहुने दाबी गर्छन्। 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...