annapurna add

oli prachanda bibad

सत्तारूढ नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मिलेर नै आउँदो सचिवालय बैठकमा संयुक्त प्रस्ताव पेस गर्नुपर्ने लबिइङ सुरु भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोपको ‘काउन्टर प्रस्ताव’ पेस गर्ने स्थिति आए त्यही बिन्दुबाट पार्टी फुट्ने जोखिम रहेको बताउँदै दाहाललाई प्रस्ताव फिर्ता लिन लगाउने र ओलीलाई पनि एकल प्रस्ताव पेस गर्नबाट रोक्ने कोसिस नेताहरूले थालेका छन् ।

दाहालले आफूमाथि आरोप लगाउँदै यसअघि पेस गरेको १९ पृष्ठ लामो प्रस्तावको एकएक जवाफ आउँदो सचिवालय बैठकमा दिने भन्दै ओली बालुवाटारमा दस्ताबेजको तयारीमा छन् । उनले दाहालविरुद्ध अर्को प्रस्ताव ल्याए त्यसमा झन् आक्रामक आरोप लाग्न सक्ने र त्यसले पार्टीलाई फुटमा लैजाने दोस्रो तहका नेताहरूको विश्लेषण छ । त्यसैले दोस्रो तहका नेताहरूसँग योबीचमा व्यक्तिगत छलफल गरिरहेका महासचिव विष्णु पौडेलले शुक्रबार अध्यक्ष दाहालसँग पार्टी कार्यालय धुम्बाराहीमा संयुक्त दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव राखेका छन् । ‘छुट्टाछुट्टै प्रस्ताव जाने कुराले पार्टीलाई सहमतिमा पुर्‍याउँदैन,’ प्रधानमन्त्री ओलीसँग समेत नियमित छलफल गरिरहेका महासचिव पौडेलले अध्यक्ष दाहालसँग भनेका थिए ।

अध्यक्ष दाहालले आउँदो बैठकका लागि प्रस्तावको तयारी गर्न थालेका प्रधानमन्त्री ओलीको मनस्थिति बुझ्न र सम्भावित कदमबारे परामर्श गर्न शुक्रबार महासचिव पौडेल र ओलीनिकट स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई छुट्टाछुट्टै धुम्बाराही बोलाएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार आफ्ना केहि विश्वासिला नेताहरुलाई प्रचण्डसँग छलफल गराएर सो प्रयास सुरु गरेका छन्। तर, वरिष्ठ नेता माधवकुमार नेपाल आरोपको सिलसिला प्रधानमन्त्री ओलीबाटै सुरु भएको बताउँछन् । फायर प्रधानमन्त्रीबाटै खोलिएको नेता नेपाल बताउँछन् ।

“अहिले फायर केपी ओलीले सुरु गरेको हो, पार्टी अध्यक्ष ओलीलाई हामी पाँचजनाले सही गरेर चिट्ठी दिनुपर्ने अवस्था किन आयो ? किन बन्यो ? यसको कारण खोज्नु पर्दैन ? उहाँ खोज्नुहुन्न,” नेता नेपालले सञ्चारकर्मीहरूसँगको भेटमा भने, “उहाँले बैठक बोलाउन चाहनुभएन । प्रचण्ड हत्तु हुनुभयो । ओली भन्नुहुन्छ– पहिले सहमति गरौं । त्यस्तो पनि हुन्छ ? सहमति, सहमति होइन, बैठक अनिवार्य शर्त हो ।”

पाँचपाँचजना नेता बैठकको माग गर्न जाँदा ओलीले अपमान गरेको पनि बताए । लिखित पत्र बुझाउनुपर्ने अवस्थाको कारण खोतल्नुको सट्टा दस पेजको आरोपपत्र तयार पारेको बताए । “आरोपपत्र उहाँले सुरु गरेको हो,” उनले सञ्चारकर्मी सामु दोहोर्याउँदै भने, “प्रचण्डलाई मात्रै होइन, सचिवालयका पाँचै जनालाई आरोप लगाउनुभएको छ । प्रचण्ड कमरेडले त्यसको प्रतिवाद मात्रै गर्नुभएको हो ।”

बिहीबारदेखि नै प्रचण्डसँग विभिन्न च्यानलमार्फत् छलफलको प्रयास गरेका ओलीनिकट नेताहरुले शुक्रबार उनलाई पार्टी कार्यालयमै भेटेर छलफल गरेका हुन्। शुक्रबार प्रचण्डलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेर प्रचण्डसँग भेट गरेका थिए।

मंसिर ३ गतेको नेकपा सचिवालय बैठकमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डले ल्याएको प्रस्तावप्रति तीव्र असन्तुष्टि जनाएका थिए। उनले प्रचण्डले आफूमाथि निराधार आरोप लगाएको हुँदा आफूले त्यसमा लगाइएका एकएक आरोपको जवाफसहित मंसिर १३ गतेको बैठकमा काउन्टर प्रस्ताव ल्याउने जानकारी गराएका थिए।

तर, त्यसअघि नै प्रचण्डसँग छलफल गरेर सहमति कायम गर्न भनी ओलीनिकट नेताहरुले सक्रियता बढाएका हुन्। धुम्बाराहीस्थित पार्टी कार्यालयमा प्रचण्डलाई भेटेका उपप्रधानमन्त्री पोखरेल, महासचिव पौडेल र नेम्वाङ सबैले सहमतिमै अहिलेको विवाद सल्टाएर पार्टीलाई दुर्घटनाबाट जोगाउनु पर्नेमै जोड दिएका थिए।

‘प्रचण्डले बालुवाटारमा नजाने अडान लिएपछि अरु नेताहरुले उहाँलाई पार्टी कार्यालयमै पुगेर भेट्नुभएको हो,’ प्रचण्डसँग तीन नेताहरुको छलफलबारे जानकार स्रोतले भन्यो, ‘उहाँहरुले प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदन ल्याउनुअघि नै दुई अध्यक्षबीच सहमति गर्नुपर्ने अपरिहार्यताबारे आग्रह गर्नुभएको छ।’

जवाफमा अध्यक्ष प्रचण्डले आफूले ल्याएको प्रस्ताव पार्टीभित्र विधि र पद्धति कायम गर्न ल्याइएको बताएका थिए। ‘पार्टी एकता जोगाउन मलगायत सचिवालयका बहुमत साथीहरु कटिबद्ध हुनुहुन्छ,’ ती नेताहरुसँग प्रचण्डले राखेको धारणाबारे स्रोतले भन्यो, ‘छलफल गरेर सहमति कायम गराउनकै लागि सो प्रस्ताव ल्याइएको हो, यसमा सबै साथीहरुको सहमति पनि छ त्यसैले छलफल गरौं।’

महासचिव पौडेलनिकट स्रोतका अनुसार नेताहरुले प्रचण्डलाई कात्तिक २८ गते उनले सचिवालय बैठकमा पेस गरेको प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गरेका थिए। त्यसो भएमा दुई अध्यक्षको सयुंक्त प्रस्ताव ल्याउने वातावरण बन्ने र पार्टी दुर्घटनाबाट जोगिने उनीहरुको जिकिर थियो।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...