चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न ग्रेटर नेपाललाई प्रतिबन्ध !

 

काठमाडौं । सरकारले आजदेखि दुई दिने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा स्वागत गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चालाई प्रतिबन्ध लगाएको छ ।

लिखित प्रतिबन्ध लगाएको नभई ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाललाई प्रहरीमार्फत दवाव सिर्जना गरी चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा स्वागत समेत गर्न नदिएको जनाएका छन् ।

विमानस्थल बाहिर स्वागत गर्न जाने कार्यक्रम प्रहरी धरपकडको कारण स्थगित गर्नु परेको संयोजक नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको स्वागतमा काठमाडौंमा उपलब्ध सबैं कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएपनि ग्रेटर नेपालको एजेण्डा उठाउने नेपालको टोलीलाई भने प्रहरीले दवाव दिएको खुल्न आएको छ ।

संयोजक नेपालले भारत रिसाउने डरले सरकारले दवाव सिर्जना गरी चिनियाँ राष्ट्रपति सीको स्वागत कार्यक्रम स्थगित गर्नु परेकोमा सरकारको व्यवहारप्रति खेद व्यक्त गरेका छन् ।

############

मलाई किन सिको स्वागत गर्नबाट रोकेको ?

अस्ति बिहीबार दिनको ३:३० बजेतिर म तीनकुनेमा नवनिर्मित फूलबारी हेर्न गएको थिएँ । फूलबारी हेर्ने अरु पनि थिए । त्यहीँ नजिकै बर्दीधारी र सादा पोशाकका प्रहरी पनि निगरानी गर्दै थिए । त्यो फूलबारी हेरिसकेपछि म वानेश्वर क्याम्पस नजिकैको गल्लीतिर लागेँ । गल्लीको मोडमा मेरा एकजना साथी रामबहादुर माबुहाङ बस्नुहुन्छ । त्यस दिन उहाँले मलाई चिया खाजा खान बोलाउनुभएको थियो । उहाँ बस्ने घरको तल किराना पसल छ । उहाँ पहिलो तलामा बस्नुहुन्छ । कहिलेकाहीँ उहाँको कोठामा जाँदा रिचार्ज कार्ड , हाजमोला , चकलेट त्यही किराना पसलमा किन्ने हुँदा पसल चलाउनेहरूसँग पनि राम्रै बोलचाल छ ।

तीन कुनेको फूलबारी हेरेर सरासर अाई मैले साथीको कोठाको ढोका ढकढक्याएँ । कोठाभित्र पसेको ५ मिनेटमै कसैले ढोका ढकढक्याउन थाल्यो । साथीकी श्रीमतीले ढोका खोल्नासाथ किराना पसलकी बहिनीले मलाई हेर्दै `दाइलाई खोज्दै दुईजना सिभिल ड्रेसका पुलिस अाएका छन् , उनीहरू दाइको यही कोट लगाएको , हातमा सेतो पोलिथिनको झोला झुन्ड्याएको अगाडि पछाडि दुवैतिरबाट खिचेका फोटा देखाउँदै यो मान्छेलाई चिन्नुहुन्छ ? कहाँ बस्छ ? अहिले भरखरै यतै अाएको छ , यही घरमा बस्छ कि ? भनेर सोधे । मैले पसलमा को को अाउँछन् के थाहा हुन्छ र ? म त यो मान्छेलाई चिन्दिनँ भनेपछि `हामी यहीँ बसेर उसलाई पर्खन्छौँ , ऊ यही गल्लीभित्रै छ , यही गल्लीबाटै निस्किन्छ ´ भन्न थाले । मैले `यहाँ नबस्नुस् , यहाँ धेरै बेर बस्दा मान्छेहरूले तपाईंहरूलाई चोर ठान्न सक्छन् , दसैँमा यहाँ धेरैको कोठा चोरी भयो ।´ भनेपछि अलि परको चिया पसलमा गएर बसेका छन् भनिन् ।

म त यो सुनेर छक्क परेँ । त्यो फूलबारी हेर्दा नै प्रहरीले मेरो फोटो खिचिसकेको रहेछ । अनि साथीसँग मैले छलफल गरेँ , यसरी फोटो देखाउँदै मलाई खोज्नु भनेको त मैले ठुलै अपराध गरेर भागेको भन्ने अर्थ लाग्छ । कि मलाई कसैले अपहरण गर्न खोजेको हो ?

मैले बेलुका एकजना चीन निकट ठूलै हस्तीलाई यो कुरा सुनाएँ । उहाँले तपाईंले चीनमा ग्रेटर नेपालका विषयमा बोल्न अन्तर्राष्ट्रिय मञ्च पाउनुभएकोमा इन्डियनलाई चित्त बुझेको छैन , त्यसैले उनीहरू तपाईंलाई अहिले चीनविरोधी भनेर बदनाम गराउने र चिनियाँहरूका दृष्टिमा अविश्वसनीय बनाउने खेलमा लागेका हुन सक्छन् , इन्डियनको दबाबमा सरकारले तपाईंमाथि पक्राउ अादेश दिन पनि सक्छ , त्यसैले तपाईं सिको भ्रमणअवधिभरि बाहिर ननिस्कनुस् भन्नुभयो ।
हिजो निवास छेउछाउमा त्यस्तो केहि देखिनँ । तर अाज बिहानैदेखि मेरो निवासको यताउता सडकपेटीमा सादा पोशाकका प्रहरी बसिरहेको देखेँ । अनि अर्का एक चीननिकट मित्रलाई म चीनविरोधी होइन भन्ने जान्दाजान्दै किन ममाथि प्रहरी निगरानी ? भनेर दुखेसो पोखेँ ।

उहाँले चाहिँ तपाईंले हिजो फेसबुकमा लिपुलेकका विषयमा चीनले गल्ती गरेको भनिदिनुभयो , त्यही भएर तपाईंले सडकमै विरोध गरिदिनुहोला भनेर निगरानीमा राखेको होला भन्नुभयो ।
यसरी चिनियाँ राष्ट्रपतिको स्वागतमा एअरपोर्ट गेटमा उभिने मेरो कार्यक्रम रद्द गर्नुपर्यो ।

मैले के कुरा बुझिनँ भने सरकार मसँग तर्सिएको कि सरकारले मलाई तर्साउन खोजेको ? सिका अाँखा कतै सडकमा स्वागत ब्यानर लिएर उभिएको फणीन्द्र नेपालमा नपरून् भनेर यो खेल खेलिएको हो भने सरकारले यति निकृष्ट खेल नखेलेको भए हुन्थ्यो । होइन भने म त चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पार्न सरकारसँग हातेमालो गर्न तयार थिएँ । मैले राष्ट्रियताका विषयमा गर्दै अाएको सङ्घर्षको पुरस्कार यही हो त ?

 

Kantipath Media

यो छुट्टाउनु भो कि..