प्रचण्ड सरकार : मलाई मेरा बुबा चाहिन्छ

लिबाङ (रोल्पा) । दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको थियो ? किन अनाहकमा मेरा बुबालाई बेपत्ता पारियो ? किन अझै पनि मेरा बुबाकोे अवस्थाका बारेमा राज्य बेखबर छ ? प्रचण्ड सरकार, कि मलाई मेरा बुबा चाहिन्छ, कि यो प्रश्नको जवाफ दिनुहोला ।” 

धनबहादुरकी छोरी पवित्रा हाल १८ वर्ष पुगिसकेकी छिन् । उनीलगायत उनका दुई साना भाइ सदरमुकामस्थित होलिभिजन आवासीय माध्यमिक विद्यायल लिबाङ, रोल्पामा अध्ययनरत छन् । आगामी प्रवेशिका परीक्षामा सहभागी हुनका लागि पवित्राको तयारी तीव्ररुपमा चलिरहेको छ । तर पनि बुबाको सम्झनाले बेलाबेला उनलाई भावविह्वल बनाउने गरेको उनको भनाइ छ । 

पवित्राको ठूलोभाइ वसन्त हाल १६ वर्ष अनि सानो भाइ १४ वर्षका छन् । तर पनि अझै उनीहरुका बुबाको बारेमा परिवार बेखबर छ । 

पवित्राका बुबा युद्धका बेला रेडियो नेपाल, सुर्खेतमा मगरखाम भाषाको समाचार वाचन गर्थे। पारिवारिक स्रोतका अनुसार त्यसबेलाको देशको बिग्रँदो परिस्थितिका कारण धनबहादुरलाई घरमा सहजै आउने जाने वातावरण थिएन । यसकारण धनबहादुर चाहेको समयमा परिवारसँग भेट्न तथा घर पुग्न सक्थेनन । 

पवित्रा नजन्मदै धनबहादुरका बुबा र फुपाजुलाई तत्कालीन माओवादीले घरमै आएर रातको समयमा गोली हानेका थिए । गोली लागेर छटपटाइरहेका दुवैजनालाई उनीहरुले पटकपटक धारिलो हतियार प्रयोग गरेर छियाछिया पारेपछि घरमै एकैसाथ दुवैजनाको मृत्यु भएको धनबहादुरकी श्रीमती दिलकुमारीले बताइन । 

त्यसबेला धनबहादुरका भाइलाई पनि गोली लागेको थियो । युद्धकै समयमा नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज लगेर उपचार गरेपछि धनबहादुरका भाइको ज्यान बचेपनि धनबहादुरका बुबा र फुपाजुको एउटै चिहान बनेको उनले बताए । त्यसबेला भर्खरै विवाह बन्धनमा बाँधिएको धनबहादुरको जोडी भने ससुराली गएको हुँदा बाँच्न सफल भएको उनको भनाइ छ । 

दिलकुमारीका अनुसार तीन पटकसम्म तत्कालीन माओवादीले धनबहादुरको घर जलायो जसका कारण परिवारको सदस्य गुमाएको पीडा हुँदाहुँदै धनबहादुरको परिवारले अर्काे ठूलो पीडा सहनुपरेको थियो । त्यसैले जीवन रक्षाका लागि पछिल्ला दिनमा धनबहादुर कहिल्यै घर फर्किएका थिएनन । 

विसं २०६० तिरको कुरा हो धनबहादुरकी श्रीमती दिलकुमारी सुत्केरी भएपछि सुत्केरी सामग्री तथा केही रुपैयाँ लिएर धनबहादुर सुर्खेतबाट लिबाङ आउएका थिए । १७ दिनकी सुत्केरी बुहारी घरमा छोडेर धनबहादुरकी आमा छोरालाई भेट्न लिबाङसम्म आइन । आमाछोरा दुइरात लिबाङ बसेपछि तेस्रो दिनमा उनकी आमा घर गइन् भने धनबहादुर कार्य क्षेत्र सुर्खेत । तर दुर्भाग्य उनको अन्तिम यात्रा प्यूठानको जलुकेमै रोकियो । 

धनबहादुर प्युठानको जलुकेबाट अपहरणमा परे । धनबहादुरसँगै अपहरणमा परेका अर्का एकजना शिक्षकले अपहरणमा परेको करिब तीन महिनापछि भागेर मुक्ति पाए, तर धनबहादुरको अवस्थाका बारेमा हालसम्म कसैलाई कुनै किसिमको आधिकारिक जानकारी छैन । 

पवित्राका अनुसार उनका बुबा अपहरणमा पर्दा पवित्रा पाँच वर्षकी थिइन् । अपहरणमा पर्नुभन्दा करिब एक वर्ष पहिले आमासँग आएकी पवित्राले लिबाङमा आफ्ना बुबालाई भेटेकी थिइन् । पवित्राको स्मरणमा बुबासँगको पहिलो तथा अन्तिम भेट त्यही थियो । 

त्यसबेला पवित्रा करिब चार वर्षकी थिइन् सबै कुरा उनले सम्झिराखेकी छैनन् तर पनि आफूहरु होटलमा बास बसेको र बुबाले किनेर ल्याइदिएको राम्रो फ्रक लगाएको कुरा उनको मानसपटलमा अझै ताजै छ । त्योबाहेक बुबाको बारेमा पवित्रालाई केही स्मरण छैन । 

आँसु पुछ्दै पवित्राले भनिन्, “धेरै वर्ष भयो बुबा बेखबर भएको अब त बुबा फर्कदैनन् भन्ने थाहा छ, तर पापी मन मान्दैन । बुबा फर्कने आशमा दिन गुजारीरहेका छौँ अझै पनि बुबा फर्कने झिनो आशा मनभित्रै लुकेको छ । यदि बुबा मारिएकै भए पनि आधिकारिक जानकारी पाए बुबाको काजकिरिया गर्ने थियौँ, अनिमात्र मनले शान्ति पाउने थियो ।” 

गएको दशैंमा स्कुल बिदा भएपछि पवित्रा घर गएकी थिइन् । उनलाई यसपालिको दशैंमा बुबाको धेरै याद आयो । अनि एल्बममा सजिएका फोटो हेर्दै गर्दा उनका बुबाले अपहरणमा पर्नुभन्दा अगाडि लेखेर पठाएको चिठ्ठी फेला प¥यो । पवित्राले दोहो¥याइ तेह¥याइ त्यो चिठ्ठी पढिन् । 

त्यसमा लेखिएको थियो, “छोरी पवित्रा र छोरा वसन्तलाई मीठो प्यार, अनि सम्झना । के गर्नु ? सन्तानको मायाले छट्पटाउँदा पनि घर आउन पाइँदैन । तिमीहरु ठूला भयौ भने मसँगै राखेर पढाउनेछु । चिठ्ठीमा राखेर रु छ हजार पठाएको छु घरखर्च चलाउनु । अपुग भए गाउँमा सापटी लिएर चलाउनु । नआत्ती बस जिन्दगी लामो छ । सधैँ समय निष्ठुरी बन्ने छैन । आज दुःख गरे भोलि सुखको दिन फर्कनेछ । उही तिमीहरुलाई माया गर्ने धनबहादुर …..” 

यो चिठ्ठी पढेर पवित्रा धेरै रोएकी थिइन् । घरखर्च चलाउँदा अपुग भए सापटी काढेर चलाएको ऋण तिर्ने मान्छे नै बेखबर भएपछि पवित्राको परिवारमा ठूलो बज्रपात परेको छ । 

विद्यालयमा उनका सहपाठी साथीका अभिभावक आएर आफ्ना बालबच्चाको रेखदेख गर्दा पनि उनको मन पटकपटक छियाछिया भएको छ । कति पटक त उनी साथीको माझमा नै बुबालाई सम्झेर भक्कानो छोडेर रोएको उनका सहपाठीले बताए । 

पवित्रा भन्छिन् “जनताका पक्षमा काम गर्ने भन्दै पटकपटक शासन सत्ता बदलियो । तर बेपत्ता परिवारको न जीवन फेरियो न जीवनचर्या नै ।” 

पवित्रा जतिजति ठूली हुँदै गइन् त्यति त्यति बुबाको अभाव महसुस हुन थालेको छ । पवित्राका अनुसार हालसम्म नेपाल चिल्ड्रेन्स् एजुकेसन फन्डले उनीहरुको शैक्षिक क्षेत्रमा सहयोग गरिराखेको छ । यसले गर्दा उनीहरु शिक्षाको उज्यालो पाउनबाट वञ्चित बनेका छैनन् तर पवित्रालाई आगामी भविष्यको चिन्ताले पनि उत्तिकै पिरोल्ने गरेको छ । तीन सन्तानमध्येमा जेठी छोरी भएकै कारण उनलाई अझ बढी जिम्मेवारी थपिएको उनको भनाइ छ । 

हाल पवित्राले अध्ययन गर्दै आएको होली भिजन आवासीय माध्यमिक विद्यालय लिबाङ, रोल्पाका प्रिन्सिपल ओमप्रकाश केसीका अनुसार पवित्रा र उनका दुई भाइ पढाइमा उत्तिकै लगनशील र मेहनती छन् । अब निकट भविष्यमा पवित्रा एसएलसी उत्तीर्ण गरेर जाँदैछिन् । 

अबको उनको भविष्यका बारेमा विद्यालयले केही गर्न नसक्ने भएको हुँदा यस विषयमा सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । उनका अनुसार अवसर पाए यी तीनै दिदीभाइ सक्षम र सबल नागरिकको रुपमा परिचित हुन सक्नेछन् । 

यस्तै, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाका अध्यक्ष महेश न्यौपानेले पत्रकार धनबहादुर रोकाको अवस्थाबारेमा राज्यले चासो र चिन्ता गर्नैपर्ने बताए । पत्रकार धनबहादुरको अवस्था यथाशीघ्र सार्वजनिक हुनुपर्ने उनको जोड छ । 

उनका अनुसार धनबहादुरका परिवारका सदस्य धनबहादुरलाई जिउँदो भेट्ने तीव्र चाहना बोकेर बाँचिराखेका छन् । उनीहरुको आर्थिक अवस्था पनि कमजोर भएका कारण सामान्य नागरिकभन्दा पत्रकारको परिवारलाई फरक ढङ्गबाट हेर्नुपर्ने उनको भनाइ छ । 

हाल छात्रवृत्तिकै भरमा अध्ययन गरिराखेका बालबालिकाको रोजगारीको ग्यारेन्टी राज्यले लिनैपर्छ, उनले भने । यसका साथै आयआर्जनका लागि पनि सोच्न सकेमात्र उनीहरुको परिवारलाई थप राहत मिल्नेछ भने धनबहादुरकी श्रीमतीलाई पनि आयआर्जनका लागि राज्यले व्यवस्था मिलाउनु पर्ने अध्यक्ष न्यौपानेको माग छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..