यी हुन् राष्ट्रिय सभामा नयाँ अनुहार देखाउनेहरु

एक महिनाअघि भएको निर्वाचनमा विजयी भएका राष्ट्रिय सभा १८ जना सदस्य यतिवेला गुमनामजस्तै छन् । कहीँकतै केही बोलेका देखिँदैनन् । आ–आफ्नै क्षेत्रमा रहेका उनीहरू फुर्सदिला पनि छन् ।

rastiya sabhanews kantipathFile Photo

यो फुर्सदको समयमा उनीहरूले के सोचिरहेका होलान् ? अर्थात् अब राष्ट्रिय सभामा गएपछि के गर्छु भन्ने योजना बनाएका होलान् ? ‘जातीय, लैंगिक, भाषिक, क्षेत्रीयलगायत विभेद अन्त्यका लागि कानुन निर्माण सँगैसँगै विकास निर्माणमा सहयोग गर्नु मेरो मुख्य उद्देश्य छ,’ प्रदेश १ बाट राष्ट्रिय सभामा निर्वाचत गोपी अछामीले भने । अहिले विराटनगरमै पार्टीकै काममा समय व्यतीत गरिरहेका उनले अब सदनमा के–के विषय उठाउने भन्ने समेत निर्धारण गरिहेको बताउँछन् । दलिततर्फबाट विजयी भएका उनले मौलिक हकलाई सुनिश्चित गर्ने कानुन निर्माणमा सहयोग गर्नेदेखि शिक्षा, स्वास्थ्य, आवासलगायत विषयमा कानुन निर्माणका सदनमा उठाउने बताउँछन् ।

राष्ट्रिय सभामा प्रदेश २ बाट नेकपाको तर्फबाट निर्वाचित तुलसा दाहाल विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छिन् । उनी प्रदेश २ को उन्नति र प्रगतिका लागि सक्दो भूमिका निभाउने बताउँछिन् । ‘हाम्रा पुर्खाले मधेसको जल, जमिन र प्राकृतिक स्रोतलाई आफ्नो माने, तर मधेसी समुदायलाई आफ्नो मान्न सकेनन् ।

अब त्यो भूल हामीले गर्नुहुन्न,’ दाहाल भन्छिन्, ‘हामी नयाँ कानुन बनाउँदा खासगरी मधेसीको पहिचान, प्रदेश २ को उन्नति र प्रगतिका लागि सक्दो भूमिका खेल्नेछौँ ।’ उनी विकास निर्माणमा आफ्नो प्रत्यक्ष सरोकार नरहे पनि समन्वय भने गर्ने बताउँछिन् । ‘विकास निर्माणमा हाम्रो प्रत्यक्ष सरोकार रहँदैन, तर हामी समन्वय गर्न सक्छौँ । स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्न सक्छौँ । यहाँको वस्तुगत आवश्यकतालाई मध्यनजर गरेर विकास निर्माणका काममा पनि सहयोग पु¥याउँछौँ,’ दाहालले भनिन् ।प्रदेश २ बाटै निर्वाचित राधेश्याम पासवान राष्ट्रिय सभामा आफ्नो भूमिका निभाउन कुनै कसर बाँकी नराख्ने बताउँछन् । ‘हाम्रो जुन भूमिका हुन्छ, राष्ट्रिय सभामा त्यो भूमिका खेल्छौँ,’ पासवान भन्छन् ।

उनीहरूजस्तै गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भगवती न्यौपाने न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘हामीले लैंगिक, वर्गीय, क्षेत्रीयलगायत क्षेत्रमा रहेको विभेद अन्त्य गर्ने भनेर राजनीतिमा प्रवेश गर्दादेखि नै उठाएको मुद्दा हो,’ न्यौपाने भन्छिन्, ‘त्यसैले जनताको समानता र न्यायको पक्षमा जहिल्यै आवाज उठाउनेछु । समानतामा आधारित शिक्षा नीति बनाउन भूमिका खेल्नेछु ।’ सरकारले सुरु गरेको आर्थिक क्रान्ति र समृद्धिको मुद्दालाई सहयोग हुनेगरी भूमिका खेल्ने उनको भनाइ छ । ‘हामीले अहिले उठाउनुपर्ने महत्वपूर्ण अर्को विषय आर्थिक क्रान्ति र समृद्धिको मुद्दा पनि हो । त्यसैले सरकारले ल्याएको खुसी नेपाली समृद्ध नेपाल नारालाई पूरा गर्नमा सहयोगी भूमिका हुनेछ,’ न्यौपाने भन्छिन् ।

राष्ट्रिय सभामा भित्रिन लागेका १८ जना नयाँ सदस्यले आफ्नो भूमिकालाई लिएर नयाँ–नयाँ योजना बनाएका छन् । यो एक महिनाको फुर्सदको समयमा उनीहरू आफ्नै क्षेत्रमा जनपक्षीय कानुन निर्माणसँग आर्थिक समृद्धि र विकास निर्माणका लागि समन्वयात्मक भूमिका निभाउने बताउँछन् ।

सुदूरपश्चिमबाट विजयी भएका तारामान स्वाँर समसामयिक विषय, राष्ट्रियताको सवाल र सुदूरपश्चिमका जनताका सुख दुःखका विषय प्राथमिकतामा राख्ने लक्ष्य बनाएको बताउँछन् । ‘देश र जनताको हितमा समसामयिक मुद्दालाई उठाउने नै छु । योबाहेक राष्ट्रियताका सवाल र उत्पीडनमा परेको सुदूरपश्चिमका विषयलाई जोडदार रूपमा सदनमा उठाउनेछु,’ स्वाँर भन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने भएकाले ९ माघमा निर्वाचन भएको थियो । त्यसयताको एक महिनासम्म फुर्सदमा रहेका नवनिर्वाचित सदस्यहरू पार्टीको काममा पनि लागेका छन् । पार्टीकै काममा व्यस्त रहेकी बागमती प्रदेशबाट विजयी गंगा बेल्बासेले फरक जिम्मेवारी पाएकाले जनपक्षीय काम गर्ने बताउँछिन् । ‘संगठन निर्माणको भूमिकामा काम गरिरहेको मेरा लागि यो नयाँ क्षेत्र हो,’ बेल्वासे भन्छिन्, ‘राष्ट्रिय सभामा विभिन्न विधेयक छलफलका चरणमा रहेका छन् । कतिपय विधयेक पेस हुँदै छन् । मूलतः राष्ट्रिय सभामा कानुन निर्माणका काम हुने भएकाले जनपक्षीय र न्यायपूर्ण कानुन निर्माणमा मेरो भूमिका रहनेछ ।’ उनी राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताका मुद्दामा आवाज उठाउने बताउँछिन् ।

कर्णाली प्रदेशबाट विजयी मायाप्रसाद शर्मा विकास निर्माण, आर्थिक उन्नति, सांस्कृतिक रूपान्तरण र कर्णाली प्रदेशमा रहेका कुप्रथालाई हटाउन जनचेतना फैलाउने विषयमा संसद्मा आवाज उठाउन भूमिका खेल्ने बताउँछिन् । ‘हुम्लामा सडक नपुगी देश विकास हुन सक्दैन । डोल्पाका बासिन्दाले पेटभर खान नपाएसम्म देशमा समृद्धि आउन सक्दैन । कर्णालीमा अझै पनि महिला महिनावारी र सुत्केरी हुँदा घरदेखि बाहिरिनुपर्छ । त्यसैले यस्ता कुप्रथा हटाउन जनचेतना जगाउनुपर्ने विषयमा पहल गर्नेछु,’ शर्मा भन्छन्, ‘जनताका हितमा हुने कानुन निर्माणमा त सधैँ अहम् भूमिका हुने नै छ ।’ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका अधिकांश सदस्यले समानताका लागि वकालत गर्ने र जनताका हितमा कानुन निर्माण गर्न सहयोग गर्ने योजना बनाएको बताएका छन् ।

राष्ट्रिय सभाका नयाँ अनुहार
एक महिनाअघि भएको निर्वाचनमा प्रदेश १ बाट इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल, प्रदेश २ बाट नेकपाको तर्फबाट तुलसा दाहाल र राधेश्याम पासवान, राजपाको तर्फबाट शेखरप्रसाद सिंह र मृगेन्द्रकुमार सिंह राष्ट्रिय सभामा सहभागी हुँदै छन् । त्यस्तै, बागमती प्रदेशबाट गंगा बेलबासे र वेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, प्रदेश ५ बाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई, कर्णाली प्रदेशबाट सुनिता बिसी र मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँर राष्ट्रिय सभामा पुगेका छन् ।

राष्ट्रिय सभाका १९ सदस्यको २० फागुनमा समयावधि सकिँदै छ । त्यसका लागि १८ जना निर्वाचित भइसकेका छन् । उनीहरू सबै नयाँ अनुहार हुन् । एकजनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछिन् । नयाँ पत्रिका

Kantipath Media

यो छुट्टाउनु भो कि..