रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

dalit mrityuपश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि तीन जनाको मृत्यु र तीन जना बेपत्ता प्रकरणमा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीले पक्राउ परेका १२ जनाविरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बताए। उनका अनुसार पीडितमध्येका एक परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धान सुरु भएको छ।

प्रहरीले वडाअध्यक्ष र युवतीका बुबाआमासहित गाउँलेलाई पक्राउ गरेको छ। किटानी जाहेरी परेका अन्य ८ जनाको पनि खोजी भइरहेको डीआईजी शाहीले जानकारी दिए। यसैबीच घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरीबाट एसएसपीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।

प्रदेश-६ का प्रहरी प्रमुख बसन्तराज पन्तले एसएसपी पोषराज पोखरेलको नेतृत्वमा प्रहरी निरिक्षकसमेत सम्मिलित टोली मंगलबार घटनास्थल पुगेको हो। घटनाले लिएर संघीय संसद चर्किरहेका बेला अनुसन्धानलाई गहन बनाउन एसएसपीको टोली पठाइएको डीआईजी पन्तले जानकारी दिए।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए। उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ।

नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको सेति नदिको पुलमुनी भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो।

अर्का एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो। घटनापछि समूहका १२ जनालाई भने सोतीका गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए। बेपत्ता तीन जनाको अवस्था अझै अज्ञात छ। उनिहरुले भेरी नदीमै हाम फालेको समूहका अरु सदस्यले बताएका छन्। सोती गाउँको किनारबाट बग्छ भेरी नदि। गाउँले वरिपरीबाट घेरा हालेर भेरी नदितीर मात्र भाग्ने परिस्थिती बनाएको समूहका बाँच्न सफल सदस्यहरुको भनाई छ। जाजरकोट र पश्चिम रुकुममा डीएसपीले जिल्लाको नेतृत्व गर्छन्। मृतक युवाहरुको शव पनि परिवारले बुझ्न मानेका छैनन्।

पश्चिम रुकुममा एउटा मात्र प्रतिनिधि सभा सिट छ। नेकपाका जनार्दन शर्मा प्रभाकर यो जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित हुन्। चौरजहारी नगरपालिकाका मेयर पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधी हुन्। बुधबारको संसद बैठकमा जनादर्न शर्माले घटनाको निष्पक्ष छानबिन हुने भन्दै राजनीतिक रङ नदिन आग्रह गरेका छन्।

अन्तर्जातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन्। चौरजहारी नगरपालिकाको सोतीमा गत शनिबार भएको घटनालाई रुकुमका जनप्रतिनिधिले तोडमोड गर्न खोजेको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन्।

वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्वगृहमन्त्री जनार्दन शर्माको संरक्षणमा रहेकाले न्याय पाउनेमा पीडित परिवारले आशंका गरेका हुन्। सोतीका स्थानीय र केही जनप्रतिनिधिले नै लकडाउन उलंघन गर्दै हुल आएको र उमेर नपुगेकी केटीलाई जर्बजस्ती लिन खोजेकाले गाउँलेले नियन्त्रणमा लिने क्रममा भागदौड हुँदा भेरीमा खसेर ज्यान गएको बयान दिएका छन्। साथै उनीहरूले यो घटनालाई जातीयतासँग जोड्न नहुने भन्दै घटनालाई विषयान्तर गर्ने प्रयास गरिरहेको पीडितको भनाइ छ।

तर कथित उपल्लो जातको भनिने ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले लिन खोजेको भन्दै पूरै गाउँ नै उर्लिएर आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो। तीनजना अझै बेपत्ता छन्। मंगलबार संघीय संसद्मा रुकुमपश्चिमबाट निर्वाचित जनार्दन शर्माले पनि यो घटनाबारे सोही आशयको धारणा राखेपछि घटनामा संंलग्नलाई राजनीतिक संरक्षण गर्न खोजिएको पीडित परिवारको आशंकामा थप बल पुगेको हो। रुकुम प्रहरीले नै अनुसन्धान गर्ने र मुघा पनि जिल्ला अदालत रुकुममा नै दर्ता हुने भएपछि आशंका बढेको हो।

मृतक नवराज विकका बुवा मोहनलालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए। बयान दिन रुकुम जाँदा झन्झिटिलो हुने र उतैबाट अनुसन्धान तथा मुद्दा चलाए चलखेल हुनसक्ने उनको आशंका छ। जाजरकोट प्रहरीले नै घटनाबारे अनुसन्धान गर्नुपर्ने र मुद्दा पनि जाजरकोटबाटै चलाइनुपर्ने उनीहरूले माग गरेका थिए। पीडितले माग सम्बोधन नहुँदासम्म शव नबुझ्ने अडान लिएका थिए। तर जुन जिल्लामा घटना भएको हो सोही जिल्लामा मुद्दा चल्ने कानुनी प्रावधान र स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्ने आश्वासन दिएपछि मंगलबार शव बुझ्न राजी भएका हुन्।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका छन्। वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए। दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार लास बुझ्न सहमत भएका हुन्। चौरजहारीका टीकाराम सुनारको शव पोष्र्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधबार पोष्र्टमार्टम गरिने पन्तले बताए। हराएका तीन जनाको खोजी कार्य भइरहेको उनले जानकारी दिए। भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, ४ का सन्दीप विक अझै बेपत्ता छन्। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..