समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए सामूहिक राजीनामा

समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।

समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए ।

खतिवडाले भने, ‘राजीनामा दिनुको कारण भनेको हामीलाई काम गर्न दिने वातावरण नै बन्द हुनु नै हो । किनभने परिषद्ले आफ्नो बजेट बनाउनु पर्‍यो । त्यसका लागि हामीले प्रधानमन्त्रीलाई एक चौथाइ भए पनि बजेट निकासा गरिदिन आग्रह ग¥यौँ, तर उहाँले मान्नुभएन ।

अधिकांश ज्यालादारी र अस्थायी कर्मचारीको म्याद असार मसान्तमै सकिएको थियो, उनीहरूको म्याद थप गरौँ भन्दा पनि उहाँहरूले आफूनिकटको मान्छेको मात्रै म्याद थप गर्न मान्नुभयो । उहाँहरूले व्यक्ति तोकेर म्याद थप गर्ने र नगर्ने लिष्ट पठाउनुभयो, जुन हामीले स्वीकार गर्न सकेनौंँ ।’

उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको र राजीनामा नदिए हटाउने तयारी भएको भन्दै धम्काउने गरिएको थियो ।

उपाध्यक्ष खतिवडाका अनुसार परिषद्मा राजनीतिक हस्तक्षेप बढेको र प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयबाट पटक पटक राजीनामाका लागि दबाब दिएपछि मार्ग प्रशस्त गरिदिएको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..