सहकुल थापाको एआईजीमा बढुवा : भावी आईजीपीमा दुई प्रतिष्पर्धी

मन्त्रिपरिषद्ले डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले यसअघि सिर्जना गरिएको एआईजीको थप दरबन्दीमा थापालाई बढुवा गर्ने निणय गरेको हो । नेपाल प्रहरीमा अब एआईजीको संख्या ५ पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट गत साता मात्रै प्रहरी प्रधान कार्यालय प्रदेश प्रहरी समन्वय निर्देशनालयमा सरुवा भएका थापालाई असार १४ गते साँझ बसेको बढुवा सिफारिस समिति बैठकले एआईजीमा सिफारिस गरेको थियो

असार पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा साधारण (प्रशासन) सेवातर्फ एआईजीको एउटा दरबन्दी थपेको थियो । त्यही थप भएको दरबन्दीमा थापाको बढुवा भएको हो । हाल प्रहरीमा कार्य तथा अपराध अनुसन्धान, प्रशासन तथा मानव स्रोत विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी छ । २०४९ चैत ११ मा सेवा प्रवेश गरेका थापा गत वर्ष डीआईजीमा बढुवा भएका थिए

हालका महानिरीक्षक शैलेश थापा क्षत्रीसहित २०४९ वैशाख १९ मा सेवा प्रवेश गरेका अधिकृतले अबको १० महिनापछि ३० वर्षे सेवा हदका कारण अवकाश पाउने छन् । त्यसपछि २०४९ चैत ११ मा सेवा प्रवेश गरेकामध्येबाट प्रहरीले नेतृत्व पाउनेछ ।

२०७९ बैशाख १९ गतेपछि प्रहरी नेतृत्वमा पुग्नका लागि एआईजी विश्वराज पोखरेल र सहकुल थापाबीच प्रतिस्पर्धा हुने भएको हो। हालका आईजीपी शैलेश थापा र एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्नकुमार कार्कीले आगामी वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण एकसाथ अवकाश पाउने छन्। त्यसपछिको १० महिना नेतृत्वमा पुग्नका लागि थापा र पोख्रेलबीच प्रतिस्पर्धा हुनेछ। पोख्रेल ७ महिना पहिले नै एआईजीमा बढुवा भएको भए पनि एउटै आर्थिक वर्षभित्र भएकाले दुवै उत्तिकै दाबेदार हुनेछन्।

विश्वराज र सकहुल २०४९ सालमा आईजीपी शैलेश थापासँगै एउटै विज्ञापनमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका हुन्। आईजीपी थापासहित ६० जना २०४९ वैसाख १९ गते निरीक्षकमा भर्ना भए। सहकुल र विश्वराज भने त्यतिबेला वैकल्पिकको सूचीमा थिए। त्यही वर्षको चैत २९ गते उनीहरुलाई पनि सरकारले निरीक्षकमा भर्ना लियो। १० महिनापछि भर्ना भएकै कारण अहिले उनीहरुको नेतृत्वसम्मको बाटो खुलेको हो। २०६२ जेठ २२ गते डीएसपीमा र २०६९ माघ ११ गते एसपीमा सँगै बढुवा भएका थिए।

एसएसपीबाट भने विश्वराजले सहकुललाई छाडेर शैलेशलाई भेटे। पोख्रेल २०७४ साउन १९ गते र थापा २०७५ जेठ ३ गते बढुवा भएका थिए। विश्वराज अघिल्लो ब्याचसँगै नवौं नम्बरमा बढुवा हुँदा थापा अर्को ब्याचबाट पहिलो नम्बरमा बढुवा भए।

भर्ना हुँदादेखि सधैं पाँचौं वरियतामा रहेका विश्वराज पोख्रेलले एसएसपी हुँदा नै अघिल्लो ब्याचका समेत १० जनालाई पछाडि पारे। एसपीमै छुटेका सहकुल १० महिनापछि एक नम्बरमा एसएसपी त भए तर उनी एसएसपी भएको केही समयपछि फेरि विश्वराजले अर्को फड्को मारे।

२०७६ वैशाख १९ गते पोख्रेल डीआईजीमा बढुवा भए। तत्कालीन डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा ज्यान गएपछि रिक्त डीआईजीमा पोख्रेल बढुवा भएका थिए। त्यसपछि भने विश्वराजले लिएको गति सहकुलले पनि समाएको देखियो। २०७६ चैत २८ गते १० जना डीआईजी बढुवा सिफारिशमा पर्दा सहकुलको अर्थपूर्ण छलाङ देखियो। भर्ना भएदेखिकै माथिल्लो वरियतामा रहेका र १० महिना पहिले नै एसएसपी भएका ब्याचीलाई सहकुलले पनि उछिने। उनी डीआईजी भएसँगै भावी आईजीपीको प्रतिस्पर्धामा देखिएका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..