एमालेमा १० बुँदे कार्यान्वयन : ओलीको ‘लोप्पा’, बैठकमा नआउने तेश्रो धारको ‘घुर्की’ !

नेकपा एमालेको तेस्रो धारका नेताहरु पार्टी एकता गर्न बनाइएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै केन्द्रिय कमिटी बैठकमा उपस्थित नहुने भनिरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले त्यसको ठाडै प्रतिवाद गरेका छन् । एमाले तेस्रो धारका नेताहरुको मागे र अहिलको बैठकको एजेण्डा फरक रहेको भन्दै ओलीले उनीहरुको मागको ठाडो प्रतिवाद गरेका हुन् ।

अध्यक्ष ओलीले शुक्रबारको बैठकमा भने, ‘यो बैठकका एजेण्डा फरक छन् । विधान महाधिवेशनसँग सम्बन्धित एजेण्डा भएकाले यससँग केन्द्रित रहेर मात्रै छलफल हुन्छ । तपाईंहरुको यो माग यो बैठकको एजेण्डा नै बन्न सक्दैन ।’

अध्यक्ष ओलीले दायाँबायाँ नगरी विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले विभिन्न प्रतिवेदनमाथि गहिरोमा पुगेर छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा व्यक्त गरे ।

तर, तेस्रो धारका नेताहरुले १० बुँदे सहमती अघि नबढी विधान महाधिवेशन अघि नबढ्ने भन्दै बैठकमा उपस्थित नहुने चेतावनी दिएका थिए । तर, ओलीले उक्त मागलाई बेवास्ता गर्दै आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए ।

बैठकमा केही नेताहरूले १० बुँदे सहमति र विधान महाधिवेशनका प्रतिनिधि छनोटबारे प्रश्न उठाएपछि तेस्रो धारका अन्य नेताहरूले पनि उनीहरूको मागमा सहमति जनाएका थिए । ओलीले बरु त्यसबारे स्थायी कमिटीमा बसेर छलफल गर्न सकिने बताएका थिए । त्यसपछि तेस्रो धारका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए । उनीहरूले आफ्ना माग सम्बोधन नभए शनिबारको केन्द्रीय समिति बैठक र त्यसपछिका कुनै पनि बैठकमा सहभागी नहुने चेतावनी नै दिएका छन् ।

जेठ २ मा फर्कँदा भीम रावल सुदूरपश्चिमको इञ्चार्ज हुनुपर्नेमा अध्यक्ष ओलीले माओवादीबाट आएका लेखराज भट्टलाई नै इञ्चार्जका रूपमा काम गर्न निर्देशन दिएका छन् । यता बागमती प्रदेशमा पनि अष्टलक्ष्मी शाक्य इञ्चार्ज हुनुपर्नेमा रामबहादुर थापा बादलले उक्त भूमिका निर्वाह गरिरहेका छन् । यस्तै प्रदेश १ मा भीम आचार्यले इञ्चार्जको भूमिका निर्वाह गर्न पाएका छैनन् ।

एमाले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले यसअघि १० बुँदे प्रस्ताव हुबहु भन्दा पनि रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने भन्दै बेवास्ता गर्दै आएको तेस्रो धारका नेताहरूको गुनासो छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसको तयारी स्वरुप एमालेले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको छ ।

माधव नेपाल समूहमा सहभागी नभई एमालेमै रहेका तेस्रो धारका १० नेताहरु आफूनिकट केन्द्रिय सदस्यले उठाएको मुद्धामा सहमती जनाएका छन् । तर, अध्यक्ष ओलीले उनीहरको मागलाई अहिले सम्बोधन गर्न चाहेका छैनन् । नेपालको साथ छाडेर भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त एमालेमा फर्किएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..