‘एमालेलाई संसद फोबिया’ : २ पटक बिघटन, पटक पटक अवरोध !

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसद्को सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सर्त तेर्साउँदै आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको हो । संसद विघटन गर्दा २ पटक अदालतबाट मुद्धा हारेको एमालेले ब्युंतिएको संसदलाई पटक पटक अवरोध गर्दै आएको छ ।

माधवकुमार नेपालसहित १४ जना सांसद्लाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद् सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ रहँदै आएको छ । ‘एमालेको निर्णय अनुसार १४ सांसद्लाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यी दुईवटा सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहने छ ।’

उनका अनुसार सर्वदलीय बैठकमा दलहरूले दिएको सुझावलाई पनि सभामुख सापकोटाले स्वीकार गरेका छैनन् । ‘हिजो सर्वदलीय बैठकमा दलहरूले दिएको सुझाव पनि उहाँले स्वीकार गर्नु भएको छैन, अहिलेसम्म एमालेसँग उहाँले संवाद बढाउनु भएको छैन्,’ भट्टराईले भने, ‘संवाद र छलफलबाट उहाँ भागिरहनु भएको छ, सभामुख भएर प्रतिपक्षीसँग पदीय जिम्मेवारी पूरा गर्नुभएको छैन ।’

तर भट्टराईको भनाई मेल खादैन, सभामुखले बोलाएको सर्वदलिय बैठकमा एमाले स्वयम् उपस्थित भएको थिएन । ‘एकातिर छलफलमा बोलाउंदा नजाने, अर्कोतिर संसदलाई बन्धक बनाई राख्ने ? एमालेलाई संसद फोबिया भएको छ, सर्वदलिय बैठकमा सहभागी एक नेताले बताए । अर्का एक कांग्रेस सांसदले ‘आफैले विघटन गरेको संसदमा बस्न लाज भएको हो त ?’ भन्दै प्रश्न गरेका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष हुनु दुर्भाग्यपूर्ण भनेका छन् । सभामुख अग्नि सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा नेपालले आफूहरु र सभामुखप्रति लक्षित एमालेका अभिव्यक्ति र संसदमा भएका नाराबाजी आपत्तिजनक रहेको बताए ।

नेपालले भने, ‘प्रमुख प्रतिपक्षले संसदमा प्रयोग गरेका शब्दहरुले सभ्यताको सीमा नाघेका छन् । प्रमुख प्रतिपक्षका नेता केपी ओलीसँग अरुको मानमर्दन गर्ने बाहेक कुनै संस्कार नै छैन । यस्तो प्रतिपक्ष हुन हाम्रो लागि दुर्भाग्य हो ।’ ओलीले संसद नै नचाहेको भन्दै नेपालले संसद पनि चलाउने र संवाद पनि जारी राख्ने ढंगले जान सभामुखलाई सुझाव दिएका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..