एमाले विवाद ज्यूँका त्यूँ : अदालतको फैसला प्रभावित पार्न खोजेको नेपाल पक्षको आरोप

एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदल र यसका सदस्यहरूले लगातार छलफल गरिरहे पनि सहमति जुट्न सकेको छैन । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि कार्यदल तहमा दुई चरणको छलफल चले पनि प्रगति भएको छैन । सहमतिका लागि वार्तामा बसेका कार्यदलकै सदस्यहरूले आफूहरू दस दिन अगाडिकै अवस्थामा रहेको बताएका छन् ।

नेताहरूले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउँदै सहमति जुटाउन कोसिस गरिरहेका छन् । कार्यदलको बैठक सोमबार यता लगातार बसिरहेको छ । बुधबार र बिहीबार बिहानको बैठकपछि कार्यदल सदस्यहरूले सहमतिनजिक पुगेको र एक दुई दिनमै टुंगो लाग्ने दाबी गरेका थिए ।

उक्त बैठकबाट बाहिरिँदै गर्दा कार्यदल सदस्य घनश्याम भुसालले भने दस दिनयता कुनै प्रगति नभएको प्रतिक्रिया दिए । बैठकमा पौडेल उपस्थित नहुनुलाई नेपाल पक्षका नेताहरूले शंकाको दृष्टिकोणले हेरेका छन् । ‘उहाँ (पौडेल) मन्त्रिपरिषद् बैठक छ भनेर नआउनु बहाना मात्रै हो । साँच्चिकै पार्टीको एकता चाहेका हुन् भने यस्ता सानातिना बहाना बनाउने थिएनन्,’ नेपाल पक्षका एक नेताले भने, ‘ओली पक्षबाट अदालतको मुद्दा र पाँच दलको गठबन्धनमा आशंका पैदा गर्ने तरिका मात्रै अपनाइएको देखिन्छ । नत्र किन जेठ २ गतेमा जाँदैनन्, किन अदालतको मुद्दामा मात्रै केन्द्रित भएका छन् ?’

ओलीको गतिविधिले पार्टीलाई एकताबद्ध बनाइराख्ने चाहनामा कुठाराघात भएको ठहर यस अघि नै खनाल–नेपाल समूहले गरेको छ । यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् । कार्यदलको बैठकपछि एक नेताले भने- ‘उहाँहरुमा पार्टी एकताप्रति कुनै रुची देखिएन, यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखियो ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..