प्रधानन्यायाधीश विवादबारे सत्ता गठबन्धनले बल्ल खोल्यो मुख

  • 2 months अगाडि

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वाेच्च अदालतमा नेपाल बार एसोसिएसन तथा सर्वाेच्चकै न्यायाधीशहरूले आन्दोलन गरिरहेको झन्डै महिना दिन हुन लाग्दा पनि राजनीतिक दलहरू मौन बसेको भन्दै आलोचना भइरहेका बेला सत्ता गठबन्धनमा आबद्ध पाँच दलले यस विषयमा मुख खोलेका छन्।

गठबन्धनका दलद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ‘सर्वाेच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण’ जनाएको हो। तर उसले यसमा आफूले पहल गर्ने भनेको छैन। ‘यथाशीघ्र निकास हुनुपर्दछ’ भन्दै गठबन्धनकाे समन्वय समितिले ‘सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुने आशा’ व्यक्त गरेको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएपछि मंगलबार पहिलोपटक समन्वय समितिको बैठक बसेको हो। बैठकको निर्णय नम्बर २ मा भनिएको छ, ‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। राज्यको महत्त्वपूर्ण अंगको रूपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्नेमा हामी आशा गर्दछौं।’