बारको तेश्रो चरणको आन्दोलन आजदेखि : पेल्ने मुडमा जबरा

  • 2 months अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएनले आजदेखि दोस्रो चरणको आन्दोलन गर्दै छ । सर्वाेच्च अदालतका न्यायाधीशहरूले पनि उनको इजलास बहिष्कार यथावत् राख्ने बताएका छन् । प्रधानन्यायाधीश जबरा आजैदेखि ‘पेलेरै’ अघि बढ्ने मुडमा देखिएका छन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएनले आजदेखि कात्तिक ३० गतेसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आजदेखि ३० गतेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिने नेपाल बारले जनाएको छ।

आन्दोलनमा काठमाडौं उपत्यकाका सबै कानुन व्यवसायी सहभागी हुने भएकाे उल्लेख गर्दै नेपाल बारले यहाँका जिल्ला अदालत, उच्च अदालत र विभिन्न न्यायाधीकरणमा बिहान १० देखि १२ बजेसम्म सुनुवाइ रोक्न माग गरेर पत्राचार गर्ने निर्णय गरेको छ। कात्तिक २८ देखि ३० गतेसम्म देशभरका आफ्ना ९० वटै एकाइमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिने नेपाल बारले जनाएको छ।

यस्तै प्रधानन्यायाधीशले अध्यक्षता गर्ने न्यायपरिषद्, न्याय सेवा आयोगजस्ता निकायका बैठकमा सहभागी नहुन नेपाल बारले सम्बन्धित सदस्यहरूलाई आग्रह गरेको छ। बारले प्रधानन्यायाधीश जबराले सर्तविपरीत आफ्नो पनि इजलास तोकेमा त्यसमा नबस्न सर्वोच्च अदातलका बाँकी सबै १९ न्यायाधीशलाई आग्रह गरेको छ।

कात्तिक ३० गतेसम्म पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप आन्दोलनका कार्यक्रम गरिने चेतावनी नेपाल बारले दिएको छ। सर्वाेच्च अदालतका न्यायाधीशहरूले पनि प्रधानन्यायाधीश जबरालाई बहिष्कार गर्ने अडान कायम राखेका छन्।

सोमबार इजलास जानुअघि छलफलमा जुटेका उनीहरूले बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा पनि प्रधानन्यायाधीशसँग इजलासमा नबस्ने सहमति गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने पेलेरै अघि बढ्ने निष्कर्षमा पुगेका छन्। उनले आज मंगलबारदेखि सबै मुद्दामा पेसी तोक्ने तयारी गरेका हुन्।

१५ दिनदेखि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा सुनुवाइ नहुँदा न्याय पाउने प्रक्रिया ठप्प छ। न्यायाधीशहरूको सर्तअनुसार बन्दी प्रत्यक्षीकरण बाहेक मुद्दाको सुनुवाइ हुन सकेको छैन। प्रधानन्यायाधीश जबरा राजीनामा पनि नदिने अडानमा छन्।