लुक्ला विमान दुर्घटना: विमान र हेलिकप्टर ठोक्किँदा तीन जनाको मृत्यु

सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेन्जिङ-हिलारी विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार घटनामा परेर समिट एअरको विमानका एक सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकको मृत्यु भएको हो।

उनका अनुसार दुर्घटनामा मनाङ एयरको हेलिकप्टर र समिट एयरको विमानका मुख्य चालक घाइते भएका छन्। उनीहरूलाई हेलिकप्टरबाट काठमाण्डू पठाइएको छ।

उडान गर्न लाग्दा विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडतिर गएको लुक्ला विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीले बीबीसी नेपालीलाई बताए। तर विमान धावनमार्गबाट चिप्लिनुको कारण खुलेको छैन।

सो विमानले मनाङ एअरको हेलिकप्टरलाई धेरै श्री एअरलाइन्सको अर्को हेलिकप्टरलाई केही क्षति पुर्‍याएको छ। धावनमार्गसँगै रहेको हेलिप्याडमा ती हेलिकप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका थिए।

विमान पहिले मनाङ र त्यसपछि श्री एअरलाइन्सको हेलिकप्टरमा ठोक्किएको अधिकारीले बताए। “तर श्री एयरलाइन्सको हेलिकप्टरमा भने खासै क्षति पुगेको छैन,” उनले भने।

यसअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले तेन्जिङ-हिलारी विमानस्थलमा सो घटनाको पुष्टि गर्दै उद्धार समन्वय केन्द्रलाई परिचालित गर्न निर्देशन दिइएको बीबीसी नेपालीलाई बताएका थिए।

आइतवार बिहान ९:२२ बजे लुक्लाबाट रामेछाप उड्न लाग्दा नाइन-एन एमएएच कल साइन भएको उक्त विमानमा दुई चालक र एक परिचारिका रहेको अधिकारीहरूले पुष्टि गरेको बीबीसी संवाददाता सुजाता तामाङले बताइन्।

प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा सो विमान गएर जोतिएको थियो।

प्रत्यक्षदर्शी विक्रम राजभण्डारीका अनुसार घटना हुँदा “बम पड्किएजस्तो ठूलो आवाज” सुनिएको थियो। उनी भन्छन्, “त्यो सुनेपछि म दौडिँदै त्यहाँ गएँ। विमान दुईवटा हेलिकप्टरसँग ठोक्किएको रहेछ।”

“म त्यहाँ पुग्दा विमानबाट धुवाँको मुस्लो उडिरहेको थियो,” राजभण्डारीले बीबीसी नेपाली सेवासँगको कुराकानीमा भने। यहाँ प्रयोग गरिएका तस्बिरहरू राजभण्डारीले खिचेका हुन्।

सोलुखुम्बुस्थित बीबीसी संवाददाता सुजाता तामाङका अनुसार विमानस्थलमा अरू विमानको उडान सुरु भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार लुक्लामा उडानका लागि मौसम अनुकूल नै थियो। अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ।

सन् २००८ मा लुक्ला विमानस्थलमा भएको दुर्घटनामा १२ जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो। एकछेउमा सात सय मिटर अग्लो भीर भएको लुक्लालाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ। समुद्र सतहभन्दा २८ सय मिटरको उचाइमा रहेको सो विमानस्थल पाँच सय ५० मिटर लामो छ।

kantipath
fnnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..