विश्वभर फैलिँदै ओमिक्रोन भेरियन्ट

  • 2 months अगाडि

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विश्वभर फैलिन थालेको छ। दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको एक महिना नबित्दै यो भाइरस विश्वभर फैलिएको हो। बुधबार अमेरिकामा पनि ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमित फेला परेका छन्। पूरा डोज कोरोना खोप लगाएका व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको हो। दक्षिण अफ्रिकाबाट नोभेम्बर २२ मा अमेरिका आएका ती व्यक्तिमा सात दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

ओमिक्रोन भेरियन्टबारे अझै पनि धेरै कुराहरु खुल्न सकेको छैन। अहिलेसम्म स्पेन, क्यानडा, बेलायत, अष्ट्रियालगायतका मुलुकमा यो भेरियन्ट देखिइसकेको छ। बुधबार साउदी अरेबिया र यूएईमा पनि यो भेरियन्टसहितको संक्रमण पुष्टि भएको थियो।

सुरुवाती संकेतले यो भेरियन्ट निकै संक्रामक रहेको देखाएको छ। यद्यपि दक्षिण अफ्रिकाको स्वास्थ्य नियामकले यो भेरियन्टमा पनि प्रयोग भइरहेका कोरोना खोपले काम गर्ने बताएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो भेरियन्ट कति संक्रामक छ भन्ने कुरा अबको केही दिनभित्र थाहा हुने बताएको छ।