रोकिएन काठमाडौंमा मोटरसाइकल चोरीका घटना

सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाउँदासमेत काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीका घटनामा कमी आएको छैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले पनि उपत्यकामा दैनिकरुपमा नै मोटरसाइकल चोरी हुने गरेको छ। कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाट मोटरसाइकल चोरी हुने गरेका प्रहरीले जनाएको छ।

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए। शुक्रबार मात्रै महाशाखाले काठमाडौँको थलीबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ।

महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरेर लगिरहेको अबस्थामा वाग्मती प्रदेश ०२–०१५प ६१७२ नम्बरको मोटरसाइकलसहित सिन्धुपाल्चोक पाँचपोखरीका विजय धिताललाई कागेश्वरी–मनहरा नगरपालिका– ५ थलीबाट नियन्त्रणमा लिएको हो।

खोटाङ घर भई काँडाघारी बस्ने सञ्जिव राईले बिहीबार साँझ पार्किङ गरेर राखेको बेला उक्त मोटरसाइकल लभडाँडाबाट हराएको थियो। पीडितको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित धिताललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धितालमाथिको अनुसन्धानका क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने वर्ष २६ को जीतबहादुर र २४ वर्षीय बिष्णु तामाङसमेत भई उक्त मोटरसाइकल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ। उनीहरुबाट चोरीको अर्को मोटरसाइकलसमते बरामद भएको प्रहरीले जनाएको छ।

भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरससाइकलसमेत उनीहरुबाट बरामद गरिएको प्रहरीले जनाएको छ। तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा प्रदेश ३–०२–००७ प ८४९४ नम्बर हालेर चलाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

चोरी गर्ने दुवै दाजुभाइ भएको खुल्न आएको छ । पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरमा पठाइएको छ। उपत्यकाबाट चोरी भएका मोटरसाइकलमध्ये केही प्रतिशत मात्रै फेला पर्ने गरेको छ। ट्राफिक प्रहरीले फेला पारेका २४ मोटरसाइकल शुक्रबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। महाशाखाका प्रमुख भट्टराईले विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट ती मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जानकारी दिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..