डिआईजी थापाद्वारा सीआईबीका इन्स्पेक्टर र सईलाई अन्तर्राष्ट्रिय अवार्ड हस्तान्तरण

Award to Sudarsan Panthee

Award to Sudarsan Panthee

संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले दिएको अवार्ड प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहारीलाई हस्तान्तरण गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक सहकुलबहादुर थापाले अवार्ड हस्तान्तरण गरेका हुन् । संयुक्त राष्ट्र संघको कन्फेरेन्स सेन्टरले गरेको भर्चुअल कार्यक्रममार्फत दिएको अवार्ड ब्युरोका निर्देशकले पन्थी र जोहारीलाई एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।

उनीहरुलाई अन्तरदेशीय वातावरणीय अपराधविरुद्ध उल्लेखनीय भूमिका खेलेको भन्दै ५ फागुनमा पुरस्कृत गरिएको थियो । सीआईबीको पिल्लर ४ मा कार्यरत उनीहरुले कुख्यात वन्यजन्तु तस्कर कुञ्जोक लामालाई पक्राउ गर्न सफल भएका थिए ।

आफ्ना निर्देशक र पिलर प्रमुखको निर्देशन र सहकार्यमा एकैपटक भारत, चीन र नेपालमा अपरेशन चलाएर खुँखार वन्यजन्तु तस्कर समात्न सफल भएको भन्दै यूएनले पन्थी र जोहरीलाई अवार्ड दिएको हो ।

सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले अवार्डले वन्यजन्तु तस्करीमा अन्तर्राष्ट्रिय गिरोहहरुसँग प्रत्यक्ष जोडिएका कुन्जोकजस्ता अन्यलाई समेत खोज्न र पक्राउ गर्न थप उत्साह मिलेको प्रतिक्रिया दिए ।

नेपाल प्रहरी र इन्टरपोलको सर्वाधिक खोजी सूचीमा समेत रहेका लामालाई सीआईबीले गत असार ११ मा काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेर लामटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । उनी अहिले रसुवा कारागारमा छन् । सीआईबीले वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा लामाको अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएका धेरै प्रमाण हात पारेको छ ।

नेपाली सेनाको दुर्गा बक्स गणले २०६२ भदौ १६ मा रसुवाको साविक स्याफ्रु गाविस–९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुका अंग बरामद गरेको थियो । ती वन्यजन्तु ओसारपसार र बेचबिखनमा लामा संलग्न भएको दाबी गरिएको छ । लामाले रसुवागढीबाट ती वन्यजन्तुका अंग केरुङ हुँदै तिब्बत तस्करी गराउन खोजेको सीआईबीको दाबी छ । उनीसँग तिब्बतको परिचयपत्रसमेत भएकाले आउजाउ गर्न उनलाई सहज थियो ।

पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओंतको छाला २ सय ३८ थान र बाघको १ सय १३ किलोग्राम हड्डीसहित ५ जनालाई पक्राउ गरेको थियो । उक्त घटनाका प्रमुख योजनाकार भनिएका कुञ्जोक लामा भनिने कुञ्जोक छिरिङ तामाङ फरार थिए । अरू आरोपितलाई भने लामटाङ राष्ट्रिय निकुञ्ज, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतले मुद्दा टुंग्याइदिएको थियो । एक जनाबाहेक अरू सबै कसुरदार ठहरिए । लामा फरार रहेकाले मुद्दा मुल्तबीमा थियो ।

पक्राउ परेका तीन जनाले उक्त घटनामा उनी नै संलग्न रहेको बयान दिएका थिए । उक्त घटनामा मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भनिने रिसाङ लामालाई सर्वोच्चले सात वर्ष कैद र एक लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..