सम्पतिका लागि आफ्नै भाईलाई गोली हान्ने बाबु-छोरा सिरहा प्रहरीद्वारा पक्राउ

सिरहा मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार घटनामा संलग्न तीन अभियुक्तलाई सिरहा प्रहरीले सार्वजनिक गरेको छ । गत २२ जेठमा साँझ पसलमै बसिरहेका मिर्चैया नगरपालिका ६ मा सिद्धी मेडिकोका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार भएको थियो । प्रहरीले झण्डै १० दिनपछि घटनामा संलग्न तीन अभियुक्तलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक हुनेमा सूर्यदेव साफी, रोहित साफी र मो. हकिम फकिर रहेका छन् । सूर्यदेव रामसागरका आफ्नै सहोदर दाइ हुन् भने रोहित भतिजा हुन् । अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । सूर्यदेवले पारिवारिक रिसइवी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई रकम दिई भाईमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाका अभियुक्तहरूले संलग्नता स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिरा बहादुर पाण्डेले जानकारी दिए ।

पक्राउ परेकालाई सिरहा जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको पाण्डेले बताए । उनीहरूमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरूले दुई राउण्ड गोली चलाउँदा रामसागरको बाँया खुट्टाको तिघ्रा र बाँया हातको कुहिनामा गोली लागेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..