अपराध अनुसन्धानमा काबिल कपिलवस्तु प्रहरीलाई एक पछि अर्को सफलता

एक साताअघि नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेमाथि अज्ञात समूहले गोली चलाए । गत बुधबार भएको उक्त घटनाको दुई दिनभित्रमा नै कपिलवस्तु प्रहरीले दुई आरोपीलाई पक्राउ गर्यो ।

व्यक्तिगत दुस्मनीका कारण कपिलवस्तु नगरपालिका–१ आनन्दबाग बस्ने वर्ष ३९ का ओम प्रकाश यादवले सोही स्थानका सागरटोल बस्ने वर्ष ३३ को साकिर अलि पाखियासँग मिलेर पाण्डेमाथि गोली प्रहार गरेका थिए । पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ ।

६ वैशाखमा राति साढे १० बजे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिउँसो १२ बजे बाख्रा चराउन गएका तीन बालिकाहरु हराएको खबर आयो । बच्चाका अभिभावक जित बहादुर पासी र प्रेम कोहारले ५, ८ र १३ वर्षका बालिकाहरु राति अबेरसम्म घर नफर्किएको भन्दै फोन गरेका थिए ।

आफ्नो वडा एरियाबाट बालिकाहरु हराएको सुनेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवराज अधिकारीले तुरुन्त सक्रियता देखाए । नजिकको प्रहरी चौकी हर्दौनाबाट सई कृष्ण प्रसाद पौडेललाई फोन गरी आफ्नो कमाण्डमा ५ जनाको टोली लिएर हराएका बालिकाहरुको घर ठेगानामा जान उनले अह्राए ।

यस्तै विभिन्न टोली बनाई २४ जना प्रहरी खटिई तीव्र खोजतलास सुरु भयो । प्रहरीको सक्रियताकै कारण भारत पुगेका ती बालिकाहरुलाई ३ दिनभित्र नै फेला पारी अभिभावकको जिम्मा लगाइयो ।

१२ चैत २०७७ मा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला पर्यो । महिलाको हातका औंलाहरु काटिएका थिए । कपिलवस्तु प्रहरीको अनुसन्धानमा ती महिला शुुद्धोधन गाउँपालिका–३ सरजहाँ दर्जी भएको खुल्यो ।

अनुसन्धानको क्रममा महिलाको औला बेच्नकै लागि उनको हत्या भएको खुल्यो । तान्त्रिकलाई यस्तो औंला बेच्दा ७० देखि ८० लाख रुपैयाँ पाउने हल्लाकै भरमा ती महिलाको हत्या गरिएको थियो ।

घटनाको ३ साताभित्रमा नै प्रहरीले ६ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा सोही स्थानका हर्दिहवाका अब्दुल कलाम दर्जी र बेलाल अहमद मुसलमानलगायत भएको खबर पर्दाफासले प्रकाशित गरेको छ ।

कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्त १२ वर्षपछि पक्राउ परे । गत वर्षको २६ चैतमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबास गर्ने असलम मुसलमानलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरीका डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले असलमलाई जिल्लाकै यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट पक्राउ गरेको हो । जिल्ला अदालतले २ जेठ २०६९ मा असलमलाई सर्वस्व सहित जन्मकैदको सजाय सुुनाएको र त्यसयता उनी जिल्लाभित्रै र बाहिर लुकिछिपी बसिरहेका थिए ।

असलम सहित चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेषले मृतक यादवलाई घरबाट बाहिर बोलाएर घाँटी र दाहिने छातीमा गोली प्रहारगरि हत्या गरेका थिए ।

गत वर्षको २७ मंसिरमा वडा प्रहरी कार्यालय चन्द्रौटामा राती ९ बजे शिवराज नगरपालिका–५ स्थित स्थानीय मकबुल मियाँको घर पछाडि एक महिलाको शव रक्ताम्य अवस्थामा भेटिएको सूचना आउँछ ।

यस क्षेत्रको अति संवेदनशील मानिने शिवराज नगरपालिकाको घटनाका विषयमा सचेत रहेका एसपी अधिकारी प्रनि प्रेम रेग्मीसँग आवश्यक उपकरण लिएर तत्काल घटनास्थल पुग्छन् ।

घटनास्थल मियाँको घर पछाडीको आगँन थियो । त्यहाँ उनकै घरमा भाडामा बस्ने ५९ वर्षीय सुशीला खड्का मृत अवस्थामा थिइन् । उनको टाउकोमा चोट थियो ।

घटनास्थलमा रहेको प्रहरी टोलीले घटना हत्या भएको ठहर गर्छ । तर रातिमा मुचुल्का उठाउन हतार गर्दैन । रातभरि घटनास्थललाई सुरक्षा घेरामा राखिन्छ । एसपी अधिकारीको माग अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर बिहान ६ बजे घटनास्थल ल्याइन्छ । कर्णाली प्रदेश प्रहरीबाट आएको तालिमप्राप्त कुकुर जम्बोले घटनास्थल सुघ्छ । त्यसपछि एकफन्का खेतमा लगाएर सुशीलाकै डेरा तर्फ अगाडि बढ्छ ।

डेरामा निरास भएर रुदै बसेका सुशीलासँगै बस्ने भतिजा तोरणबहादुर खड्कालाई देखेपछि जम्बो उनलाई झम्टिन थाल्छ । जम्बोको यो संकेत अनुसन्धान अधिकारीहरुका लागि काफि थियो । प्रहरीको केरकारपछि भतिजा तोरणले रक्सी सेवन गर्ने क्रममा विवाद भएको र फुपूको हत्या गरेको बताउँछन् । ९ घन्टामै प्रहरी घटनाको गुत्थी सुल्झाउन सफल हुन्छ ।

गत वर्षकै पुसमा कपिलवस्तुको शिवराज नगरपालिका–३ करमादी घर भएकी दीपा गत शनिबार पानी लिन भनेर घरनजिकैको धारामा गइन् । तर, साँझसम्म घर फर्किनन् ।

छोरी घर नफर्केपछि बाबु मनबहादुर रोकाले वरिपरि सबैतिर खोजे । दुई दिनसम्म पनि उनको पत्ता लागेन । छोरी बेपत्ता भएको भन्दै उनले गत सोमबार वडा प्रहरी कार्यालय चन्द्रौटामा हुलियासहितको निवेदन दिए ।

प्रहरीले बालिकाको खोजी गर्दै जाँदा सोही दिनको दिउँसोतिर नजिकैको खोलामा शव फेला प¥यो । घटनास्थलमै प्रहरीले एउटा पर्स पनि फेला पा¥यो । जसले प्रहरीलाई अनुसन्धान गर्न र आरोपी समात्न सहज भयो ।

१७ पुसमा प्रहरीले बालिकाको हत्या आरोपीलाई पक्राउ गरी सार्वजनिक गर्यो । १६ वर्षीया दीपाको हत्या आरोपमा शिवराज–४ वनकट्टीका २० वर्षीय अल्ताफ मुसलमानलाई पक्राउ परेका थिए । बालिका र आरोपी एकै गाउँका थिए ।

प्रहरीसँगको बयानमा आरोपी अल्ताफले बालिकाको हत्या गरेको स्वीकार गरे । उनका अनुसार खोलामा माछा मार्न गएका अल्ताफले बालिकालाई जिस्काएका थिए । तर, बालिकाले भने प्रतिवाद गरेकी थिइन् । त्यही विषयमा झगडा हुुँदा अल्ताफले बालिकाको घाँटी थिचेर हत्या गरेका थिए ।

माथिका प्रतिनिधि घटना कपिलवस्तु प्रहरीको सफल अनुसन्धानका पछिल्ला केही उदाहरण हुन् । जिल्लामा भएका अधिकांश आपराधिक घटनाहरुमा सफल अनुसन्धान र दोषीलाई कारबाहीका लागि कठघरामा उभ्याउने काममा प्रहरीले प्रशंसनीय काम गर्दै आएको छ ।

यस्तै, मुद्दा दर्ता र फछ्र्योट, राजस्व संकलन र लागूऔषध बरामदमा पनि कपिलवस्तु प्रहरीको सक्रियता देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अधिकारीले विभिन्न किसिमका अपराध, तस्करी नियन्त्रण र फरार अपराधी पक्राउलगायतका लागि छुट्टाछुट्टै टिम बनाएर काम गरिरहेको पर्दाफासलाई बताए ।

एसपी अधिकारी कपिलवस्तु प्रहरीको सफलताको श्रेय सम्पूर्ण टिमलाई दिन्छन् । समूह बनाएर काम गर्दा नै आरोपीहरुलाई चाँडो पक्राउ गर्न र घटना अनुसन्धान निचोडमा पुर्याउन सकिएको उनको भनाइ छ ।

‘घटनाको तत्काल रेन्स्पोन्स गर्ने र त्यसबारे विश्लेषण गर्ने गर्छौं । पीडितसँग नजिकिएर ‘कन्सल्ट’ गर्छौं । त्यस्तै, सम्पूर्ण टोली परिचालित गरेर सकेसम्म छिटो नतिजा निस्कने गरी काम गर्छौं’ उनले भने, ‘ आरोपीहरुलाई छिटोभन्दा छिटो पक्राउ गर्ने लक्ष्य लिई काम गर्दै आएका छौं ।’

यस्तै, झैझगडा, महिला हिंसा, सवारी दुर्घटना, फरार प्रतिवादी पक्राउ र तस्करीसँग सम्बन्धित अपराधलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनले बताए ।

पछिल्लो समय निषेधाज्ञाका कारण सीमा तस्करीलगायतका घटनामा कमी आएको एसपी अधिकारीको भनाइ छ । प्रहरीले यस अवधिमा महामारी नियन्त्रणका लागि जनचेतना जगाउने, माइकिङ गर्ने, निषेधाज्ञा पालनामा नागरिकलाई सम्झाइबुझाइ गर्दै आएको उनले जनाए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..