द्वारिकालाल चौधरी जंगिएपछि एमालेको बैठकमा माईक खोसाखोस !

  • 2 months अगाडि

सुनसरी नेकपा एमालेमा विवाद झन् बढेको छ । २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर पक्ष र विपक्षबीचको विवादले उग्र रूप लिएको हो । सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधबार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ।

२ जेठको विषयमा विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो ।

कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका छन् । उनले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा इटहरीमा पत्रकार सम्मेलनको तयारी गरेका छन् । अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ । चौधरीको हातबाट पुन: माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ । माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट हिँडेका छन् । उनले बैठक बहिष्कार गरेको बताएका छन् ।