युरोपेली युनियनद्वारा नेपाललाई ३२ अर्ब जलवायु सहायताको घोषणा

  • 2 months अगाडि

युरोपेली युनियनले नेपाललाई राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा गरेको प्रतिबद्धताअनुसार २४० मिलियन युरो (३२ अर्ब १३ करोड नेरु) अनुदान सहायता उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेकी युरोपेली युनियनकी एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाकी नायब प्रबन्ध निर्देशन पाओला पाम्पालोनीले सो घोषणा गरेकी हुन् । अर्थसचिव मधुकुमार मरासिनीले पनि युरोपेली युनियनले यसअघि गरेको प्रतिबद्धता अनुसार सो राशी बराबरको जलवायु लगानीको घोषणा गरेको जानकारी दिए ।

युरोपेली युनियनले यो रकम युरोपियन इनिसिएटिभ परियोजनामार्फत नेपालमा लगानी गर्ने भएको छ । नेपालले ग्लास्गोमा गरेका प्रतिबद्धतालाई युरोपेली सहायताले मद्दत पुग्ने अर्थसचिव मरासिनीले बताए । आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३ औँ बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।

बैठकमा नेपाल-युरोपेली सङ्घबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक-आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको सहअध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् भने सङ्घको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेकी छिन् ।

सङ्घको प्रतिनिधिमण्डलमा टोली नेता पम्पालोनीसँगै ब्रसेल्सबाट आएका दुई उच्च अधिकारी, काठमाडौंस्थित सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेज तथा उहाँका सहयोगीलगायत छन् । कोभिड-१९ का कारण आयोगको १२औँ बैठक भर्चुअल माध्यमबाट गत वर्ष भएको थियो । प्रारम्भमा हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा आलोपालो आयोजना गर्ने निर्धारण भएको उक्त बैठक विगत पाँच वर्षदेखि वर्षेनी हुँदै आएको छ ।