अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा तीन अर्ब बचत

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो ।

दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजेल आयात गरिएको छ । आर्थिक वर्ष २०७६-७७ मा ४८ करोड ८५ लाख लिटर, आव २०७७-७८ मा एक अर्ब ३१ तथा चालू आवको हालसम्ममा १२ करोड ४४ लाख डिजेल आयात भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । निगमले सोही पाइपलाइनबाट दैनिक एक लाख ५० हजार किलोलिटर डिजेल आयात गर्दै आएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न थालेपछि ढुवानीबापत रु तीन अर्ब २३ करोड २२ लाख १६ हजार बचत भएको पौडेलले बताए । पेट्रोलियम पदार्थको ढुवानी भाडा र प्राविधिक नोक्सानी कम हुँदा निगमले सो बराबरको बचत गर्न सकेको उनले बताए । परियोजना सञ्चालनमा आएपछि उपभोक्तामा पेट्रोलियम पदार्थ अभाव हुँदैन भन्ने अनुभूति भएको, ढुवानीकर्ताले खेप्नुपर्ने सास्ती हटेको र परियोजना समयमा सम्पन्न गरेर जी–टू–जी मोडलको सफल परियोजनाको रुपमा एउटा उदाहरण बन्न सफल भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाले निगमको प्राविधिक रुपान्तरणको प्रतिनिधित्व गरेको पौडेलको भनाइ छ ।

पेट्रोल र मट्टितेल छिट्टै पाइपलाइनबाटै

पेट्रोल र मट्टितेल पनि एउटै पाइपलाइनबाट ल्याउन निगमले प्रक्रिया थालेको छ । यसका लागि निगमले भारतीय आयल कर्पोरेसनकै सहयोगमा प्रक्रिया अघि बढाइसकेको छ । अहिलेसम्म पाइपलाइनबाट डिजेल मात्रै आयात हुँदै आएको थियो ।

निगमको प्रदेश नम्बर २ प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादव अबको डेढ वर्षमा एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल आउन सुरु हुने बताए । परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थ लिन भारततर्फ पुग्न नपर्ने उहाँको विश्वास छ । यसबाट निगमले मासिक थप रु ११ करोड बचत गर्नसक्ने उहाँले जानकारी दिए ।

सो परियोजनाका लागि भारतीय आयल कर्पोरेसनले अमलेखगञ्ज डिपोका प्राविधिकलाई तालिमसमेत प्रदान गरिसकेको छ । यादवको नेतृत्वमा प्राविधिक टोली गत हप्ता भारत गएको थियो । प्राविधिकको टोलीले डिजेल, पेट्रोल र मट्टितेललाई फरक फरक भण्डारण टङ््याकीमा राख्ने सम्बन्धमा प्रत्यक्ष अवलोकन गरेको थियो ।

दुःख भुलाउने हिजोको तीज
“ओहो ! तीज आउनुभन्दा महिना दिन अघिदेखि माइत जाने हुटहुटी हुन्थ्यो । माइतीबाट लिन को आउनुहोला भनेर मनमा बेग्लै उत्साह हुन्थ्यो । घरको काम पनि कति छिटो–छिटो गरिन्थ्यो त्यतिबेला”, पोखरा महानगरपालिका–६ की ७३ वर्षीया जसोदा पराजुली आफ्नो समयको तीजलाई स्मरण गर्दै भन्नुभयो । पराजुली ११ वर्षको उमेरमा ४५ वर्षका पुरुषसँग वैवाहिक सम्बन्धमा जोडिनुभयो । तर उहाँको उमेर २५ वर्ष हुँदै श्रीमान्को निधन भयो । उतिबेला उमेरभन्दा पनि सम्पत्ति र इज्जत हेरेर विवाह गर्ने चलन भएको उहाँ बताउनुहुन्छ । उहाँको माइती स्याङ्जा सेतीखोला । सात दिदीबहिनी, दुई दाजुभाइमध्ये साइली छोरी पराजुली तीज सम्झँदै भन्नुहुन्छ, “धेरै दिदीबहिनी थियौँ, दाजुभाइ विदेश थिए, बाबाले लिन आउन सबैलाई भ्याउनु हुँदैनथ्यो अनि मान्छे खोजेर कृष्णाष्टमीदेखि पालैपालै सबै दिदीबहिनीलाई लिन पठाउनुहुन्थ्यो । फेरि उबेला तीजमा लिन नआइ माइत जाने चलन पनि थिएन ।”

पराजुली भन्नुहुन्छ, “माइत पुगेर कहिले मनमा भएको पीर पोखम्ला । आमाले पकाएको दर खाम्ला भनेर मन त्यसै रमाउँथ्यो ।” तीजमा खाने दरबारे उहाँ भन्नुहुन्छ, “तामा गाभा, घिरौँला, चिचिन्डा काँक्राको अचार हुन्थ्यो । औँसीपछि जुठो हुन्छ भनेर मासु खाइँदैनथ्यो । अनदी र झिनुवाको चामल छड्को चलेपछि छोप्ने बेला भएमा मगमग बसाउँथ्यो । आरीमा चामल भिजाएर, कसौडीमा घिउ राखेर चामल ओइरिएर फरक्क–फरक्क भुटेर छोप्दै पकाउँदै गरी तयार पारेको भातको स्वाद आजभोलि कहाँ पाउनु ?”, उहाँ सम्झनुहुन्छ । त्यसरी पकाएको खानेकुरालाई पिँढीमा सबै जम्मा भएर आमाले पकाएको खाजा बरिलै भन्दै खाँदै नाच्दै गरेको स्मरण गर्नुभयो । “रातिको १२ बजेसम्म पनि दर भनेर खिर खाइन्थ्यो र भोलिपल्ट हरितालिका पूजा गर्ने भएकाले पूरा निराहार बसिन्थ्यो ।”

व्रतको भोलिपल्ट बिहान पार्वतीको पूजा गरेर हलोले जोतेको खाने भनेर एक छाक चोखो खान खाने चलन थियो । खोला पँधेरामा बिहानै पञ्चमी स्नान गरेर पूजा गर्दाका बिर्सन नसक्ने क्षण पनि उहाँसँग छन् । “वर्ष दिनको घरको दुःख पीडा माइती पुगेर साथीसङ्गीसँग बसेर पोख्दाको आनन्द बेग्लै हुन्थ्यो । कसका कति छोराछोरी भए, घरकाले कति माया गर्छन्, श्रीमान् कस्ता छन् भन्ने कुरा साथीसँग साट्थ्यौँ, कसैले सुखका कुरा गर्थे, कसैले घरमा पाएको दुःख सम्झँदै भक्कानिन्थे”, उहाँ सम्झनुहुन्छ, “छोरीको कर्म यस्तै हो भन्दै मन बुझाउँदै नाचगान गथ्र्याँै, दुःख भुल्थ्याँै ।” उहाँले अहिलेजस्तो आमा औँसी, बा औँसी भन्ने त्यस समयमा चलन पनि नभएको र तीज मात्र माइत जाने एउटा अवसर रहेको उहाँले बताउनुभयो ।

त्यस समयमा खोलामा पुल नहुँदा, यातायातको सुविधा नहुँदा, खोला तरेर आउनुपर्दा र लगातार पर्ने झरीले मन अमिलो बनाउने गरेका अनुभव पनि छन् । पञ्चमीको भोलिपल्ट माइतबाट घर आउँदा कोसेली लिएर आउनुपथ्र्यो, कुराउनी र रोटी बोकेर सबैलाई दिँदै ढोग्नुपर्ने चलन रहेको पनि उहाँले सुनाउनुभयो । विवाहपछि लेकसाइडवासी बन्नुभएकी पराजुली उतिबेला माइत जाँदा गाएको गीत यसरी स्मरण गर्नुहुन्छ ः

“झिनुवा खाजा दुनामा राखी, ढिकुर चरीले खाला भनेर”
“तालपारिको पाइमा दिनुभयो बाबा, बैदामे तालले लाला भनेर”
“ढलाकी आमे कतले माछा, सुलुक्क आउने चुचे बाम”
“बैदामे तालको ढलफलाउँदा ङुङ्गा, ढलक्कै ढल्के मोरिजाम”

बागलुङ नगरापालिका–३ की ६५ वर्षीया बालकुमारी पौडेल तत्कालीन समयमा सानै उमेरमा विवाह हुने र माइतीसँग भेट हुने पर्वको रूपमा तीज महत्वपूर्ण चाडको रूपमा रहेको बताउनुहुन्छ । “विवाह भनेको के हो भन्ने नै थाहा नभएको समयमा सात वर्षको उमेरमा २६ वर्षको पुरुषसँग विवाह भएको त्यो कठिन समयमा माइत जान पाउँदा निकै खुशी लाग्थ्यो”, उहाँले सुनाउनुभयो । सानैमा बुवाआमा गुमाएर आमाबुवाको मायाममताबाट टाढिनुपर्दाको त्यो क्षण र दाजु लिन आउँदा दाजुको बुइँ चढेर माइत आएको क्षणहरु अहिले पनि उहाँलाई झल्झली याद आउँछ । “म आफू सानो हुँदा मिठो खाने पर्वको रुपमा र उमेर बढ्दै जाँदा दुःख बिसाउने पर्वको रूपमा मनाउन बुझ्न थालेँ, कति तीजमा माइत जान पाइएन सासूले चाम्रे पकाएर खुवाएका याद छ ।” तीजमा गाउँघरका दिदीबहिनी जम्मा हुने नाच्दै गाउँदै नजिकका मठमन्दिर पूजा गर्ने र खुला चौरमा गएर रातो पहिरन लगाएर नाच्ने गरेको बताउँदै त्यतिबेला गाउने गीतको भाका सुनाउनुभयो ।

“शिर लाउने शिरफूल कालिकालाई चढाउँला,
रक्षे गर कालिका तिम्रो सेवा हाम्ले गराउँला”
“बाबाजिका दैला मुनि गुर्दौली फूल फुल्यो,
टिपौँ केरे बरिलै सुनको थालीमा”
“धर्मकर्म गरदियौँ त स्वर्ग लोक तर्दियौ,
भूल्यौ केरे संसार मयाजालैमा”

उहाँले त्यस समय पुरुषले बहुविवाह गरेर सौता सौता नबोल्दा पनि गीतबाट बोलचालको प्रयास गरिने सन्दर्भको गीत पनि यसरी सुनाउनुभयो ः

“प्रभुलाई लायो सकसको व्यथा,
बोलन दिदी रामै राम” (बहिनी)
“शिरमा सिन्दुर लाइन, पाउको जल खाइन,
बोल्दिन बहिनी रामै राम” (दिदी) ।

तनुहँको ढोरफिर्दिकी जमुना भुजेलेको पनि १७ वर्षको उमेरमा पोखरा–६ गौरीघाटका भीमसेन भुजेलसँग विवाह भयो । अहिले ५७ वर्षीया भुजेल पनि आफ्नो पालाको तीजको रौनक र महत्व बेग्लै भएको सुनाउनुहुन्छ । “तीज नजिकिँदै गर्दा घरका काम छिटोछिटो सकेर माइत जाने दिनको पर्खाइ हुन्थ्यो । तीजको बेला काम गर्दा कत्ति पनि अल्छि लाग्दैनथ्यो । जिन्दगी बिताउने घरभन्दा दुई दिन जाने माइती घर कति प्यारो लाग्थ्यो”, भुजेल भन्नुहुन्छ, “माइत जाने भनेपछि मन त्यसै फुरुक्क हुन्थ्यो, सगरमाथा चढेजस्तै खुशी मिल्थ्यो”, सहज थिएन, तीज नै एउटा अवसर थियो, वर्षभरि घरमा दुःख गरेर, दुई÷चार दिन माइत जाँदा सबै दुःख भुलिन्थ्यो ।

दुई दाजुभाइ तीन दिदीबहिनीमा कान्छी भुजेल तीजमा सबै जना आएर नाच्ने रमाइलो गर्न आँगनभरि दुःख बेदनाको गीत गाउँदै रमाइलो गर्दाका पलहरु निकै रमाइलो लाग्ने गरेको सुनाउनुहुन्छ ।

“आमाले घरमा दुःख गरेका छोरीहरू, चिसो लागेको हुन्छ भन्दै, पाखुराबाट घिउ चुहिने गरी खाजा पकाएर खुवाउनुहुन्थ्यो । खाजा खान्थ्यौँ गाउँतिर डुल्न जान्थ्याँै, साथीसङ्गी जम्मा हुन्थ्यौँ, नाच्थ्याँै, दुःखसुखका कुरा साटासाट गथ्र्यौँ ।”

“खिर, तामा, काँक्राको अचार, घिरौलाको तरकारी, चाम्रे भात साह्रै स्वादिलो हुन्थ्यो,” बाबाले पकाएर दिएको घिरौलाको तरकारी कहिल्यै बिर्सन नसक्ने उहाँले बताउनुभयो ।

तत्कालीन समयमा सासू, ससुरा, नन्द, अमाजु, श्रीमान्ले गर्ने व्यवहारलाई गीतको माध्यमबाट पोख्ने चलन रहेको उहाँले सुनाउनुभयो । यससँगै देशको राजनीतिक अवस्था हत्या हिंसा अपराधका घटनालाई पनि गीतको माध्यमबाट प्रस्तुत गर्ने गरिन्थ्यो । तत्कालीन समयको राजनीतिक अवस्थाबारे गाएको गीत सम्झँदै उहाँले भन्नुभयो ।

“क को अक्षर नचिन्नेले मन्त्रीको सिट खाए, यिनै अत्याचारीले जनता पिटाए”
“हेटौँडा मान्छे मारे गाड्न लगे चितवन, कठै तिनले पाएनन् जीवन बिताउन ।”

तत्कालीन समयमा विभिन्न ठाउँका तीज गीत गाएर रातो अविर र पुरस्कार पाएको पल पनि उहाँले स्मरण गर्नुभयो । “नयाँ लुगा लगाउन र मिठो खान तीजलगायतका पर्वको पखाइमा रहनुपथ्र्यो, तीज कहिले आउला भने जस्तो हुन्थ्यो, अहिले त्यस्तो समय छैन, दर पनि टिकट काटेर पार्टी प्यालेसमा मनाउन थालिएको छ, तीजका गीत पनि सुन्नै नसकिने आउन थाले ।” उहाँले चाडवाडहरु शहरमा भन्दा गाउँमा रमाइलो हुने बताउनुभयो ।

लोक भाका संरक्षण संवद्र्धन गर्दै विसं २०४५ देखि निरन्तर लोकगीत सङ्गीतको संरक्षणमा सक्रिय प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला तत्कालीन समयमा महिलाले घरपरिवारबाट भोग्नुपरेका दुःखपीडालाई माइतीको आँगनमा पुगेर गीतको माध्यमबाट पोख्ने गरेको बताउनुभयो । उहाँका अनुसार उक्त समयमा पत्रपत्रिकार र रेडियोको पहुँच कम हुँदा तीजका गीतले सन्देश बाहकको काम गर्दथे, सामाजिक विकृति र विसङ्गति, राजनीतिक अवस्थालाई पनि तीज गीतबाट प्रस्तुत गर्ने चलन रहेको थियो । पछिल्लो समय गीत सङ्गीतमा केही फेरबदल आए पनि पर्व गीतको मौलिकतामा रहेर निस्केका धेरै गीतहरु ओझेमा परेकाले त्यसको प्रवद्र्धन संरक्षणमा चासो दिनुपर्ने उहाँको भनाइ छ ।

अधिकारकर्मी विना सिलवाल परिवर्तित समयले तीजको महत्व र महिमामा केही फेरबदल आए पनि यस पर्वलाई महिला स्वतन्त्रता र सशक्तीकरणको पर्वको रुपमा मनाउनुपर्ने र भड्किलो प्रथालाई निरुत्साहित गर्नुपर्ने बताउनुहुन्छ । “हिजो स्रोत साधन र प्रविधिको अभावमा एउटा महत्व बोकेर तीज पर्व मनाइन्थ्यो । अब अहिले स्रोत साधन र प्रविधिले धेरैलाई नजिक बनाएको छ । यसका सकारात्मक कुरालाई अवलम्बन गर्दै र महिलामाथिको विभेद र हिंसालाई प्रश्रय दिने कुरालाई हटाउँदै जानुपर्छ ।”

धार्मिक सामाजिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्व हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेपछि उनको व्रत पूर्ण भएर महादेव श्रीमान् पाएको दिनलाई हिन्दु महिलाहरुले हरितालिका तीजको रुपमा मनाउँदै आएको पाइन्छ । भाद्र शुक्ला तृतीयाका दिन भगवान शिवको आराधाना गरेर नाचगान गरेर यो पर्व मनाउने परम्परा रही आएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..