ऋण चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगर्दा…

लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ ।

घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पास गरी ३८ लाख ७० हजार ऋण लिएको थियो । तैयबले हालसम्म साहलाई साँबा ब्याजसहित ४५ लाख २० हजार बुझाइसकेको छ । बाँकी रकम चुक्ता गर्न आफू तयार भए पनि साहले जग्गा फिर्ता गर्न नमानेको उनी बताउँछन् । “मेरो पूरै परिवार मानसिक तनाबमा छ”, तैयबले भने ।

साहले तैयबको जग्गा फिर्ता गर्न विभिन्न बहाना बनाउँदै आएको छ । ऋणबापत लिएको ३८ लाख ७० हजारको हालसम्म साहले ब्याजसमेत गरेर ८१ लाख हिसाब भएको तैयबलाई सुनाउँदै आएको छ । आफ्नो जग्गा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ता तैयबलाई परेको छ ।

साहसँग धितोमा जग्गा राखेर २०७६ कात्तिकमा १२ लाख ऋण लिएका बोदे बर्साइन नगरपालिका–५ कै मदनलाल साह पनि एक वर्षमै ब्याजसहित २५ लाख तिर्नुपरेको पीडा सुनाउँछन्। घर खर्चका लागि १२ कठ्ठा १७ धुर जग्गा साहको नाममा दृष्टिबन्धक लिखत पास गरी १२ लाख ऋण लिएको उनले बताए ।

“ऋण ब्याजसहित फिर्ता गरिसकेको छु, जग्गा फिर्ता गर्नुको साटो उल्टै साहले मेराविरुद्ध लेनदेनको मुद्दा हाल्नुभएको छ”, मदनलालले भने । ब्याजसहित ऋण चुक्ता गरिसकेकाले जग्गा फिर्ताका लागि गत वर्षदेखि नै साहलाई आग्रह गर्दै आएको उनको भनाइ छ ।

यस्तै १२ लाख ऋण लिएका सोही वडाका रामप्रसाद खत्बेको अवस्था पनि साहकै जस्तै छ । घर खर्चका लागि साहसँग लिएको ऋण एक वर्षअघि नै चुक्ता गरे पनि जग्गा फिर्ता नपाएको उनको गुनासो छ । सप्तरीको शम्भुनाथ नगरपालिका कठौनाका ललिता मण्डल पनि साहकै ऋणका कारण आफ्नो परिवार बिचल्लीमा पर्ने अवस्था आएको बताउँछन् । श्रीमानलाई वैदेशिक रोजगारमा पठाउन १५ कठ्ठा जग्गा साहको नाममा लिखत पास गरी चार लाख ऋण लिएपनि हालसम्म ब्याजसहित २५ लाख फिर्ता गरिसकेको मण्डलले बताए । “साहले जग्गा फिर्ता गर्न मान्नुभएको छैन”, उनले भने, “उल्टै धम्की दिँदै आउनुभएको छ ।”

सप्तरीको खड्क नगरपालिका–६ का छेदीलाल पासवानको पीडा पनि कहालीलाग्दो छ । उनले २०७३ सालमा चार कठ्ठा १९ धुर जग्गा साहको नाममा दृष्टिबन्धक पास गरी १६ लाख ऋण लिएको थियो । पासवानले ब्याजसहित अहिलेसम्म ७६ लाख ६२ हजार तिरिसकेको छ । सप्तरीका ३० जनाभन्दा बढी साहुको ऋणको भारी बोक्दै मानसिक तनाब झेल्दै आएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नहाका ध्रुवनारायण साह, बोदे बर्साइन नगरपालिका–९ देउरीका वीरेन्द्र यादव, शम्भुनाथ नगरपालिका–३ का रमाकान्त चौधरी, खड्क नगरपालिका–८ का बच्चालाल साह, सुरुङ नगरपालिका–४ का सबुर चौधरी, रुपनी गाउँपालिकाका अरबिन्द साह, बोदे बर्साइन नगरपालिकाका मोहमद सौदागर, सतदेव पौदार, मोहमद सागर हुसैन, मोहमद असलमलगायतले साहबाट ऋण लिँदा दुःख पाएका छन् । ऋण चुक्ता गर्दा पनि साहले जग्गा फिर्ता नगर्दा घरबारबिहीन भएको पीडितको भनाइ छ । साहले आफूहरुको जग्गा फिर्ता नगरे कानुनी उपचार खोज्ने उनीहरुले बताएका छन् ।

आरोपित साहले भने आफूले उनीहरुसँग रकम तिरेर जग्गा खरिद गरेको बताए । उनले भने, “मैले जग्गा किनेको हुँ, अहिले जग्गाको मूल्य बढेकाले लोभ लागेर उनीहरुले जग्गा फिर्ता मागिरहेका छन् ।”

मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना
हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तीज नेपाली महिलाले एक सनातन सांस्कृतिकपर्वका रुपमा मनाउँदै आएको मुख्यमन्त्री शाक्यद्वारा आज जारी सन्देशमा उल्लेख छ । “तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु”, सन्देशमा उल्लेख छ ।

यस्ता सांस्कृतिक पर्वले सबै नेपालीका बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता पारिवारिक मिलन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने विश्वास रहेको मुख्यमन्त्री शाक्यले उल्लेख गर्नुभएको छ ।

यसैबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले हरितालिका अवसरमा शुभकामना दिँदै धार्मिक दृष्टिले मात्र नभई शारीरिक र मानसिक रुपमा पनि तीज महत्वपूर्ण पर्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले हिन्दू महिलाको धार्मिक पर्व तीज नेपाली आमा, दिदीबहिनीका लागि महत्वपूर्ण रहिआएको बताउनुभएको छ ।

फेरिँदै तीज गीत र भाका
“ए फुलमाया एता आइजा एउटा कुरा सुन त,
यति राम्रो जोवन लान को आउने हो कुन त ?”

प्रकाश सपुतले बजारमा ल्याएको यो तीज गीतले समसामयिक विषयलाई जोड्दै अहिलेको युवापुस्ताको मन छुन सफल छ । केही समय पहिलेसम्म यो गीत युट्युबको एक नम्बर पर्नुले त्यो देखाएको छ । गीतको शब्दसँगै देखिने श्रव्यदृश्यमा दुई चेली ओझिलो संवादसहितको अभिनय देखिन्छ । पँधेरोबाट फर्किँदै गर्दा सङ्गिनी आइपुग्छिन् र संवाद सुरु हुन्छ ।

‘डाक्टर, पाइलट, इञ्जीनियर, सुब्बा नायक आए,
जुन पेशाको भए पनि हुनुपरो लायक ।’

अझै पनि छोरीको विवाह राम्रो व्यक्तिभन्दा पनि राम्रो पेशाका व्यक्तिसँग होस् भन्ने चाहना परिवारको छ । त्यसलाई चिर्दै गीतले पेशाभन्दा जीवनको लायक श्रीमान् प्राप्त गर्ने चाहनालाई चरितार्थ पार्न खोजेको छ । नायिका आँचल शर्मा र स्वस्तिमा खड्कालाई पात्र बनाई सपुतले समाजमा फरक खालको सन्देश दिन खोज्नुभएको छ । गीत छोटो समयमा नै एक करोड दर्शकले हेरेका थिए । पहिले सामान्यतया तीजको गीतमा महिलाका पीडा, श्रीमान् र सासुको हेपाइका विषय हुने गरेकामा यो गीतले त्यसमा परिवर्तन गरेको छ । महिलामाथि हुने हिंसाविरुद्ध र सशक्तीकरणको विषय उठान गरेको यो गीतले सबै उमेर र वर्गले उत्तिकै रुचाएको पाइन्छ ।

लोक सङ्गीतमा नयाँनयाँ प्रयोग गर्न रुचाउने गायक हुनुहुन्छ सपुत । उहाँका ‘गलबन्दी, दोहोरी ब्याटल, फुटेका चुरा, मेरो पनि होइन र यो देश’ ले यस्तो गीत चल्छ भन्ने धारणा नै बदलेको थियो । तीज गीतमा पनि महिलाका कथाव्यथा र आँसुका कुरा मात्रै बिक्छन् भन्ने मान्यतालाई यो वर्ष निस्केको ‘कुरा बुझ्नु पर्च’ ले बदलेको छ ।
अहिलेका युवापुस्ताको आत्मविश्वास, सुन्दरता, भविष्य र अपेक्षालाई आफूले गीतमा समेटेको गायक सपुतले बताउनुभयो । आफ्नी हुर्कँदै गरेकी पाँच वर्षीया छोरी हेरेर उनी कस्तो भइदिएहुन्थ्यो भन्ने सोच आएकाले त्यही कुरा गीतमा समेटेको उहाँले बताउनुभयो । लोकगीतलाई गाउँबाट आएको गीत र यसले हाम्रो संस्कृति झल्काउनुपर्छ भन्ने गरिएको छ । अहिले गीत बनाउँदा रुवाबासी र डाँडापारिको माइती जान नपाएको मात्रै कथामा सीमित हुनुहुँदैन भन्ने सोचले नै उहाँले गीत तयार गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेका चेलीको पीडा श्रीमान्ले कुटेको, घर बाहिर नै निस्कन नपाएको भन्दा पनि अरु रहेका छन् हामी पनि त्यतै जानुपर्छ ।”

विगतमा खरको छानामुनि बसेर रोधी बस्नु, ढिकी कुट्नु, बिहान ४ बजे उठेर जाँतो पिध्नुलाई संस्कृति मानिन्थ्यो । त्यतिबेला जन्ती जान नपाएर घरमा रत्यौली गाउनुलाई संस्कृति मानिन्थ्यो । जीवनशैली परिवर्तन हुँदासँगै संस्कृति पनि परिवर्तन भइरहेको सपुतले बताउनुभयो । मौलिक भाका, पहिचान संरक्षण गरेर संसारलाई देखाउनुपर्ने तर संस्कृति भनेर समयसँगै हुने परिवर्तन रोक्न नसकिने उहाँको भनाइ थियो । अहिले नै १० वर्षपछि हुने कुरा देखाउन खोज्दा विकृति भनिने र २०÷२५ वर्ष पहिलेको रहनसहनलाई संस्कृति मान्ने गरिएको सपुतले बताउनुभयो ।

मिडियामा कम मात्रै देखिने गायिका विष्णु माझीको स्वरमा रहेको ‘चरी जेलैमा’ पनि यो वर्ष चर्चित बन्यो । विवाहिता महिलाको पीडा र तीजमा माइती जान नपाउँदाको दुःखेसो गीतको विषयका रूपमा रहेको थियो । लामो समयसम्म युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा परेको यो गीतको भिडियोले पनि दर्शकको मन छोएको थियो ।

पहिले हिन्दू महिलाको पर्वका रूपमा रहेको तीज पर्व सबै जाति, धर्म र लिङ्गले मनाउने चाड हुँदैछ । त्योसँगै तीजमा गाइने भाका र गीतमा समेटिने विषयवस्तु पनि फेरिँदै गएको छ । विस्तारै चेलीले पराई घरमा खेप्नुपरेको पीडाभन्दा पनि टिकटक, कर्ली कपाल र रानीहारका चर्चा गीतका विषय बनिरहेका छन् । कतिपय कलाकार गीतमा बदलिँदै गएको विषयवस्तुलाई समयको मागका रूपमा लिएका छन् भने पुराना कतिपय कलाकारले यसलाई विकृतिका रूपमा हेरेका छन् ।

लोक तथा दोहोरी गायक बद्री पङ्गेनी तीज गीतमा शब्द चयन र सङ्गीत दुवैमा मौलिकता हराउँदै गएको बताउनुभयो । अहिलेको गीतमा टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको कुरा समेटिएको पाइन्छ । उहाँका अनुसार अहिले गाउँ परिवेश, उकाली–ओरालीका कथा विस्तारै कम भइरहेका छन् । समग्रमा नै लोकगीतको शैली बदलिएको छ । गीतमा पहिले सुखदुःखका कुरा हुन्थे अहिले मनोरञ्जनका कुरा बढी पाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लोकबाजाको साटो अहिले आएर आधुनिक बाजाको प्रयोग बढी भएको पाइन्छ ।”

समयअनुसार केही परिवर्तन ठीकै होला तर कतिपय कुरामा अस्वभाविक परिवर्तन भएको पाइएको गायक पङ्गेनीले बताउनुभयो । लोकगीतले संस्कृतिको संरक्षण गर्नुपर्ने भए पनि त्यो हुन नसकेको र गीत–सङ्गीत समाजभन्दा अघि बढेको उहाँको अनुभव छ । दर्शक र स्रोता सबै किसिमको पाइएको उहाँले बताउनुभयो । कतिपयले नयाँ स्वाद चाहने पनि छन् र मौलिकता मन पराउने पनि उत्तिकै छन् । उहाँले भन्नुभयो, “कलाकारले बजारले के खोज्यो भन्दा पनि मौलिकता संरक्षण गर्नमा ध्यान दिनुपर्छ ।”

तीजलाई लक्षित गरेर केही वर्ष पहिलेदेखि व्यावसायिक गीत आइरहेकामा त्यसले यस वर्ष पनि निरन्तरता पाएको छ । कोरानाको प्रभाव भए पनि कलाकारले गीत निकाल्न कम भएन । यो वर्ष झण्डै २०० गीत निस्केकमा झण्डै दुई÷चारवटा मात्रैै सफल भएको उहाँले बताउनुभयो ।

पहिले–पहिले तीजलाई महिलाको मात्रै पर्व मानिन्थ्यो र महिलाको मात्रै स्वरमा गीत बजारमा आउने गरेको थियो । पुरुषको सहभागिता बाजा बजाउनेमा वा अप्रत्यक्षरूपमा हुने गरेको थियो । पछिल्लो एक दशकमा हेर्ने हो भने महिला र पुरुषको दाहोरीका रूपमा गीत बजारमा आइरहेको पाइन्छ । गायक पङ्गेनीले भन्नुभयो, “दिदीबहिनीले गाउँ भनेपछि नाइँ भन्न नसकेर तीज गीत गाइरहेको छु ।”

झण्डै दुई दशकदेखि सङ्गीत क्षेत्रमा स्थापित नाम हो बिमाकुमारी दुरा । बाल्कालदेखि नै गीत गाउँदै आए पनि उहाँले तीज गीतको एल्बम बजारमा ल्याउनुभएको झण्डै २० वर्ष भयो । यो अवधिमा बजारमा आउने तीज गीतमा भने आकाश पातालको भिन्नता भएको उहाँको अनुभव छ । पहिले रीतिरिवाज, संस्कार र संस्कृतिका रूपमा तीज मनाइने र तीजका गीत कलाकारले निकाल्ने गरेकामा अहिले त्यो नपाइएको उहाँको अनुभव छ । उहाँँले भन्नुभयो, “अहिलेका तीज गीतमा परम्परा र संस्कृतिको कुरा पाइँदैन ।”

तीज गीतमा गाउँले परिवेशका कुरा र मौलिक भाका विस्तारै हराउँदै गइरहेको दुराले बताउनुभयो । लोकगीत भए पनि कतिपय तीज गीत जहान परिवारसँग बसेर हेर्न मिल्ने खालको छैन । कलाकारले बजारले खाजेको भन्दै जथाभावी शब्द र सङ्गीत दिन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गीत–सङ्गीत स्रोताले मागेर दिने होइन, कलाकारले जस्तो दियो स्रोता, दर्शकले सुन्ने र हेर्ने हो ।”

तीज गीत मात्रै होइन, तीज मनाउने तरिका पनि बदलिएको छ । गाउँघरमा अहिले पनि तीजलाई तीज जसरी मौलिक रूपमा नै मनाइने गरिएकामा सहरको तीज आफूले नबुझेको उहाँले बताउनुभयो । सहरमा आए पनि गाउँबाटै आएकाले पनि तीजको मौलिकता बिर्सिदै छन् । उहाँले भन्नुभयो, “गाउँमा कहिल्यै बदलिँदैन हाम्रो परम्परा र म गाउँबाट आएर होला त्यही मनपर्छ ।”

लोक तथा दोहोरी गायक बुद्धिसागर बस्यालले तीजको गीतले मौलिकता नै झल्काउनुपर्ने बताउनुभयो । तीज गीतमा पुरुषको स्वरभन्दा महिलाको स्वरमा नै हुँदा उहाँलाई राम्रो लाग्छ । अहिले गीत–सङ्गीत सुन्नका लागि भन्दा हेर्नका लागि बनाइएको छ । उहाँले भन्नुभयो, “राम्रो, नराम्रोजस्तो भए पनि बजारमा बिके पुग्छ भन्ने सोचले तीज गीतमा विकृति भित्रिएको छ ।”

तीज गीत धेरै गाउने गायिकामा पर्नुहुन्छ गायिका सुनिता दुलाल । विसं २०६० देखि तीजका गीत गाउँदै आउनुभएकी उहाँको स्वरमा यो वर्ष पनि दुई गीत बजारमा आए । गीतमा समयानुसार परिवर्तन हुनु स्वभाविक भएको उहाँको भनाइ छ । पहिले पहिले बुहारीले श्रीमान्को घरमा विभिन्न किसिमको हिंसा सहनुपर्ने भए पनि अहिले त्यो कम भइरहेको छ । गाउँघरमा पनि महिला शिक्षा बढिरहेकाले हिंसाको घटनामा कमी आउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजसँगै गीत पनि बदलिनु स्वभाविक नै हो ।”

तीज पहिलेभन्दा अहिले व्यापक बन्दै गएको दुलालको अनुभव छ । पहिले पहिले एउटै गाउँमा सीमित भाका अहिले भने राष्ट्रियदेखि अन्तराष्ट्रिय बजारसम्म नै पुगिरहेको छ । देशभित्रभन्दा देश बाहिर यो पर्व अझै भव्यरूपमा मनाउने गरिएको छ । कोभिड सङ्क्रमणको जोखिम भए पनि स्टुडियो ब्यस्त भएकाले समय पाउन गाह्रो भएको उहाँले बताउनुभयो । गत वर्ष र यस वर्षलाई हेर्दा महामारीले पनि बजारमा नयाँ गीत आउन रोकिएको छैन ।

कोरोनाका कारण स्टेज कार्यक्रम हुनसकेको छैन । तीन वर्ष पहिलेसम्म दुलाल असारको अन्तिमदेखि भदौसम्म गरी दुई महिनाभन्दा बढी स्टेज कार्यक्रममा नै व्यस्त हुनुहुन्थ्यो । गत वर्ष एउटै कार्यक्रम हुन सकेन भने अहिले पनि अवस्था झण्डै उस्तै छ । उहाँले भन्नुभयो, “यो वर्ष अनलाइनबाट थोरै कार्यक्रम भइरहेको छ ।”

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण
बाँदरले अन्नबालीलाई नोक्सानी गर्नथालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् । जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा व्यावसायिकरूपमा बाँदरले नोक्सान नगर्ने तरकारी तथा फलफूल खेती सुरुआत गरिएको छ ।

पछिल्लो समय सामुदायिक वन संरक्षणले वन्यजन्तुको सङ्ख्या बढेका छन् । मानव बस्ती नजिकै लोपोन्मुख जनावर अहिले देखिन थालेको किसानको दाबी छ । बाँदर, बदेँल र दुम्सीलगायतका जनावरका कारण किसानले बाली उत्पादनमा नोक्सानी व्यहोर्दै आएका छन् ।

बाँदरले खेतबारीमा मात्र होइन, घरमै पसेर नोक्सानी गर्न थालेपछि आफू गोलभेँडा खेतीप्रति आकर्षित भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका विनबहादुर दर्नालले बताउनुभयो ।

पाँच÷सात रोपनीमा मकैखेती गर्ने उहाँ अहिले व्यावसायिकरूपमा गोलभेँडा खेतीमा लागिपरेका हुन् । यहाँका १०० भन्दा बढी दलित तथा गैरदलित समुदायका मानिस अहिले मकैखेती छाडेर गोलभेँडा खेतीप्रति आकर्षित भएका छन् ।

बाँदरले मकै, सिमी, गोपी, धान बालीमा क्षति गर्छ भने खुर्सानी, अदुवा, कागतीलगायतमा नोक्सानी नै गर्दैन । कोरोनाले अधिकांश युवा भारतमा रोजगारी गुमाएर घर फर्केका छन् । ती युवा पनि अहिले व्यावसायिकरूपमा गोलभँेडा खेतीमा मेहेनत गरी पैसा कमाउने योजनामा छन् । स्थानीयवासी सूर्यबहादुर दर्नालले भारतमा रोजागरी गुमाएर दुई महिनामा घर फर्केर गोलभेँडा र खुर्सानी खेतीमा लागिएको बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बाँदरबाट प्रभावित किसानका लागि नोक्सानी नहुने अन्नबाली तथा फलफूलप्रति आकर्षित गर्ने कार्यक्रम ल्याएको बताउनुभयो ।

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य
प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भत्रे शुभकामना व्यक्त गर्नुभएको छ ।

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा बिहीबार जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, अटल सौभाग्य समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले यस पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको भन्दै हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्न यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह गर्नुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै यसलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ, कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गर्दछु ।”

आन्तरिक पर्यटकको रोजाइ बन्दै गाभर उपत्यका
कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ ।

नेपाल सरकारले सूचीकृत गरेको प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँके, बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा घरबासमा पाहुना घुम्न आउने गरेका छन् ।

मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबासमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन् । कोरोना महामारीका कारण सुनसान हुन पुगेको गाभर भ्याली सामुदायिक घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको चौधरीको भनाइ छ ।

बाहिरी जिल्लाका साथ साथै तीज पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उहाँले बताउनुभयो । “यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ”, उहाँले भन्नुभयो, “तीज पर्व मान्न गृहजिल्ला बाँके आउनुभएका समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।” काठमाडौँमा इञ्जीनियरिङ अध्यापन गर्दै आउनुभएका नेपालगञ्ज–१० का नरेश श्रेष्ठले दशैँ बिदमा घर आएको बेला घरबासको स्वाद चाख्न गाभर पुगेको बताउनुभयो । काठमाडौँमा बस्दा गाभर घरबासबारे जानकारी पाएकाले अहिले दशँँै बिदाको बेला गाभर पुग्ने अवसर मिलेको उहाँले उल्लेख गर्नुभयो ।

यहाँ लगानीसँगै घरबास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार पुराना घरबासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरबास र दुई होटल थपिएका छन् । गाभर भ्याली सामुदायिक घरबासकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याउनुभएको छ ।

घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधासम्पन्न होटलका रूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । “घरबास धेरै भइसकेका छन्, त्यो भन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ”, चौधरीले भन्नुभयो, “पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ ।” विसं २०७० मा सुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरबास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ ।

गाभर भ्याली घरबासमा सुरूका दिनमा रु २०÷३० हजारबाट व्यवसाय सुरू गरिए पनि अहिले कुनै घरले रु २० लाख र कुनैले रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ । “हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । यस्ता सवाल उठान गर्ने गाभर भ्याली घरबास एउटा घरबास मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुआत गर्ने स्थल हो”, उहाँले भन्नुभयो, “गाउँमा घरबास स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।”

बाँकेको पहिलो सामुदायिक गाभरभ्याली घरबासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..