annapurna add

हुम्लाका सातवटै स्थानीय तहले चालु आर्थिक वर्ष २०७७-०७८ को सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण गर्न सकेका छैनन् ।

हरेक आवको मङ्सिरमा पहिलो चौमासिक रकम भुक्तानी गर्नुपर्ने प्रावधानरहि आएको छ ।

दोस्रो चौमासिक रकम भुक्तानी गर्ने समयमा पनि भत्ता वितरण नभएपछि यहाँका नागरिकले गुनासो गर्न थालेका छन् ।

चालु आवमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिँदा वितरण हुन नसकेको बताइएको छ । ताँजाकोट गाउँपालिका– २ का वडाध्यक्ष अजमल बुढाले भत्ता वितरणमा किन ढिलाई भन्ने आफूलाई जानकारी नभएको बताए ।

सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले आफ्नो गाउँपालिमा ५४ लाख मात्र आएको र कोलेनिकाले नै निकासा नदिँदा वितरण गर्न नसकिएको बताए ।

कोलेनिका हुम्लाका पूर्व प्रमुख नरेशराज भट्टले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्लाभरी रकम कम पठाएको, चालुआवमा बैंक खातामार्फत सेवाग्राहीलाई रकम वितरण गर्ने परिपत्र भएको र अहिलेसम्म खाताको विवरण नआएकाले रोकिएको जानकारी दिए ।

यस्तै सिमकोट गाउँपालिकाले वडा नम्बर ५ र ६ मा रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता आगामी फागुनमा एकैपटक वितरण गरिने वडा नम्बर २ का वडाध्यक्ष नरबहादुर भण्डारीले बताए । अधिकांश सेवाग्राहीले बैंकमा खाता सञ्चालन गरेका छैनन् । पहिला घरघरमा पुगेर हातहातमै पाएका नागरिकले यस पटक बैंकमामार्फत वितरण गरिने भएपछि झन्झटिलो भएको उनीहरुको गुनासो छ ।

चालु आवमा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले आ–आफ्नो भत्ता लिनका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने प्रावधान राखिएको छ ।

हरेक गाउँपालिकाले पटकपटक खाता सञ्चालन गर्ने सूचना प्रकाशन गरे तापनि सेवाग्राहीले भने यसप्रति ध्यान दिएका छैनन् ।

बरेङमा ‘बुहारी स्वागत कार्यक्रम’
बरेङ गाउँपालिकाले छोरीबुहारीलाई उच्च शिक्षा र बाल विवाहमुक्त स्थानीय सरकारको लक्ष्यमा टेवा दिन ‘बुहारी स्वागत कार्यक्रम’ शुरु गरेको छ ।

लक्षित वर्ग उत्थानअन्तर्गत सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका सहायक महिला विकास निरीक्षक निशा गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबारदेखि गाउँपालिकाका सबै वडामा ‘बुहारी स्वागत कार्यक्रम’ लागू गरिएको छ । “गत वर्षको पुस २६ गते यता विवाह भएर आएका बुहारीमध्ये तोकिएको मापदण्ड पूरा गर्ने मात्र स्वागत तथा सम्मानका लागि छनोट हुन्छन्”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले बनाएको मापदण्डअनुसार सम्बन्धित वडाले ‘बुहारी स्वागत कार्यक्रम’ सञ्चालन गर्ने बताइएको छ । नवविवाहित बुहारीले स्वागत तथा सम्मान पाउन कम्तीमा ८ कक्षासम्म उत्र्तीण गरेको, स्थानीय पञ्जिकाधिकारीसमक्ष विवाह भएको ३५ दिनभित्र विवाह दर्ता भएको र दुलाहादुलही कम्तीमा सो गाउँपालिकाको फरक वडाको हुनुपर्ने प्रावधान राखिएको छ ।

सम्बन्धित वडाको निर्णयअनुसार नवविवाहित बुहारी छनोट गरी प्रत्येक महिना एक समारोहको आयोजना गरी स्वागत तथा सम्मान गरिने भएको हो ।

उक्त कार्यक्रममा स्थानीय स्वास्थ्यचौकी, आमा समूह, क्लबका प्रतिनिधि र सेवा क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकलाई अनिवार्य उपस्थित गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

बुहारी उपहारमा नवविवाहित जोडीका लागि उपयोगी हुने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक, पारिवारिक योजना निर्माणका लागि चाहिने डायरी, कापी, कलम, स्वास्थ्य एवं सरसफाइसम्बन्धी सामग्री र सम्मान÷प्रशंसापत्र प्रदान गरिनेछ ।

नवविवाहित बुहारीलाई सामाजिकीकरण गराउन, सु–संस्कृत एवं सभ्य समाज निर्माणमा प्रेरित गर्न र आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य गराउन कार्यक्रमले मद्दत गर्ने विश्वास लिइएको छ ।

यस्तै तोकिएको समयमा विवाह दर्ताका लागि प्रोत्साहित गर्नाका साथै व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य तथा सरसफाइमा जोड दिन कार्यक्रमले सघाउने प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ ।

गाउँपालिकाले कोही पनि छोरीबुहारी पढाइबाट वञ्चित हुनु नपरोस् भनेर ‘गाउँपालिकाको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’को सोचसहित विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘गाउँपालिकाको एउटै सन्देश, बाल विवामुक्त हाम्रो सरकार’को लक्ष्यलाई पनि सँगै अघि बढाइएको छ ।

‘उज्यालो बाल बचत’ कार्यक्रममाफत गाउँपालिकाले छोरी जन्मे २० वर्षसम्म मासिक रु एक सय बालिकाको खातामा जम्मा गरिदिन्छ । यस्तै छोरा जन्मेमा भने एकैपटक मात्र रु एक हजार उपलब्ध गराउने गरेको छ ।

शिशुको आमाको विवाह गर्ने उमेर पुगेको, गर्भवती रहँदा नियमित स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा मात्र उज्यालो बाल बचत कार्यक्रममा सहभागी गराइन्छ ।

पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता
तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले दिने निर्णय गरेको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरी पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोशाक दिने व्यवस्थासमेत गरिएको छ । नगरपालिका क्षेत्रभित्र १९ सामुदायिक विद्यालयमा ९१९ विद्यार्थी पूर्वप्राथमिक तहमा अध्ययनरत् छन् । नगरपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचानुसार कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार गरिसकेको र सोकाआधारमा पाठ्यपुस्तक तयार गरी क्रमशः लागू गरिरहेको छ ।

शैक्षिक सत्र २०७६ मा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक लागू गरिएको छ । आगामी शैक्षिकसत्र २०७८ देखि कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यपुस्तक लागू गरिने बताइएको छ ।

ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीप थिके र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको हालसम्मको प्रगति र गतिविधिबारे मन्त्री रायमाझीलाई जानकारी गराउनुभयो ।

आयोजनाको प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारीे छ ।

आयोजना प्रमुख घिमिरेका अनुसार प्याकेज–२अन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युत्गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ ।

प्याकेज–३ अन्तर्गत प्रशारण लाइन निर्माणका काम बारेमासमेत मन्त्री रायमाझीलाई जानकारी गराइएको छ । केइसी इन्टरनेशनले प्रशारण लाइन निर्माणका लागि काम गरिरहेको छ । त्यस्तै प्याकेज एक निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नुपरेकाले निर्माणमा ढिलाइ भएको बताइएको छ ।

निरीक्षणका क्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ तथा ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...