एमालेले संसद अवरुद्ध गरेपछि ‘बजेट होलिडे’ : भोलीदेखि एक रुपैयाँ खर्च गर्न नपाउने !

नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट पास गर्न नसकेपछि नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने पक्का भएको हो। यससँगै बुधबारदेखि सरकारी कोषबाट एक रुपैयाँ पनि खर्च गर्ने अधिकार सरकारलाई हुँदैन। अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटको समयावधि भदौ ३० गतेसम्म हो। त्यसपछि सो ‘मृत’सरह हुन्छ। संविधानको धारा ११४ (ग) अनुसार अध्यादेशमार्फत् ल्याइएको बजेट प्रतिनिधिसभा र राष्ट्रियसभा बसेको ६० दिनभित्रमा पास हुनुपर्छ, यदी पास नभएमा सो अध्यादेश स्वतः निष्क्रिय हुनेछ।

कानुनविद् ओमप्रकाश अर्यालका अनुसार बुधबारदेखि सो अध्यादेशले दिएको सम्पूर्ण अधिकार खारेज हुनेछ। संविधानमा अध्यादेशमार्फत ल्याएको बजेट खारेज भएपछि ऋण लिन नपाउने, संघीय कोषबाट खर्च गर्न नपाउने व्यवस्था रहेको छ। त्यस्तै अध्यादेश खारेज भएपछि राष्ट्रपति र उपराष्ट्रपति समेतले तलब तथा भत्ता पाउने छैनन्।

संविधानको धारा ११८ मा उल्लेख भएअनुसारका पद धारण गरेको सम्पूर्ण पदाधिकारीहरुको तलबभत्ता रोकिने छ भने धारा ११६ मा उल्लेख भएको संघीय सञ्‍चित कोषबाट हुने सम्पूर्ण रकम रोक्का हुनेछ। संघीय सरकारको इतिहासमा पहिलो पटक ‘बजेट होलिडे’ भएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन्। सरकारी खर्च गर्न रोक लागे पनि राजश्व संकलन गर्न अवरोध छैन। आर्थिक विधेयक संसदमा पेस भइसकेकाले सामयिक कर असुली ऐन २०१२ प्रयोग गरेर पुरानो व्यवस्था अनुसारको कर संकलन हुनेछ। तर विनियोजन विधयेकमा परिर्वतन गरेको कर भने संकलन गर्न नपाइने उनको भनाइ छ।

संवैधानिक निकायको खर्च, आन्तरिक तथा बाह्य ऋण भुक्तानी पनि रोकिँदैन। यी खर्च भने संशोधित बजेट अनुसार नै गर्न पाइने पूर्वअर्थसचिव खनालले बताए। तर ती निकायका कर्मचारीहरुको तलव भने रोकिने छ। सरकारी कार्यालयले आकस्मिक खर्च भने सापटी र धरौटीमार्फत चलाउन सक्छन्। स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय भने ‘बजेट होलिडे’का कारण प्रभावित हुन सक्छन्।

तीन वर्षअघि अमेरिकामा ‘बजेट होलिडे’ भएको थियो। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले मेक्सिकोको सिमानामा पर्खाल लगाउने कार्यक्रमसहितको बजेट कंग्रेसमा पेश गरेको थियो। तर, अमेरिकी कंग्रेसले सो बजेट पास नगरिदिँदा ‘बजेट होलिडे’ भएको थियो। तत्कालीन समयमा अमेरिकामा ३५ दिनसम्म सम्पूर्ण सरकारी निकायहरु बन्द भएका थिए। नेपालमा बजेट प्रणाली सुरू भएपछि ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार खर्च गर्न नपाउने अवस्थामा पुगेको छ। संसद्‍बाट बजेट पारित गराउन नसक्दा सरकारले खर्च गर्न नपाउने (बजेट होलिडे) भएको हो।

नेपालमा २००८ बाट बजेट प्रणाली सुरू भएको इतिहास छ। त्यसयता हरेक सरकारले बजेट संसद्‍बाट पारित गराएर खर्च गर्दै आएका थिए। तर, चालु आवको बजेट प्रतिस्थापन गर्न संसद्‍मा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि सरकारले खर्च गर्ने संवैधानिक अधिकार गुमाएको हो।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत् बजेट ल्याएको थियो। सर्वोच्च अदालतको आदेशबाट दोस्रोपटक प्रतिनिधि सभा पुनःस्थापना भएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो। पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटसम्बन्धी अध्यादेशलाई नै नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्माले साउन ३ गतेको संसद्‍मा पेस गरेका थिए। यसरी संसद्‍मा प्रस्तुत भएको अध्यादेश ६० दिनभित्र पारित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार बुधबार (भदौ ३०) सम्म बजेट संसद्‍बाट पारित भइसक्नुपर्ने थियो।

तर, भदौ २३ गतेबाट सुरू भएको संसद्‍ अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गर्‍यो। अवरोधकैबीच अर्थमन्त्री शर्माले बजेटको प्रतिस्थापन विधेयक संसद्‍मा प्रस्तुत गरे पनि पारित हुन सकेन। एमालेको अवरोधका कारण संसद्‍ बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ। यससँगै सरकारले बुधबारबाट खर्च गर्न नपाउने अवस्था आएको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..