महाकालीमा आएको बाढीले बगायो बन्दै गरेको पुल

लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढीले डडेल्धुरामा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । पाँच करोड ५२ लाखमा ठेक्का पाएको राजेन्द्र चाँदनी जेभीले पुल निर्माणको काम गरिरहेको थियो ।

जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुलबुधबारदेखि परिरहेको वर्षासँगै आएको बाढीले बगाएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा र आसपासमा बाढी आउनसक्ने भन्दै चेतावनी दिएको थियो ।

रंघुन–पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा आज दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले सकाइल हुँदै नवदुर्गा गाउँपालिकाको डाँणा वन जोड्ने सडकखण्डको लमखेती गाडमा निर्माण भइरहेको पुल बगाएको बताए ।

‘पानी थुन्न बाँधिएको ड्यामको एक दुई ठाउँबाट निकास दिन खोज्दा माटोको ढिस्को फुटेर ढलान गर्न ठिक्क पारिएको पुल बगाएको छ । पिल्लर नबगाए पनि सटरिङ गरिएका सबै बगाएको छ । ठूलो क्षति नै त भएको छैन ।

जेभीका सञ्चालक आकाश गुरुङका अनुसार करिब ६ वर्षअघि ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असारमा सकिँदैछ थियो भने शुक्रबार पुलको ढलान गर्ने तयारी गरिएको थियो । तर त्यस अगावै आएको बाढीले पुल भत्काएपछि अब सबै काम प्रभावित भएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..