माओवादी केन्द्र निर्माण बारे रमेश मल्लका सुझाव

आदरणीय कमरेडहरु !
विद्यान संशोधन तथा संगठनात्मक कार्यदल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

विषय: सुझाव पेश गरिएको बारे ।

उपरोक्त विषय सम्बन्धमा हाम्रो पार्टीको २०७८ बैशाख १४ गते बसेको स्थायी समितिको निर्णय अनुसार बैशाख २० गतेको मितिमा अध्यक्ष कमरेड प्रचण्डले जारी गर्नु भएको सर्कुलरको बुँदा नं.(ङ) अनुसार पार्टीका विभिन्न समिति र सदस्यहरुलाई पार्टीको संगठनात्मक संरचना निमार्णका लागि केही प्रश्नावली प्रेसित गरिएको रहेछ ।

उक्त परिपत्र र उल्लेखित बुँदाको अध्ययन पश्चात् पार्टीको कार्यदलमार्फत स्थायी समितिलाई सुझाव पेश गर्नका लागि निम्न विषयहरु सुझावको रुपमा पेश गरिएको छु ।

१. पार्टी समिति निमार्ण गर्दा कुन विधि अबलम्बन गर्दा राम्रो होला ? निर्वाचन, आन्तरिक मुल्याँकन वा दुबै विधि अवलम्बन गर्नुपर्ला ?
२. पार्टी समितिको कार्यकारी पदमा रहनको लागि उमेरहद रहने कि नरहने ? रहँदा कति बर्षको उमेर हद कायम गर्ने ? कार्यकालको सिमा राख्ने कि नराख्ने ? राख्दा कति राख्ने ? केन्द्रीय समिति देखी तल्ला समितिसम्मका कार्यकारी प्रमुखलाई यी सिमा राख्ने कि नराख्ने ? राख्दा एकै प्रकारको राख्ने वा फरक फरक राख्ने ?
३. पार्टीलाई उत्पादनसँग जोडन के गर्नुपर्छ ? उत्पादन प्रक्रियालाई सहकारी वा सामुहिक कुन रुपमा अघि बढाउन उपयुक्त हुन्छ ?
४. साविकका जिल्ला समितिलाई साविककै अवस्थामा राख्ने वा जिल्ला समन्वय समिति बनाउने ?

सुझावहरु:

१. पार्टी समिति निमार्ण गर्दा निर्वाचन र आन्तरिक मुल्याँकनको दुबै विधि अवलम्बन गर्दा राम्रो हुन्छ । यसले एकातिर पार्टीलाई नेता केन्द्रीत मनोगत संरचनामा कैद भएर अलगावमा पर्ने खतराबाट जोगाई जनता र कार्यकर्तातिर फर्काउने बातावरण निर्माण गर्छ भने अर्कोतिर पुर्ण रुपमा मास पार्टीमा बदलिएर पार्टीको बुर्जूवाकरणमा जाने बाटो पनि रोक्छ । दुबै विधिको प्रयोग गर्दा अंकभार ६० प्रतिशत निर्वाचनद्धारा र ४० प्रतिशत आन्तरिक मुल्याँकनद्धारा गर्दा उपयुक्त हुन सक्छ ।

२. (क) पार्टीमा उमेर हद कायम गर्दा नै राम्रो हुन्छ । सामाजिक सुरक्षा भत्ता लिने उमेर समुहले स्वत: पार्टीको सक्रिय र कार्यकारी जिम्मेवारीबाट विदा लिनु नै उत्तम हुन्छ । यसरी विदा लिने पुस्तालाई सम्मानीत भुमिका सहित संरक्षक, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा आवद्ध गरि जीवनपर्यन्त पार्टी र क्रान्तिको उठाईरहन प्रोत्साहन गरिनु पर्दछ । कार्यकारी र सक्रिय जिम्मेवारीबाट विदा लिएको समयमा यो पुस्तालाई जीवन निर्वाहको लागि आवश्यक पर्ने वातावरण निर्माण गर्ने, व्यक्तिगत र पार्टीगत जीवनलाई सहज र सरल बनाईदिने र उनीहरुको अनुभवद्धारा पछिल्लो पुस्तालाई प्रशिक्षित गर्न आन्तरिक तथा वाह्य पर्यटनमा निस्कने र पुगेको स्थानमा पार्टी कमिटिलाई प्रशिक्षित गर्ने वातावरण बनाउनु पर्छ ।

(ख) पार्टीमा कुनै पनि तहको पार्टी कमिटिको प्रमुखको लागि कार्यकालको सिमा तोकिनु पर्दछ । यसरी कार्यकालको अधिकतम सीमा दुई कार्यकाल बनाईनु पर्दछ । यो कार्यकालको सिमा सेल कमिटि देखि केन्द्रीय कमिटिसम्मको लागि दूई कार्यकाल नै कायम गरिनु पर्दछ । यसमा कुनै स्थानीय कमिटिहरुमा पार्टी सदस्यको अनुपस्थिति नै नभएको अवस्थालाई अपवाद मान्न सकिन्छ ।

३. पार्टीलाई उत्पादनमा जोड्ने र समाजवादउन्मुख हुने भनेको पार्टी सदस्यहरुलाई सहकारीमार्फत उत्पादन योजनामा जोडने हो । यदाकदा सामुहिक कम्पनी, कृषि समुह र उत्पादन समुहमार्फत पनि कार्य गर्न सकिएला तर सहकारी सबभन्दा राम्रो विकल्प हो ।

४. साविकका जिल्ला समितिलाई जिल्ला समन्वय समितिमा बदल्नु पर्दछ । केन्द्र, प्रदेश र स्थानीय तहलाई कार्यकारी समितिमा रुपान्तरण गर्नु पर्दछ । संघीय एवं प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति र जिल्ला समिति समन्वय कमिटिको रुपमा रहन पर्दछ ।

आदरणीय कमरेडहरु !

आजका दिनमा श्रमीकवर्गको पार्टी निमार्ण यी ४, ५ वटा सुझावको वरिपरीबाट मात्र संभव छैन । यी केही सुचकहरु हुन सक्छन । पार्टीलाई आजको चुनौती सामाना गर्न सक्ने लाल र निपुण अग्रदस्तामा बदल्न थुप्रै वैचारिक राजनैतिक तथा शैक्षिक, प्राविधिक प्रशिक्षणले पार्टी सदस्यहरुलाई लैस गर्न जरुरी छ । जनतातिर फर्किएको र जनताले आशा र विश्वास गर्न योग्य नेतृत्वको टिम तयार गर्ने र त्यसलाई निरन्तर जनताको बिचमा परिक्षित गरिरहने परिपाटी निमार्ण गर्न जरुरी छ ।

अब पार्टीले संचालन गर्ने वैचारिक राजनैतिक अभियानले वामपंथी, कम्युनिष्ट क्रान्तिकारी तथा सच्चा समाजवादीहरुको बलियो केन्द्र बनाउने लक्ष राख्नु पर्दछ । गौरबशाली वलिदानको इतिहास रक्षा गदै अगाडि बढ्ने सारथी जुटाउनु पर्दछ । राजनीति र कुटनिति बिचको भेदको परिभाषा गर्दै सुझबुझपुर्ण कुटनैतिक परिचालन मार्फत देशको स्वाधिनता र अस्तित्व रक्षाको नेतृत्व गर्नु पर्दछ ।

पार्टी भित्रको आन्तरिक जनवादलाई व्यवस्थीत रुपले अभ्यास गर्ने र संस्थागत प्रणालीबाट पार्टी संचालन गर्ने दिशामा नगईकन हाम्रो पार्टी साँचो अर्थमा पार्टी जस्तो बन्ने देखिदैन । पार्टी समितिहरुमा सुझाव संकलन गर्ने र पार्टीलाई जनवादीकरणको दिशामा लैजान नेतृत्वले जुन कदम उठाएको छ, सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

अन्तमा, पार्टीले यावत समस्याहरुको सापेक्षित रुपमा सही समाधान निकाल्न केन्द्रीय समितिको तर्फबाट विद्यानको मस्यौदा तयार गरि विद्यान सम्मेलनको आयोजना गरियोस । विद्यान सम्मेलनबाट पार्टी विद्यानको टुंगो लगाई सकेपछि ६ महिनाको समयावधि तय गरेर पार्टी महाधिवेशनको आयोजना गरियोस भन्ने माग पनि गर्दछु ।

सर्कुलरले सोधिएका विषय बाहेकका केही सुझाव:

१.हाम्रो पार्टीले विगत केही समय यता संगठनात्मक संरचना र नेतृत्व प्रणालीको अभ्यास कुनै संस्थागत प्रणाली भित्र रहेर गरेन । विगतमा एकता र धु्रविकरणको प्रक्रियामा रहेका विभिन्न घटकमा रहेका नेता कार्यकर्ताको उचित मुल्याँकन गर्न र जिम्मेवारी दिन भएको कठिनाईलाई सहज हल खोज्न खोज्दा हजारौंको संख्याका कमिटि प्रणाली निमार्ण बन्न गए । जसको परिचालन असंभव प्राय: थियो । नेकपाका दुई धारको बिचमा एकता सम्पन्न गर्दा केन्द्रीय समिति देखि प्रदेश हुँदै जिल्ला कमिटिसम्म, जनवर्गीय संगठन देखि पार्टीका विभागहरुसम्मको कार्यविभाजनमा भद्रगोल संगठनात्मक अवस्था नेतृत्व छनौट गर्ने अवस्थालाई नेतृत्वले जर्बजस्त टुँगोमा पुर्यायो ।

त्यतिवेला संगठन निर्माण र नेतृत्व चयनमा कयौं त्रुटीहरु भएका छन । कतिपय कमरेडहरुको हकमा पार्टीमा सापेक्षित रुपमा क्रियाशिल, कुशल र योग्यतम हुँदाहुँदै पनि पार्टी भित्रका विभिन्न मनोविज्ञान र विभिन्न तहका नेतृत्वसँगका व्यक्तिगत सम्बन्धका आधारमा तलमाथि पारिए । पार्टी विभाजन र माओवादी केन्द्र पुर्नगठनको यो चरणमा आउँदा मुल नेतृत्व र वरिपरि भएका जिम्मेवार नेताहरुले पार्टी एकताका बखत नेतृत्वमा निर्माणमा देखा परेका असन्तुलनलाई सापेक्ष हल गरि जाने विषयलाई प्राथमिकतामा राख्नु पर्दछ । देशभरबाट निश्चित संख्यालाई केन्द्रीय समितिमा सम्बोधन गर्ने र तत् अनुसार प्रदेश र जिल्लामा नेतृत्वको समस्या हल गरिनु पर्दछ । हिजो आज जे जति विषयहरु छलफलमा भएता पनि तत्कालीन संगठनात्मक हल यसरी नै गरियोस भन्ने जोडदार माग पेश गर्दछु ।

२. पार्टीमा युवा पुस्तालाई भर्ति गर्ने, महिला र दलितको उल्लेखनीय प्रतिनिधित्व गराउने कुरा धेरै राम्रो कुरा हो । हामीले पार्टी निमार्ण गर्दा पुरानो समाजले खडा गरेका प्रतिक्रियावादी संरचनाले उत्पीडनमा परेका वर्ग जाती क्षेत्र लिंग र विभिन्न उत्पीडित समुदायको समुचित प्रतिनिधित्वमा ख्याल राख्नै पर्दछ । समाजमा महिला, दलित र उर्जाशिल युवा समुदायको सहभागीताको कुरा गर्दा अन्य जनवर्गका पार्टी सदस्यहरुमा पनि यो भावना भड्कीरहेको कुरालाई नेतृत्वले बेलैमा ध्यान पुर्याओस भन्ने सुझाव छ ।

३. पार्टी एकता र विभाजनको प्रक्रियाबाट गुज्रेको र लामो समय देखि संस्थागत प्रणालीको विकास अवरुद्ध भएको अवस्थामा पार्टीले संगठनात्मक संरचना र नेतृत्व प्रणालीलाई तत्कालको लागि संयोजनकारी भुमीका सहित पुर्नगठन गरिनु पर्दछ । संगठनको संरचना र नेतृत्व प्रणालीबारे आवस्यक बहस र विमर्शमार्फत टुँगोमा पुर्याउन केन्द्रीय समितिबाट विद्यान तयार गरि विद्यान सम्मेलनमा लैजानु पर्दछ । बरु त्यो विद्यान सम्मेलन जतिसक्यो छिटो बोलाउनु पर्दछ । कोभिड १९ को कारण संभव भएन भने प्रदेशगत रुपमा भर्चुअल माध्यामबाट भएपनि विद्यान सम्मेलनको कोर्स पुरा गरिनु पर्दछ । यो सम्मेलनमा हाल मनोनित गरिने जिल्लाको संयोजक, प्रदेश कमिटि सदस्यहरु, केन्द्रीय आयोग, विभागका पदाधिकारीहरु र केन्द्रीय जनवर्गिय संगठन तथा मोर्चाका प्रमुखहरु, पार्टीको तर्फबाट संघीय सांसद, प्रदेश सांसद तथा स्थानिय पालिकाका अध्यक्ष तथा प्रमुख र जिल्ला समन्वय प्रमुखहरु लगायत ठोस परिभाषा गरिएका व्यक्तिहरुलाई बोलाईनु पर्दछ ।

४. विद्यान सम्मेलनले टुँगो लगाएको विद्यानमा टेकेर सदस्यता वितरण र नविकरण, स्थानिय तहको अधिवेशन, प्रदेश अधिवेशन र राष्ट्रिय महाधिवेशनको आयोजन गरिनु पर्दछ । जिल्ला कमिटिलाई समन्वय कमिटि बनाउने भएकोले अधिवेशन गर्नु परेन ।

५. यो विचमा माओवादी पृष्ठभुमी बोकेका र विभिन्न कम्युनिष्ट घटकहरुसँग पार्टी एकता र धु्रविकरणको सचेत प्रयत्न जरुरी देखिएको छ ।

६. मैले देखेको पार्टी निमार्ण विधि र विकल्प यही हो । पार्टीको केन्द्रीय समितिबाट अन्तरिम विद्यान टुँगो लगाउँ तर पुर्ण विद्यानको अभ्यास नगरौं । सम्मेलन, अधिवेशन र महाधिवेशनले गर्ने काम पनि केही निश्चित नेतृत्व बसेर गर्नेे काम नगरौं । यसरी पार्टी बन्दैन । आजको सन्दर्भमा पार्टी निर्माणलाई बढी भन्दा बढी सहभागितामुलक र जनवादी प्रक्रियाबाट गरिनु पर्दछ । जसले निर्णयमा पार्टीका धेरै भन्दा धेरै कमरेडहरुको अपन्वत्व होस । धन्यवाद ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..