राजधानीमा मोनो (स्काई) रेल कुद्ने, कस्तो हुन्छ त ?

 काठमाडौं महानगरपालिकाले साइमेक्स इन्कसँग राजधानीमा मोनो (स्काई) रेल को सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको छ । माघ २६ मा भएको सम्झौताअनुसार साइमेक्सले नि:शुल्क सम्भाव्यता अध्ययन गर्नेछ भने त्यस क्रममा आइपरेका कानुनी जटिलता र सरकारी क्षेत्रबाट आएका समस्या महानगरले हटाउनेछ । ‘कुनकुन ठाउँमा मोनो रेलले सुविधा दिन सक्छ, कति खर्च लाग्छ ती सबैको अध्ययन गरी प्रतिवेदन तयार गर्ने सम्झौता भएको छ,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘यसले राजधानीमा प्रदूषण पनि कम हुनेछ भने साना सवारी साधन स्वत: विस्थापित हुनेछन् ।’

ट्राफिक जामको समस्याले पनि स्काई रेल निकै उपयोगी हुने प्रवक्ता कार्कीले बताए । १ वर्षमा विस्तृत प्रतिवेदन आउनेछ । ‘तत्कालका लागि भने २/३ महिनामा नारायणगोपाल चोकदेखि रत्नपार्कसम्म वा एयरपोर्टदेखि रत्नपार्कसम्मको अध्ययन प्रतिवेदन बुझाउँछौं,’ साइमेक्सका महाप्रबन्धक नरेश श्रेष्ठले भने । 

सर्वसाधारणलाई ओहोरदोहोरमा सहज होस् भन्ने उद्देश्यले मोनो रेलको सम्भाव्यता अध्ययन गर्न लागेको श्रेष्ठको भनाइ छ । सम्भाव्यता अध्ययन प्रतिवेदन सकारात्मक देखिएपछि लागत विश्लेषण गरिने र तत्पश्चात् निर्माणका सन्दर्भमा छलफल हुनेछ । साँघुरा घना बस्तीमा मेट्रो रेलभन्दा वातावरणमैत्री मोनो रेल गुडाउन सकिनेलगायत फाइदा भए पनि यसको गति र क्षमता तुलनात्मक रूपमा मेट्रोभन्दा कम हुन्छ ।

दुई ट्रयाक वा लिक नचाहिने र एउटै ट्रयाकमा गुड्ने हुँदा यसलाई ‘मोनो रेल’ भनिएको हो । यसमा लागेको तेर्सो रबरको पांग्राले ट्रयाकलाई दुवैतिरबाट जकडेको हुन्छ । मोनो रेल गुड्न ठाउँठाउँमा ठडयाइने पिलर (मोनो बिम) ले ट्रयाकहरूलाई जोडेको हुन्छ । यसमा ७/८ वटा ‘बोगी’ (डिब्बा) हुन्छन् । तर, काठमाडौंमा बनाउनुपर्ने भए स्थान अभावका कारण मोडमा गाह्रो हुन सक्छ । त्यसैले एउटामा २ सयजना अट्ने गरी ३/४ वटा बोगी रहने साइमेक्सले जनाएको छ ।

लागत पनि मेट्रोभन्दा ८० गुणा कम लाग्ने साइमेक्सको अनुमान छ । त्यसैगरी निर्माणको समयावधि पनि मेट्रोभन्दा ३ गुणा कम लाग्छ । विद्युत्बाट चल्ने भएकाले वायु र ध्वनि प्रदूषण निकै कम हुन्छ । स्वास्थ्यमा पनि कम असर हुन्छ । यसमा लिथियम आयोन फस्फेट ब्याट्री लाग्ने र एकपटक चार्ज भएपछि त्यसले १० किमिसम्म रेल कुद्न सक्छ । ६ हजार साइकल अर्थात् ६ हजारपटक चार्ज गर्न सक्ने आयु भएको ब्याट्री लगाइनेछ ।

एकपटक ब्याट्री लगाइसकेपछि २० वर्षका लागि ढुक्क भइने र मर्मतको झन्झटबाट पनि मुक्त भइने साइमेक्सको दाबी छ । काठमाडौंजस्तो घना बस्ती भएको स्थानमा ठूलो रेल भए घर्षणले उत्पन्न हुने आवाज र जमिन थर्किंदा घरहरू चर्किने सम्भावना हुन्छ । तर, मोनो रेलले यो सम्भावना निकै कम रहने प्राविधिक बताउँछन् । काठमाडौंको माटो र भूकम्पको जोखिमका साथै अत्यन्त भारी लगानीका कारण पनि मेट्रोभन्दा मोनो उपयुक्त देखिएको हो ।

अर्को सकारात्मक पक्ष यसले ओगट्ने क्षेत्र हो । मोनो रेलका लागि सानो सडक चाहिने हुँदा कमै स्थान र संरचना भत्काउनुपर्ने हुन्छ । सडकभन्दा ३ फिटमाथि मोनो रेल बनाउन लागिएको छ । यसका लागि थोरै दूरीमा पिलर ठडयाउनुपर्ने हुन्छ ।

लगानी बोर्डले पनि राजधानीमा रेलको सम्भावनाबारे अध्ययन गरिरहेको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रेल विभाग स्थापनाको उद्देश्य पनि रेल तथा मेट्रो यातायात निर्माण गर्नु हो । जसले भए पनि यथाशीघ्र राजधानीमा रेल निर्माणको आवश्यकता रहेको महानगरका कर्मचारी बताउँछन् । 

महानगरका प्रवक्ता कार्कीले भने, ‘प्रतिवेदन आइसकेपछि हामी सरकारसँग बसेर छलफल गर्नेछौं । उपत्यकाका तीनै जिल्लाको केन्द्र काठमाडौं महानगरपालिका भएकाले सक्ने देखिए पब्लिक प्राइभेट पार्टनरसिप मोडेलमा हामी सरकारको स्वीकृति लिएर आफैं पनि बनाउनेछौं ।’ मेट्रोभन्दा ८० प्रतिशत कम लागत लाग्ने, ८० देखि १ सय २० किमि प्रतिघण्टाको गतिमा कुद्ने, उपत्यकाका निकै कम संरचना भत्काइनेजस्ता फाइदाका कारण महानगरले मेट्रो रेलभन्दा मोनो रेलमा चासो दिएको कार्कीले बताए ।

यसका लागि आवश्यक बिजुली सरकारले उपलब्ध गराउन नसके साइमेक्स आफैंले पनि विद्युत् उत्पादन गरी सञ्चालन गर्ने तयारीमा रहेको कम्पनीको भनाइ छ । लागत कम लागेपछि स्वत: सर्वसाधारणलाई पनि यात्रामा कम खर्च लाग्ने महानगरको अपेक्षा छ । 

‘नेपालमा अध्ययन गरेको १ वर्षभित्रैमा निर्माण सम्भव छ,’ साइमेक्सकी यमुना श्रेष्ठले भनिन्, ‘सम्भाव्यता अध्ययनपछि १/२ वर्षमा बनाउनेछौं ।’ आवश्यक प्रविधि साइमेक्सले हङकङको बीवाईडी (बिल्ड योर ड्रिम्स) नामक कम्पनीबाट झिकाउने तयारीमा छ ।

रिचार्जेबल ब्याट्री, नवीकरणीय ऊर्जाबाट चल्ने वातावरणमैत्री इलेक्ट्रिक सामान तथा परम्परागत ऊर्जाको स्रोतलाई विस्थापित गर्दै बीवाईडीले विद्युतबाट चल्ने उपकरण उत्पादन गर्ने गरेको छ । बीवाईडीसित चीनको सेन्जेनमा स्काइरेल गुडाइसकेको अनुभव छ ।(कान्तिपुर सहकार्य)

Kantipath Media

यो छुट्टाउनु भो कि..