annapurna add

sdddप्यूठान नगरपालिका–३ विजयनगरवासीले करीब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् ।

प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो ।

वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन ।

आर्थिक वर्ष २०७५÷०७६ र आव २०७६÷७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो ।

आव २०७५÷७६ मा करीब ८० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । त्यस्तै आव २०७६÷७७ मा पहिरो व्यवस्थापन, सडक चौडा, सवारीसाधन जानका लागि सिलिप निर्माण र होम पाइप राखिएको श्रेष्ठले बताउनुभयो ।

सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७५÷७६ मा रु २१ लाख ३१ हजार र आव २०७६÷७७ मा वडा कार्यालयबाट विनियोजित रु दुई लाख ८५ हजार बजेटमा सडक निर्माण सम्पन्न भएको हो ।

धेरै पटक सडक बनाउनका लागि बजेट विनियोजन भए पनि सही ढङ्गले काम नभएपछि आफ्नो नेतृत्वमा उपभोक्ता समिति गठन गरी दिगोरुपमा सञ्चालन हुने मनसायका साथ सडक निर्माण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

लामो समयदेखि सडकको पर्खाइमा रहेका विजयनगरका स्थानीयवासी हाल सडकको पहुँचमा पुगेका छन् । सडक निर्माण भएसँगै यस क्षेत्रका करीब तीन हजार घरधुरीका जनता प्रत्यक्ष लाभान्वित भएको उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सडक निर्माणले विजयनगरसँगै विजुवार क्षेत्रका केही जनता र दाखाक्वाडी क्षेत्रका केही जनता पनि प्रत्यक्ष लाभान्वित भएको उहाँले बताउनुभयो ।

विकास निर्माणका कामले यस ठाउँसम्म निरन्तररुपमा सवारी साधन चल्ने हुँदा स्थानीयवासीलाई थप सहजता मिलेको उहाँको भनाइ छ । लामो समयदेखि सडकको समस्या भोग्दै आएका यहाँका नागरिकले सडक निर्माणको काम सम्पन्नपश्चात् राहत मिलेको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा सडक नहुनु र भए पनि साँघुरो हुँदा वर्षेनि मोटरसाइकल दुर्घटना हुनाका साथै कैयौँ व्यक्तिको ज्यानसमेत गएको थियो । नगरपालिका क्षेत्र भए पनि बजार क्षेत्रकै छेउमा रहेको सडक लामो समयदेखि निर्माण नहुँदा स्थानीयवासी चिन्तित भएका थिए ।

“सडक नहुँदा स्थानीयवासीलाई आवातजावत गर्नसमेत समस्या थियो”, स्थानीयवासी तिलबहादुर घर्तीले भन्नुभयो, “लामो प्रतीक्षापछि सडक बन्यो अब समस्या हल हुने विश्वास लिएको छु ।” सडक बनेसँगै स्थानीयवासी खुशी भएको उहाँले बताउनुभयो ।

सडक सम्पन्न भएसँगै पढ्नका लागि आवतजावत गर्ने विद्यार्थीसँगै विजय नगरवासीलाई फाइदा पुगेको उहाँको भनाइ छ ।

मकवानपुरमा निर्वाचन तयारी : मतदानस्थल र केन्द्र पुनवलोकन गरिँदै
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न निर्वाचनलाई लक्षित गरी जिल्लामा आवश्यक काम अघि बढाएको छ । कार्यालयले मतदानस्थल र केन्द्रको पुनरवलोकन तथा प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कामको तयारी थालेको जनाएको छ । अघिल्लो निर्वाचनमा तय गरिएका मतदानस्थल र केन्द्रको पछिल्लो अवस्था साथै आवश्यक स्थानमा पुनरालोकनका लागि काम अघि बढाइएको जिल्ला मतदानस्थल पुनरावलोकन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनको अवस्था हेर्दा मकवानपुरमा एउटा मतदानस्थलमा बढीमा आठ हजार २०० सम्म मतदाता सङ्ख्या रहेको थियो । यद्यपि अहिलेको समय सन्दर्भमा मतदातालाई पर्ने पायक स्थानमा व्यवस्थापन गर्ने गरी मतदानस्थल र केन्द्रकोे व्यवस्थापन गरिने योजना रहेको प्रजिअ रिजालले भन्नुभयो ।

यसैगरी जिल्लाको सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि काम अघि बढाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । सोअनुसार आगामी माघ १५ गतेदेखि सबै स्थानीय तहमा १०÷१० सहायक नाम दर्ता अधिकारी खटाइने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि त्यस विषयमा जिल्ला निर्वाचन कार्यालय मकवानपुर आफ्नो तयारी शुरु गरेको जनाएको हो । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएसँगै मकवानपुरमा निर्वाचनका निमित्त आवश्यक अन्य तयारी तथा प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरका प्रजिअ गोविन्दप्रसाद रिजालको संयोजकत्वमा रहने जिल्ला मतदानस्थल पुनरावलोकन समितिको बैठकसमेत सम्पन्न भएको बताइएको छ । सो बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरस्थित स्थानीय तहका प्रमुख, जिल्ला सुरक्षाप्रमुख तथा निर्वाचन कार्यालयका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो ।

विसं २०७४ मा सम्पन्न निर्वाचनमा मकवानपुरमा १६४ मतदानस्थलमा ३२४ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार आसन्न निर्वाचनमा मकवानपुर जिल्लामा करीब दुई लाख ७२ हजार ४७८ जना मतदाता हुने प्रारम्भिक अनुमान छ । मतदाता सङ्ख्या तथा दूरीको हिसाबले मतदान केन्द्र तोकिएको थियो । यसअघि निर्वाचन आयोगले मतदान केन्द्रको मापदण्ड निर्वाचन कार्यालयमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

उहाँले मतदान केन्द्र मापदण्डअनुसार मतदानस्थल परिवर्तन हुन सक्ने भए अर्को बैठकमा पेश गर्ने बसेको समितिको बैठकले निर्णय गरेको जानकारी दिनुभयो । माघ १० गतेसम्म स्थानीय तहका राजनीतिक दलका व्यक्ति स्थानीयवासीसँग छलफल गरेर मापदण्डअनुसार मतदान केन्द्र थपघट तथा फेरबदल हुन सक्ने उहाँले भन्नुभयो ।

स्थानीय तहबाट मतदान केन्द्र पायक पर्ने स्थानमा भए अर्थात् मापदण्ड पुग्ने भए मतदान केन्द्र परिवर्तनलाई जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिले निर्वाचन आयोगलाई सिफारिस गर्नेछ । प्रजिअको संयोजकत्वमा रहने मतदान केन्द्र पुनरावलोकन समितिको बैठक आगामी माघ १० गतेभित्र बस्ने भएको छ । सरकारले निर्वाचनको घोषणा गरेपछि स्थानीय तहमा आमजनताबीच निर्वाचनको विषयमा छलफल तथा विचार विमर्शहरु शुरु भएको पाइएको छ । अहिले सर्वोच्च अदालतमा फैसलाका क्रममा रहे पनि देशलाई राजनीतिक निकास दिन निर्वाचन नै उत्तम विकल्प रहेको हेटाँैडावासीको भनाइ छ ।

प्राध्यापक ललित दासले निर्वाचनमा जाने विषयलाई सबै दलले स्वीकारसमेत गरेको देखिएकाले निर्वाचनलाई नकार्न नसकिने विचार व्यक्त गर्नुभयो । यस्तै स्थानीय हरिप्रसाद रिजालले स्थायी शान्तिका लागि दलहरु सहमत हुनुपर्ने र विकासको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।

जन्मजात मोतिविन्दुका बिरामी फेला
अत्यन्त दुलर्भ मानिएको जन्मजात मोतिविन्दु रोगबाट ग्रसित आठजना बिरामी पर्सा जिल्लाको विभिन्न स्थानबाट फेला परेका छन् ।

माट्रिका आई फाउन्डेशनले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १३ देखि ३१ वर्ष उमेर समूहका आठजना जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएका हुन् ।

जिल्लाका विभिन्न २८ स्थानमा फाउन्डेशनले आयोजना गरेको शिविरबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दुका रोगीमध्ये चार पुरुष र चार महिला जन्मजात मोतिविन्दु रोगका बिरामी भेटिएको फाउन्डेशनका मेडिकल कोर्डिनेटर महेश सिंह धामीले जानकारी दिनुभयो ।

उहाँले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट सबैभन्दा कम उम्मेरका १३ वर्षीय आशीष चौधरी फेला परेका छन् भने जिराभवानी गाउँपालिकाबाट सबैभन्दा बढी उम्मेरका ३१ वर्षीय हरेराम राम भेटिएको जानकारी दिनुभयो ।

बालबालिकामा हुने पोषणको कमी, ठेउला रोग र गर्भ अवस्थाका बेला महिलाले सेवन गर्ने कडा औषधिका कारण बालबालिकामा मोतिविन्दु हुने गरेको मेडिकल कोर्डिनेटर धामीले बताउनुभयो । गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र बालबालिकाको प्रत्येक ६ महिनामा आँखाको परीक्षण गरे यो रोगबाट जोगिन सकिने उहाँको भनाइ छ ।

पर्सा जिल्लाका विभिन्न स्थानबाट भेटिएका दुई हजारभन्दा बढी मोतिविन्दु रोगीको फाउन्डेशनले निःशुल्क शल्यक्रिया गरेपछि उनीहरु अहिले आँखा देखिने भएका छन् ।

महिला उद्यमशीलता कोष स्थापना
महिला उद्यमीहरुको छाता संस्था महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमशीलता कोष स्थापना गरेको छ ।

महासङ्घको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज संस्थाका अध्यक्ष रीता सिंह वैद्यले महिलाको उद्यमशीलता विकासका लागि ‘मेरो सहयोग उद्यमशीलता विकास’ भन्ने सोचका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गर्न शुरु भएको जानकारी दिनुभयो ।

कोषबाट महिला उद्यमीको व्यवसायको बजारीकरण, सङ्कलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जना गर्न रकम खर्च गरिने जानकारी दिनुभयो ।

सभाका अवसरमा महासङ्घको यस वर्षको उत्कृष्ट जिल्ला सङ्घ पुरस्कार झापा, चितवन, पाल्पा र इलाम जिल्लालाई प्रदान गरियो ।

उत्कृष्ट सदस्यमा सरोजनी शेरचन र उत्कृष्ट कर्मचारीमा राजु राईलाई पुरस्कृत गरिएको थियो । सभामा महासचिव सुनिता श्रेष्ठ वैद्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन छलफलसहित पारित भएको थियो ।

पक्की पुल निर्माणको सम्झौता
पुल अभावका कारण आवतजावतमा समस्या झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलामा रु ३३ करोडको लागतमा पाँच पक्की पुलको निर्माणका लागि आज सम्झौता गरिएको छ ।

मनहरि गाउँपालिका तथा पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबीच आज सम्झौता भएको गाउँपालिकाले जनाएको छ । विभिन्न चार स्थानमा पुलको निर्माण गर्न हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणका लागि भैरवनारायण जेभीलाई ठेक्का दिइएको बताइएको छ ।

गाउँपालिकाको लागि टार र वडा नं ४ को टुग्रा जोड्ने पुल, वडा नं ४ को गोलघर र वडा नं ३ को मिलडाँडा जोडने पुल र कालिदमार जोड्ने पुल तथा वडा नं १ र २ लाई जोडने गरी पक्की पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

हाँडीखोला क्षेत्रमा खोला तथा खहरेमा पुल अभावको समस्या भोग्दै आएको त्यस क्षेत्रमा २४ महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ती पुलको निर्माणपछि मनहरि गाउँपालिका–१ र २ का बासिन्दालाई हेटाँैडा उपमहानगरपालिका भएर मनहरि गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष उप्रेतीको भनाइ छ ।

पुरानो बस्तीलाई घरबाससहितको नमूना बनाइने
भूकम्प गएपछि भत्किएका यहाँका पुराना घरका परम्परागत शैलीलाई संरक्षण गर्ने गरी निर्माणको अभियानसहित यहाँका बासिन्दा जुटेका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौरमा रहेको पुरानो बस्ती २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण गर्ने क्रममा घरबाससहितको अवधारणामा बस्तीलाई नमूना एकीकृत बस्तीको रुपमा निर्माण गर्न स्थानीय बासिन्दा लागिपरेका हुन् ।

नेवार समुदायको बसोबास रहेको सो बस्ती करीब ४०० वर्ष पुरानो भएको जानकारहरु बताउँछन् । अहिले सो बस्तीलाई सफा, सुन्दर र हराभरा बनाउनका लागि यहाँका बासिन्दा क्रियाशील छन् । भूकम्पले त्यहाँका समुदायका धेरैजसो घर क्षति बनाएपछि पुरानै शैलीमा पुनःनिर्माण गर्ने क्रम जारी रहेको छ ।

त्यससँगै बस्तीबीचमा रहेको भीमसेन मन्दिर पूर्णरुपमा क्षति पु¥याएपछि पुरातत्व विभागको सहयोगमा पुनःनिर्माणको काम अगाडि बढिरहेको छ ।

स्थानीय मोहनदास श्रेष्ठका अनुसार काभ्रेपलाञ्चोकको पलाञ्चोक र साँगा तथा काठमाडौँको साँखुबाट गएर पिपलचौरमा बसोबास गरेका नेवार समुदायका करीब ८० घरधुरी रहेका छन् । सो बस्ती पुनःनिर्माणको क्रममा पुरानो शैलीलाई संरक्षण गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

‘‘तीन ठाउँबाट आएर पुर्खाहरुले बसाएको हाम्रो यो पुरानो बस्तीलाई नयाँ ढङ्गले विकास गरी नमूना एकीकृत बस्ती निर्माण गर्न विभिन्न सङ्घ÷संस्थाको सहयोगमा अगाडि बढिरहेका छौँ’’ उहाँले भन्नुभयो, “यहाँको पुरानो संस्कृति भनेको माघ महिनाको द्वादशीका दिन लाग्ने भीमसेन जात्रा हो, जुन सबैभन्दा पुरानो छ ।”

यहाँ भीमसेनको रथ खट जात्रा र कृष्णाष्टमीमा कृष्ण खट जात्रा मनाउने गरिन्छ । समुद्री सतहबाट करीब एक हजार ३०० मिटर उचाइमा रहेको सो बस्ती नेपालको पूर्वी व्यापारिक नाकाको रुपमा समेत रहेको छ । तीन ठाउँबाट आएर बसोबास गर्दै आएका नेवार समुदायको तीन छुट्टाछुट्टै गुठी रहेको र सोही गुठीद्वारा कृष्णाष्टमी जात्रा र भीमसेन जात्रा मनाउने गरेको उहाँले बताउनुभयो ।

अर्का स्थानीय युवा प्रकाश श्रेष्ठले नमूना एकीकृत बस्ती निर्माणको प्रक्रियासँगै बस्तीलाई सफा र स्वच्छ राख्ने काम सबैको हातेमालोमा भइरहेको बताउनुभयो । रोटरी सामुदायिक सङ्घ पिपलचौरका अध्यक्ष सविना श्रेष्ठले युवाको सक्रियतामा आफ्नो बस्तीलाई नमूना एकीकृत बस्तीको रुपमा विकास गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष अशोक श्रेष्ठले बस्तीलाई नमूना बनाउने काममा रोटरीले आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।

पिपलचौरका नेवार बस्ती शान्त, मनोरम र पुराना बस्ती भएका कारण यहाँका नेवार समुदायको पहिचान स्थापित एवं संरक्षणका लागि संस्थाले पहल गरिरहेको उहाँको भनाइ छ । अहिले सो बस्तीमा क्लबको सहयोगमा सरसफाइ अभियान निरन्तर सञ्चालन गर्नुका साथै सांस्कृतिक र पर्यटकीय बस्तीको रुपमा विकास गर्न आवश्यक प्रक्रियालाई अगाडि बढाइरहेको छ ।

रोटरी सामुदायिक सङ्घको अगुवाइमा त्यहाँका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न घरबास निर्माण कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको सङ्घले जनाएको छ । सो ठाउँमा विसं १९७२ को अभिलेख तथा मन्दिरमा प्राचीनता झल्काउने स्मारक यथावत् रहेको कारण त्यहाँको बस्ती धेरै पुरानो भएको स्थानीय बासिन्दा बताउँछन् ।

बस्तीको बारेमा थप प्रचार गर्न र एकीकृत नमूना बस्ती बनाउनका लागि आवश्यक कृषि, हरियाली, सरसफाइ घरवास९होमस्टे०, गोबरग्यास र खानेपानी, प्रचारप्रसारका साथै तालीमको व्यवस्थापनलगायतको काममा रोटरीले सहयोग गरेको रोटरी क्लब अफ धुलिखेलका प्रशासन प्रमुख मनिश योगलले बताउनुभयो ।

सो गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउनका लागि सबै मिलेर लागिरहेको उहाँको भनाइ छ । त्यससँगै पिपलचौरको पर्यटन प्रवद्र्धनका लागि पिपलचौर–ऐंसेलुचौर–डाँडागौडा–हुँमागाईथोक–दाप्चा–श्यामपाटी–नमोबुपाँडेगाउँ–खोलीखेत हुँदै पिपलचौर पदयात्रासमेत गर्न सकिने सो ठाउँमा पिपलचौर–मथुरापाटी–फुलबारी–नमोबुद्ध–दाप्चा, पिपलचौर–भकुण्डे–तेमाल तथा धुलिखेल–काभ्रेकोट–फस्कोट–फुलवारी–मथुरापाटी पिपलचौर साइकल यात्रासमेत गर्न सकिने सम्भावना रहेको रहेको छ ।

यस बस्तीमा अहिले सांस्कृतिक संरक्षणको अभियानसँगै होमस्टे सञ्चालन गरी स्थानीय कृषि उत्पादनको जैविक स्वादिष्ट परिकारको व्यवसायीकरण एवं बसाइँको अनुभव सँगाल्न सकिने गरी व्यवस्थापन गर्ने कामको प्रक्रिया अगाडि बढिरहेको रोटरी सामुदायिक सङ्घ पिपलचौरले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय उपभोक्ता समितिको श्रमदान गरी रु एक करोड ६६ लाखमा सो बस्तीको बीचमा रहेको बाटोमा ढुङ्गा छाप्ने कामसमेत सम्पन्न भई हस्तान्तरण गरिसकेको छ ।

धुलिखेल नगरपालिका–११ डाँडागाउँको बिपी राजमार्गबाट बुच्चकोट हुँदै सो बस्तीसम्म पुग्ने मोटरबाटोको सुविधा भएकाले मानिसहरुको चहलपहल निकै रहेको स्थानीय बासिन्दा मोहनदास श्रेष्ठ बताउनुहुन्छ ।

बृहत् पूर्ण इजलासको मागमा महान्यायाधिवक्ताको असहमति
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, रमणकुमार श्रेष्ठ, हरि उप्रेती, दिनेश त्रिपाठी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापाले आज बिहान बहस शुरु गर्नुभयो ।

उहाँहरुले पाँच न्यायाधीशले मात्र न्याय निरुपण गर्न कठिन हुने भएकाले बृहत् पूर्ण इजलास राखी विगतमा जस्तै कम्तीमा ११ जना न्यायाधीशमार्फत सुनुवाइ र फैसला गर्नुपर्ने माग गर्नुभयो ।

सो सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारका प्रमुख कानूनी सल्लाहकारको धारणा बुझ्न खोज्दा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहत् पूर्ण इजलासप्रति सहमति नभएको स्पष्ट गर्नुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिनुभएको थियो ।

प्रधानन्यायाधीश राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत बुधबार सुनुवाइ शुरु भएकामा न्यायाधीश कार्कीबारे प्रश्न उठेपछि आज उहाँका स्थानमा न्यायाधीश सपना मल्ल तोकिनुभएको छ । न्यायाधीश कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उहाँका स्थानमा आज मल्ल तोकिनुभएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेको अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । यही पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कल प्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी (एमिकस क्युरी) मा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिश गरेका छन् ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएको थियो । राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले रिट निवेदन दायर गर्नुभएको थियो ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भए गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम
कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन अवधि बढाइएको हो । उहाँले भन्नुभयो, “समयमै सकाउन सकिन्छ भन्ने लागेको छ ।”

सुरुङमार्गमा अहिले २०÷२२ जना जापानी र ३०० नेपाली काम गरिरहेका छन् । यो आवमा वैदशिक लगानीको सडकजस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले जनाएको छ । जुन गतिमा गर्नुपर्ने हो अझै पनि त्यो गतिमा गर्न नसकिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाप्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार दिनमा काम गर्ने घण्टा बढाउँदा धेरै काम अघि बढ्नेछ । उहाँले भन्नुभयो, “तोकिएको अवधि ४२ महिनामा नै सकाउने गरी काम भइरहेको छ ।”

कतिपय सरकारी निर्णय प्रक्रियालाई समय लाग्ने कारणले पनि ढिलाइ भएको प्रमुख थापाको भनाइ छ । मुआब्जा वितरण, विद्युत्को पोल सार्नेलगायतका काममा बढी समय लागेको उहाँले बताउनुभयो । कतिपय स्थानीयवासीले मुआब्जा लिने तर घर नभत्काएको पाइएको छ । त्यस्तै नेपाली सेनाले विस्फोटक पदार्थ ल्याउन अनुमति दिन निर्णय गर्न लामो समय लगाउँदा पनि ढिलाइ भएको थियो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले काम गर्न खोज्दा पनि हामीले नै प्रक्रियागत कुरा सकाउन बढी समय लागेको थियो ।” आयोजनाअन्तर्गत छ पुल निर्माण गर्नुपर्नेमा तीन पुल सकिएको प्रमुख थापाले जानकारी दिनुभयो ।

नैकाप नजीकै अन्डरपास बनाउन जग खनेर तयारी भइरहेको छ । नैकापबाट अगाडि जाने सडकलाई ओभरपास गरेर सुरुङलाई अन्डरपास गरिने उहाँले जानकारी दिनुभयो । सुरुङमा यसअघि मेसिनले कोतरेर खन्ने काम काम भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जापानिजले गर्ने काममा मेसिनबाटै बढी हुन्छ ।” कतिपयले स्थानीयवासीले पहिले विभिन्न कारण देखाएर आयोजना निर्माणमा अवरोध गर्न खाजेका थिए ।

अहिले त्यो समाधान गर्दै निर्माण भइरहेको प्रमुख थापाले बताउनुभयो । सुख्खा ठाउँ भएकाले सुरुङको काठमाडौँपट्टि वर्षेनि खानेपानीको अभाव हुने गरेको छ । आयोजनाले सुख्खा मौसममा सर्वेक्षण गर्दा पानीको अभाव देखिएको थियो । विकल्प खोज्नुपर्छ भनेर आयोजनामा डिप बोरिङलगायत योजना रहेको उहाँले बताउनुभयो । सुरुङ खन्न बाँकी भए पनि कतिपयले यसकै कारण अभाव बढेको त कतिपयले पूरै वडासम्म र निःशुल्क पानी माग गरेका छन् । सुरुङ जमीनको एक सय मिटरमुनि हुने र माथि घर बनाउने, खेती बनाउने गर्न मिल्ने भए पनि त्यहाँका मानिसले मुआब्जा मागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुङमा घर पनि बनाउन पाउने र मुआब्जा पाउने भन्नेछ ।”

गत वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुईवटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रिँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् ।

सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गामाटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ ।

सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ । जाइकाको सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण गर्न प्रक्रिया शुरु भएको दुई वर्षपछि मात्रै निर्माण थालिएको थियो ।

वेणीमा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
पवित्र तीर्थस्थल देवघाटको वेणीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।

नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरीसहित सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित यात्रा वेणीमा पुगेको थियो ।

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला शुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार यस वर्ष बजार लाग्ने मेला नगरी स्नानका लागि मात्र मेला हुने भएको हो । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी उहाँले दिनुभयो । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कंदा तिनले आँपटारीको बाटो प्रयोग गर्नेछन् ।

दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पु¥याउन सकिनेछ । घिमिरेले भक्तजनले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताउनुभयो । दासढुङ्गाबाट जाँदा चार किमी दूरीमा सवारी साधनबाट देवघाट नै पुग्न सकिन्छ । घिमिरेले सवारीको पार्किङ, विद्युत्, शौचालय, सरसफाइ, खानेपानीलगायत व्यवस्था भइसकेको बताउनुभयो ।

आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मतसम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ ।

गत वर्षहरुमा सङ्क्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष यो सङ्ख्या भने कम हुने अनुमान गरिएको छ । आजदेखि नै भक्तजन आउने क्रम शुरु भएको छ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।

सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...