सहिद परिवारलाई मासिक ३ हजार भत्ता दिने अर्थमन्त्रीको घोषणा

सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै नेकपा माओवादी केन्द्रले यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो । विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने भएको छ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सो घोषणा गरेका हुन्। संसदमा प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरूले नाराबाजी गरेका थिए। त्यसैबीच अर्थमन्त्री शर्माले बजेट पेश गर्दै विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने घोषणा गरेका हुन्।

सो काम सामाजिक संस्थाको सहयोगमा गर्ने उनले बताए। अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्। संसदमा तीनवटै विधेयक प्रस्तुत गर्दै पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार अर्थमन्त्री शर्माले घटाएको जानकारी दिएका हुन्। मन्त्री शर्माले चालू आवको लागि पहिलेको बजेट घटाउँदै प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए।

कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..